Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 111
याहवेहको प्रशंसा गर!1
म मेरो सारा हृदयले,
धर्मी मानिसहरूको सभामा र समुदायमा म याहवेहलाई उच्च पार्नेछु।
याहवेहका कार्यहरू महान् छन्;
ती कार्यहरूमा प्रसन्न हुनेहरू सबैले तीमाथि मनन गर्छन्।
उहाँका कार्य महिमामय र ऐश्वर्यपूर्ण छन्;
र उहाँको धार्मिकता सदासर्वदा रहिरहन्छ।
उहाँले आफ्ना अद्भुत कार्यहरूको स्मरण गराउनुभएको छ;
याहवेह अनुग्रही र दयालु हुनुहुन्छ।
उहाँको भय मान्नेहरूलाई उहाँले भोजन जुटाउनुहुन्छ;
र उहाँ आफ्नो करार सदासर्वदा सम्झनुहुन्छ।
अन्य राष्ट्रहरूको भूमि आफ्ना प्रजालाई दिएर,
उहाँले तिनीहरूलाई आफ्ना कार्यको शक्ति प्रकट गर्नुभएको छ,
उहाँका हातका कार्य विश्वासयोग्य र न्यायपूर्ण छन्;
उहाँका सबै विधिहरू भरपर्दा छन्।
ती सदासर्वदाको लागि अटल छन्,
ती धार्मिकता र विश्वासयोग्यतामा लागू गरिएका छन्।
उहाँले आफ्ना प्रजाको निम्ति छुटकारा उपलब्ध गराउनुभयो;
उहाँले आफ्नो करार सदाकालको निम्ति स्थिर होस् भनी आज्ञा दिनुभयो—
उहाँको नाम पवित्र र भययोग्य छ।
याहवेहको भय नै बुद्धिको सुरुवात हो;
उहाँका विधिहरू पालन गर्नेहरू सबैले ठिक समझशक्ति पाउँछन्।
उहाँको प्रशंसा अनन्तसम्म भइरहनेछ।
Source notes (1)
- Footnote मूल भाषामा हल्लेलूयाह
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.