Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

यूहन्‍ना 3

निकोदेमसलाई येशूको शिक्षा

फरिसी दलका निकोदेमस नाम भएका एक जना मानिस थिए, जो यहूदीहरूका सभाका एक सदस्य पनि थिए। तिनी एक राति येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, तपाईं परमेश्‍वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ भनी हामी जान्दछौँ; किनकि परमेश्‍वर साथमा नभईकन तपाईंले गरिरहनुभएका यी अलौकिक चिन्हहरू कसैले पनि गर्न सक्दैन।”

येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, कोही नयाँ गरी जन्मेन भने त्यसले परमेश्‍वरको राज्य देख्न सक्दैन।”

निकोदेमसले सोधे, “मानिस बूढो भएपछि फेरि कसरी जन्मन सक्छ? निश्‍चय नै फेरि जन्मनलाई ऊ आफ्नी आमाको गर्भमा दोस्रोचोटि पस्‍न त सक्दैन!”

येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, पानी र आत्माद्वारा नजन्मेसम्म कोही पनि परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्नेछैन। शरीरले शरीर जन्माउँछ, तर आत्माले आत्मा जन्माउँछ। ‘तिमीहरू नयाँ गरी जन्मनुपर्छ’ भन्‍ने मेरो भनाइमा अचम्म नमान। बतास जता मन लाग्यो त्यतै बहन्छ। तिमीले त्यसको आवाज त सुन्छौ, तर त्यो कहाँबाट आउँछ वा कहाँ जाँदैछ, त्यो भन्‍न सक्दैनौ। आत्माद्वारा1 जन्मेको हरेक व्यक्ति पनि त्यस्तै हुन्छ।”

निकोदेमसले सोधे, “यो कसरी हुन सक्छ?”

येशूले भन्‍नुभयो, “तिमी इस्राएलका गुरु हौ, र पनि यी कुराहरू तिमी बुझ्दैनौ? म तिमीलाई साँच्‍चै भन्दछु, हामी जे जान्दछौँ, त्यो भन्दछौँ, र हामीले जे देखेका छौँ, त्यसको गवाही दिन्छौँ। तर पनि तिमीहरूले हाम्रा गवाही ग्रहण गर्दैनौ। मैले तिमीहरूलाई पृथ्वीका कुराहरू भनेको छु। तर पनि तिमीहरू विश्‍वास गर्दैनौ। तिमीहरूलाई मैले स्वर्गका कुरा बताएँ भने झन् कसरी विश्‍वास गरौला? स्वर्गबाट ओर्लिआएको मानिसको पुत्र2 बाहेक कोही पनि स्वर्गमा गएको छैन। जसरी मोशाले उजाडस्थानमा सर्पलाई उचाले,3 त्यसरी नै मानिसको पुत्र पनि उचालिनैपर्छ, तब उहाँमाथि विश्‍वास गर्ने हरेकले अनन्त जीवन पाउन सक्छ।”

किनकि परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना अद्वितीय4 पुत्रलाई बलिदानका लागि दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउनका निम्ति आफ्ना पुत्रलाई संसारमा पठाउनुभएको होइन, तर उहाँद्वारा संसारलाई बचाउन पठाउनुभयो। जसले उहाँमाथि विश्‍वास गर्दछ, त्यो दोषी ठहरिँदैन; तर जसले विश्‍वास गर्दैन, त्यो अगिबाटै दोषी ठहरिएको हुन्छ; किनकि उसले परमेश्‍वरका अद्वितीय पुत्रको नाममा विश्‍वास गरेको छैन। फैसला यही हो: ज्योति संसारमा आएको छ, तर मानिसहरूले ज्योतिको साटो अन्धकारलाई रुचाए। किनकि तिनीहरूका कामहरू खराब थिए। हरेक जसले दुष्‍ट काम गर्दछ, त्यसले ज्योतिलाई घृणा गर्दछ। अनि त्यसका कामहरू प्रकट होलान् भन्‍ने डरले त्यो ज्योतिमा आउँदैन। तर जो सत्यतामा जिउँछ, उसले जे गरेको छ, त्यो परमेश्‍वरद्वारा गरिएका हुन् भन्‍ने कुरा स्पष्‍ट देखिन सकियोस् भनी ज्योतिकहाँ आउँछ।

येशूको बारेमा बप्‍तिस्मा दिने यूहन्‍नाको गवाही

यसपछि येशू र उहाँका चेलाहरू यहूदियाका गाउँहरूतिर जानुभयो। उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो; र बप्‍तिस्मा दिनुभयो। यसै समयमा यूहन्‍नाले पनि सालीमको नजिकै एनोनमा बप्‍तिस्मा दिइरहेका थिए। किनकि त्यहाँ प्रशस्त पानी थियो। अनि बप्‍तिस्मा लिनलाई मानिसहरू निरन्तर आइरहेका थिए। (यो यूहन्‍ना झ्यालखानामा पर्नुभन्दा अगिको कुरा थियो।) यूहन्‍नाका केही चेलाहरू र एउटा यहूदीका बीचमा शुद्धीकरणको विषयमा वाद-विवाद चल्यो। तिनीहरू यूहन्‍नाकहाँ आएर तिनलाई भने, “गुरुज्यू, यर्दन नदीपारि तपाईंसँग हुनुभएको व्यक्ति, जसको बारेमा तपाईंले गवाही दिनुभएको थियो, उहाँले पनि बप्‍तिस्मा दिँदैहुनुहुन्छ। अनि सबै मानिसहरू उहाँकहाँ जाँदैछन्।”

यसै कुरालाई यूहन्‍नाले यसरी जवाफ दिए, “कुनै पनि मानिसले स्वर्गबाट जे दिइन्छ, त्यो मात्र पाउन सक्छ। ‘म ख्रीष्‍ट होइनँ; तर उहाँको अगाडि पठाइएको हुँ’ भन्‍ने बारेमा तिमीहरू आफैँले गवाही दिन सक्छौ। दुलही दुलहाको निम्ति हुन्छे। दुलहासँग रहने मित्रले उसको प्रतीक्षा गर्छ र उसका कुरा सुन्छ। अनि उसको सोर सुनेर ऊ आनन्दले पूर्ण हुन्छ। त्यही नै मेरो आनन्द हो; र त्यो अब पूर्ण भएको छ। उहाँ बढ्नु, तर मचाहिँ घट्नु आवश्यक छ।

“जो माथिबाट आउनुहुन्छ, उहाँ सबैभन्दा उच्‍च हुनुहुन्छ। पृथ्वीबाट आउनेचाहिँ पृथ्वीकै हो, र पृथ्वीबाट आउनेले झैँ बोल्छ। स्वर्गबाट आउनुहुने सबैभन्दा उच्‍च हुनुहुन्छ। उहाँले जे देख्नु र सुन्‍नुभएको छ, त्यसैको गवाही दिनुहुन्छ। तर कसैले पनि उहाँको गवाही ग्रहण गर्दैनन्। जुन मानिसले उहाँको गवाही ग्रहण गरेको छ, उसले परमेश्‍वर सत्य हुनुहुन्छ भनी गवाही दिन्छ। किनकि परमेश्‍वरले जसलाई पठाउनुभएको छ, त्यसले परमेश्‍वरकै वचन बोल्दछ। किनकि परमेश्‍वरले पवित्र आत्मा विनानाप दिनुहुन्छ। पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र सबै थोक उहाँकै हातमा राखिदिनुभएको छ। जसले पुत्रमाथि विश्‍वास गर्दछ, त्यससित अनन्त जीवन छ; तर जसले पुत्रलाई इन्कार गर्दछ, त्यसले जीवन देख्नेछैन; किनकि परमेश्‍वरको क्रोध त्यसमा रहन्छ।”

Source notes (4)
  1. Footnote आत्मा ग्रीक भाषामा हावा र आत्मालाई एउटै शब्द प्रयोग गरिएको छ।
  2. Footnote मानिसको पुत्र येशूले आफूलाई यो वाक्यांशले सम्बोधन गर्नुहुन्थ्यो।
  3. Footnote उचाले शब्दले ग्रीकमा उच्‍च पारे भन्‍ने अर्थ पनि लाग्छ।
  4. Footnote अर्थात् एक मात्र

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.