Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

यशैया 56

सबै राष्ट्रहरूलाई आशिष्

याहवेह यसो भन्‍नुहुन्छ:

“न्याय पालना गर,

जे ठिक छ, त्यही गर;

किनकि मेरो उद्धार नजिकै छ,

र मेरो धार्मिकता चाँडै प्रकट गरिनेछ।

त्यो मानिस धन्यको हो, जसले यो गर्छ;

त्यो मानिस, जसले यसलाई स्थिर राख्छ;

जसले शब्बाथ दिनलाई अपवित्र नपारी पालन गर्छ,

र आफ्नो हातलाई दुष्‍ट काम गर्नबाट रोकिराक्छ।”

याहवेहमा समर्पित भएको कुनै परदेशीले यसो नभनोस्,

“याहवेहले मलाई निश्‍चय उहाँका मानिसहरूबाट अलग गर्नुहुनेछ।”

कुनै नपुंसकले यस्तो नभनोस्,

“म त एउटा सुकेको रूख मात्र हुँ!”

किनकि याहवेह यसो भन्‍नुहुन्छ:

“मेरा शब्बाथ दिनहरू पालन गर्ने,

मैले मन पराएका कुराहरू चुन्‍ने,

र मेरो करारमा स्थिर बस्‍ने नपुंसकहरूका निम्ति—

तिनीहरूलाई मेरो मन्दिर र त्यसका पर्खालहरूभित्र

छोराछोरीहरूभन्दा पनि अझ उत्तम स्मारक तुल्याउनेछु;

र तिनीहरूलाई अझ असल नाम दिनेछु।

म तिनीहरूलाई कहिल्यै नमेटिने

अनन्तको नाम दिनेछु।

आफूलाई याहवेहमा समर्पित गरेका परदेशीहरू,

जसले उहाँको सेवा गर्ने,

याहवेहको नामलाई प्रेम गर्ने

र उहाँलाई आराधना गर्ने;

शब्बाथ दिनलाई अपवित्र नगरी पालन गर्ने,

र मेरो करारमा स्थिर रहनेहरू—

तिनीहरूलाई म आफ्नो पवित्र पर्वतमा ल्याउनेछु।

म तिनीहरूलाई मेरो प्रार्थनाको घरमा आनन्द दिनेछु।

तिनीहरूले मेरो वेदीमा चढाएका

होमबलि र बलिदानहरू म ग्रहण गर्नेछु;

किनकि मेरो घर सबै जातिहरूका लागि

प्रार्थनाको घर हुनेछ।”

इस्राएलका निर्वासितहरूलाई बटुल्नुहुने

प्रभु याहवेह घोषणा गर्नुहुन्छ:

“भेला गरिएकाहरूबाहेक म अझ अरूलाई

तिनीहरूमा भेला गर्नेछु।”

दुष्‍टहरूको विरुद्ध परमेश्‍वरको अभियोग

हे मैदानका सबै पशुहरू हो, आओ!

हे वनका सबै पशुहरू हो, खानलाई आओ!

इस्राएलका पहरेदारहरू अन्धा छन्;

तिनीहरू सबैमा ज्ञानको अभाव छ;

तिनीहरू सबै भुक्न नसक्ने

लाटा कुकुरहरूजस्ता छन्;

जो पल्टिरहने र सपना देख्नेहरू हुन्,

र तिनीहरू सुत्न मात्र रुचाउँछन्।

तिनीहरू असाध्यै भोकाएका कुकुरहरू हुन्;

तिनीहरू कहिल्यै अघाउँदैनन्।

तिनीहरू समझ नै नभएका गोठालाहरू हुन्;

सबै आफ्नै बाटो लाग्ने

र आफ्नै लाभ खोज्नेहरू हुन्।

प्रत्येक यसो भनेर कराउँछन्, “आओ, मलाई मद्य देओ!

हामी लट्ठ हुने गरी मद्यपान गरौँ!

अनि भोलि आजको दिनजस्तै हुनेछ,

झन् राम्रो हुनेछ।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.