Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

मत्ती 16

चिन्ह देखाउन माग

एक दिन फरिसीहरू र सदुकीहरूले येशूकहाँ आएर उहाँलाई जाँच गर्न, तिनीहरूका लागि स्वर्गबाट एउटा चिन्ह देखाउन मागे।

उहाँले भन्‍नुभयो, “साँझ हुँदा तिमीहरू ‘मौसम राम्रो हुनेछ; किनकि आकाश रातो छ,’ अनि बिहान ‘आज आँधी आउनेछ; किनकि आकाश रातो छ र बादलले ढाकेको छ,’ भन्छौ। तिमीहरू आकाशको अवस्था हेरेर दिन कस्तो हुनेछ भनी अर्थ लगाउन सक्छौ, तर तिमीहरूले समयको चिन्हहरूबाट बुझ्न सक्दैनौ। दुष्‍ट र व्यभिचारी पुस्ताले अचम्मको चिन्ह खोज्दछ, तर यसलाई योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन।” त्यसपछि तिनीहरूलाई छोडेर येशू त्यहाँबाट जानुभयो।

फरिसी र सदुकीहरूको शिक्षादेखि होसियार

जब उहाँहरू तालपारि जानुभयो, चेलाहरूले रोटी लैजान बिर्से। “होसियार!” येशूले तिनीहरूलाई चेतावनी दिनुभयो “फरिसीहरू र सदुकीहरूको खमिरदेखि होसियार रहो।”

तिनीहरूले आपसमा छलफल गरेर भने, “यो त हामीले रोटी ल्याएनौँ भनेर होला।”

तिनीहरूका छलफल थाहा पाएर येशूले सोध्नुभयो, “हे अल्पविश्‍वासीहरू हो, तिमीहरू रोटी छैन भनेर किन आपसमा कुरा गर्दछौ? तिमीहरू अझै बुझ्दैनौ? पाँच हजारका निम्ति पाँच रोटी थिए, र कति डाला तिमीहरूले बटुल्यौ, त्यो सम्झना गर्दैनौ? अथवा चार हजारका निम्ति सात रोटी थिए, र कति डाला तिमीहरूले बटुल्यौ? मैले रोटीको विषयमा तिमीहरूसित भनिरहेको थिइनँ भनी तिमीहरूले कसरी बुझेनौ? तर तिमीहरू फरिसी र सदुकीहरूको खमिरदेखि होसियार होओ।” तब उहाँले रोटीमा हाल्ने खमिरदेखि होइन, तर फरिसी र सदुकीहरूको शिक्षादेखि होसियार रहनू भन्‍नुभएको रहेछ भनी तिनीहरूले बुझे।

पत्रुसले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी स्वीकार गरेका

जब येशू कैसरिया फिलिप्पीका इलाकामा आउनुभयो, तब उहाँले चेलाहरूलाई “मानिसहरूले मानिसको पुत्र को हो भनी भन्छन्?” भनी सोध्नुभयो।

तिनीहरूले जवाफ दिए, “कसैले बप्‍तिस्मा दिने यूहन्‍ना, कसैले एलिया भन्छन्; अनि कतिले चाहिँ यर्मिया अथवा अगमवक्ताहरूमध्ये एक हुन् भनी भन्छन्।”

उहाँले सोध्नुभयो, “तर तिमीहरूले नि? तिमीहरूले चाहिँ मलाई को हो भन्छौ त?”

सिमोन पत्रुसले उत्तर दिए, “तपाईं ख्रीष्‍ट हुनुहुन्छ, जीवित परमेश्‍वरका पुत्र।”

येशूले जवाफ दिनुभयो, “योनाका छोरा सिमोन, तिमी धन्य हौ; किनकि यो तिमीलाई मानिसद्वारा होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताद्वारा प्रकट गरिएको हो। म तिमीलाई भन्दछु, तिमी पत्रुस1 हौ, र म यस चट्टानमाथि मेरो मण्डली स्थापित गर्नेछु; अनि नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन्। म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु: तिमीहरूले पृथ्वीमा जे बाँध्नेछौ, त्यो स्वर्गमा बाँधिनेछ, र तिमीहरूले पृथ्वीमा जे फुकाउनेछौ, त्यो स्वर्गमा फुकाइनेछ।” तब उहाँले आफ्ना चेलाहरूलाई, उहाँ ख्रीष्‍ट हुनुहुन्छ भनी कसैलाई नभन्‍नू भनी चेतावनी दिनुभयो।

आफ्नो मृत्युबारे येशूको पहिलो भविष्यवाणी

त्यस समयदेखि उसो येशूले आफ्ना चेलाहरूलाई उहाँ यरूशलेममा जानुपर्छ, र प्रधानहरू, मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरूका हातबाट धेरै कष्‍टहरू सहनुपर्छ, मारिनुपर्छ, र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भनी भन्‍न थाल्नुभयो।

पत्रुसले उहाँलाई एकातिर लगेर “यसो कहिल्यै नहोस्, प्रभु! तपाईंलाई यस्तो कहिल्यै नहोस्” भनी हप्काउन थाले।

येशूले फर्केर पत्रुसलाई भन्‍नुभयो, “ए शैतान, मबाट टाढा होइजा! तँ मेरा लागि ठेस लाग्ने कारण होस्। तेरो मनमा परमेश्‍वर सम्बन्धी विचारहरू होइनन्, तर मानिसहरू सम्बन्धी विचारहरू छन्।”

तब येशूले चेलाहरूलाई भन्‍नुभयो, “यदि कोही मेरो चेला हुन चाहन्छ भने उसले आफैँलाई इन्कार गरोस्, र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्। किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, त्यसले त्यो गुमाउनेछ; तर जसले मेरा निम्ति आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो पाउनेछ। कुनै मानिसले सारा संसार हात पारेर आफ्नो प्राणचाहिँ गुमाउँछ भने उसलाई के फाइदा होला? अथवा कुनै मानिसले आफ्नो प्राणको बदलामा के दिन सक्ला र? किनकि मानिसको पुत्र आफ्ना पिताको महिमामा आफ्ना स्वर्गदूतहरूसित आउनेछ, र त्यस बेला उसले हरेक व्यक्तिलाई त्यसले जे गरेको छ, त्यसको कामहरूअनुसार प्रतिफल दिनेछ।

“म तिमीहरूलाई साँच्‍चै भन्दछु, यो ठाउँमा उपस्थित भएकाहरूमध्ये कतिले मानिसको पुत्रलाई आफ्नो राज्यमा आइरहेका नदेखेसम्म मृत्युको स्वाद चाख्नेछैनन्।”

Source notes (1)
  1. Footnote ग्रीक भाषामा पत्रुस जसको अर्थ चट्टान हुन्छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.