Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

हितोपदेश 2

बुद्धिबाट प्राप्‍त हुने नैतिक लाभहरू

हे मेरो छोरा, “यदि तिमीले मेरो वचन मान्यौ

र मेरा आज्ञाहरू आफूभित्र सावधानीसाथ राख्यौ भने,

आफ्नो कान बुद्धिका कुरामा फर्कायौ

र तिम्रो हृदयलाई समझशक्तितिर लगायौ भने,

साँच्‍चै, तिमीले अन्तर्दृष्‍टिको निम्ति आह्वान गर्‍यौ भने,

र समझशक्तिको निम्ति जोडसित पुकार्‍यौ भने,

र तिमीले त्यसलाई चाँदीझैँ चाहना गर्‍यौ भने,

अनि लुकाइएको गाडधनजस्तै त्यसलाई खोज्यौ भने,

तब तिमीले याहवेहप्रति भय मान्‍नुको अर्थ बुझ्नेछौ,

र परमेश्‍वरको ज्ञान प्राप्‍त गर्नेछौ।”

किनकि याहवेहले बुद्धि दिनुहुन्छ,

अनि उहाँकै मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्।

उहाँले धर्मीहरूका निम्ति सफलता साँचेर राख्नुहुन्छ;

निर्दोष जीवन जिउनेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ,

किनकि उहाँले न्यायका मार्गको रक्षा गर्नुहुन्छ,

र उहाँले आफ्ना विश्‍वासयोग्य जनहरूका मार्ग सुरक्षित राख्नुहुन्छ।

तब तिमीले धार्मिकता, न्याय र निष्पक्षता के हो,

हो, असल मार्ग के हो, त्यो बुझ्नेछौ।

किनकि बुद्धि तिम्रो हृदयमा पस्‍नेछ,

र ज्ञानचाहिँ तिम्रो प्राणको निम्ति आनन्ददायक हुनेछ।

विवेकले तिमीलाई हेरचाह गर्नेछ,

र समझशक्तिले तिम्रो रक्षा गर्नेछ।

बुद्धिले तिमीलाई दुष्‍ट मानिसको मार्ग,

र भ्रष्‍ट कुरा गर्ने मानिसबाट जोगाउनेछ,

जसले अन्धकारका मार्गहरूमा हिँड्नका लागि

सीधा मार्गहरू त्यागेका छन्,

जो खराबी गर्नमा रमाउँछन्,

र दुष्‍टहरूका भ्रष्‍टतामा आनन्दित हुन्छन्,

जसका चालहरू टेढा,

र आफ्ना मार्गहरूमा कुटिल छन्।

बुद्धिले तिमीलाई व्यभिचारिणी स्त्रीबाट

र स्वेच्छाचारी स्त्रीका लोभ्याउने कुराहरूबाट जोगाउनेछ,

जुन स्त्रीले आफ्नो युवा अवस्थाको जीवन साथीलाई त्यागेकी छे,

र त्यसले परमेश्‍वरसित बाँधेको करारलाई इन्कार गरेकी छे।

निश्‍चय नै त्यसको घरले मृत्युतिर

र त्यसका मार्गहरूले मृतकहरूका आत्मातिर पुर्‍याउँछन्।

त्यससित जाने पुरुष फर्किआउँदैन,

न त जीवनको मार्ग नै प्राप्‍त गर्छ।

यसरी तिमी असल मानिसहरूका कदम अनुसरण गर्नेछौ,

र धर्मी मानिसको बाटोमा लागिरहनेछौ।

किनकि धर्मीहरू देशमा बास गर्नेछन्,

र निर्दोष मानिसहरू त्यहाँ रहिरहनेछन्,

तर दुष्‍टहरूचाहिँ देशबाट हटाइनेछन्,

र विश्‍वासघातीहरू त्यहाँबाट जरैसमेत उखालिनेछन्।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.