Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
यूहन्ना 17
आफ्नो निम्ति येशूको प्रार्थना
यी कुराहरू येशूले भनिसक्नुभएपछि उहाँले स्वर्गतिर हेर्नुभयो र प्रार्थना गर्नुभयो:
“हे पिता, समय आइपुगेको छ। तपाईंको पुत्रको महिमा गर्नुहोस्, र पुत्रले पनि तपाईंलाई महिमा दिन सकोस्। किनकि तपाईंले दिनुभएका हरेकलाई उसले अनन्त जीवन दिन सकोस् भनेर तपाईंले उसलाई यस पृथ्वीका सबै मानिसहरूमाथि अधिकार दिनुभएको छ। अनन्त जीवन यही हो: तिनीहरूले तपाईं एक मात्र सत्य परमेश्वरलाई र तपाईंले पठाउनुभएको येशू ख्रीष्टलाई चिनून्। तपाईंले मलाई अह्राउनुभएको प्रत्येक काम गरेर मैले तपाईंलाई पृथ्वीमा महिमा दिएको छु। हे पिता, तपाईंको सामु मलाई त्यो महिमाले महिमित गराउनुहोस्, जुन महिमा संसारको सृष्टिअगि तपाईंमा मेरो निम्ति थियो।
येशूले आफ्ना चेलाहरूका निम्ति प्रार्थना गर्नुभएको
“संसारबाट तपाईंले मलाई दिनुभएका मानिसहरूका बीचमा तपाईंलाई मैले प्रकट गरेको छु। ती तपाईंकै थिए, र ती तपाईंले फेरि मलाई दिनुभयो; अनि तिनीहरूले तपाईंको वचन पालन गरेका छन्। मसित जे जति छन्, ती सबै तपाईंबाट नै आएका हुन् भनेर अब तिनीहरूले थाहा गरेका छन्। किनकि तपाईंले मलाई दिनुभएका वचनहरू मैले तिनीहरूलाई पनि दिएँ; र तिनीहरूले पनि ती सबै ग्रहण गरेका छन्। म तपाईंबाटै आएको हुँ भनेर पक्कै जानेका छन्, र तपाईंले मलाई पठाउनुभयो भनी विश्वास पनि गरेका छन्। म तिनीहरूका लागि प्रार्थना गर्दछु। संसारको लागि म प्रार्थना गर्दिनँ, तर तपाईंले मलाई दिनुभएकाहरूको लागि म प्रार्थना गर्छु; किनकि तिनीहरू तपाईंकै हुन्। मेरा सबै थोक तपाईंकै हुन्, र तपाईंका सबै थोक मेरा हुन्; अनि तिनीहरूद्वारा महिमा मकहाँ आएको छ। म यस संसारमा अब रहँदिनँ, तर तिनीहरू यही संसारमा रहन्छन्, र म तपाईंकहाँ आउँदैछु। हे पवित्र पिता, तपाईंको नामको शक्तिले तिनीहरूलाई जोगाइराख्नुहोस्, जुन नाम तपाईंले मलाई दिनुभएको छ, जसद्वारा तिनीहरू पनि हामीजस्तै एक होऊन्। म तिनीहरूसँग हुँदा, तपाईंले मलाई दिनुभएको नामले तिनीहरूलाई जोगाइराखेँ। तिनीहरूमध्ये एउटाबाहेक अरू कोही पनि नष्ट भएनन्। तर धर्मशास्त्र पूरा होस् भनेर एक जनाचाहिँ विनाशको पुत्र नै भयो।
“अब म तपाईंकहाँ आउँदैछु। मेरो आनन्दले तिनीहरू पूरा भरपूर होऊन् भनेर मैले यी कुराहरू म संसारमा हुँदा नै भनिदिएको छु। मैले तिनीहरूलाई तपाईंको वचन दिएको छु। संसारले तिनीहरूलाई घृणा गरेको छ; किनकि जसरी म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्। संसारबाट तिनीहरूलाई लैजानुहोस् भनेर म तपाईंसँग बिन्ती गर्दिनँ, तर दुष्टको शक्तिबाट तिनीहरूलाई जोगाइराख्नुहोस् भनी बिन्ती गर्छु। म यस संसारको नभएजस्तै, तिनीहरू पनि अब यस संसारका होइनन्। सत्यताद्वारा तिनीहरूलाई पवित्र गर्नुहोस्; तपाईंको वचन सत्य छ। तपाईंले मलाई संसारमा पठाउनुभएझैँ, मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु। तिनीहरू पनि साँचो रूपले पवित्र होऊन् भनेर म आफूलाई तिनीहरूका लागि पवित्र गर्दछु।
सबै विश्वासीहरूका निम्ति येशूको प्रार्थना
“तिनीहरूका निम्ति मात्र म प्रार्थना गर्दिनँ, तर तिनीहरूका साक्षीद्वारा पछि मलाई विश्वास गर्नेहरू सबैका लागि पनि म प्रार्थना गर्दछु। हे पिता, जस्तो म तपाईंमा छु र तपाईं ममा हुनुहुन्छ; त्यसरी नै तिनीहरू पनि हामीमा एक होऊन्। तिनीहरू पनि हामीमा रहन सकून्; ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी संसारले विश्वास गरोस्। तिनीहरू पनि हामीजस्तै एक होऊन् भनेर तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई पनि दिएको छु: म तिनीहरूमा अनि तपाईं ममा, तपाईंले मलाई संसारमा पठाउनुभएको हो, र मलाई प्रेम गर्नुभएझैँ तिनीहरूलाई पनि गर्नुहुन्छ भन्ने कुरा संसारलाई थाहा दिन तिनीहरूमा पूरा एकता आओस्।
“हे पिता, म इच्छा गर्दछु जो जति तपाईंले मलाई दिनुभएको छ, तिनीहरू पनि म जहाँ छु, मसितै त्यहीँ रहून् र मेरो महिमा तिनीहरूले देखून्, जुन महिमा तपाईंले संसारको सृष्टिभन्दा पहिलेदेखि नै मलाई प्रेम गर्नुभएको हुनाले मलाई दिनुभयो।
“हे धार्मिक पिता, संसारले तपाईंलाई नचिने तापनि म तपाईंलाई चिन्दछु। अनि तपाईंले मलाई पठाउनुभएको हो भनेर तिनीहरूले जान्दछन्। मैले तपाईंलाई तिनीहरूकहाँ प्रकट गरेको छु। अनि मलाई तपाईंले गर्नुभएको त्यो गहिरो प्रेम तिनीहरूमा पनि रहोस् र म आफू पनि तिनीहरूमा रहूँ भनेर तिनीहरूकहाँ तपाईंलाई म प्रकट गरिरहनेछु।”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.