Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 12
सङ्गीत निर्देशकको निम्ति शिमिनिथ। दावीदको भजन।
हे याहवेह, सहायता गर्नुहोस्; किनकि भक्तजन एकै जना पनि रहेनन्;
विश्वासयोग्यहरू मानिसहरूका बीचबाट मासिसकेका छन्।
हरेकले आफ्ना छिमेकीसँग झूटो बोल्छन्;
तिनीहरूका ओठले चापलुसी गर्छन्;
तर तिनीहरूका हृदयमा धोकाका कुरा राख्छन्।
सबै चापलुसी गर्ने ओठहरूलाई
र घमण्डका कुरा गर्ने हरेक जिब्रोलाई याहवेहले काटी फालिदेऊन्—
तिनीहरू जसले भन्छन्,
“हाम्रा जिब्राहरूले नै हामी जित्नेछौँ;
हाम्रा ओठहरूले नै हामीलाई बचाउँछन्; हामीमाथि शासन गर्ने शासक को छ र?”
याहवेह भन्नुहुन्छ,
“दुर्बलहरूमाथि भएको अत्याचार
र खाँचोमा हुनेहरूको सुस्केराको कारणले म अब उठ्नेछु,
म तिनीहरूलाई तिनीहरूको बदनाम गर्नेहरूबाट सुरक्षा गर्नेछु।”
याहवेहका वचनहरू खोटरहित छन्,
ती भट्टीमा सातपल्ट खारेर शुद्ध पारिएका चाँदीजस्तै छन्।
हे याहवेह, तपाईंले खाँचोमा परेकाहरूलाई रक्षा गर्नुहुनेछ,
र दुष्टहरूबाट हामीलाई सधैँ सुरक्षित राख्नुहुनेछ,
जब मानिसहरूका बीचमा दुष्टताको सम्मान हुन्छ;
दुष्टहरू गमक्क भई खुल्ला रूपमा डुलिहिँड्छन्।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.