Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
होशे 12
एफ्राइमले बतासले आफ्नो पेट भर्छ;
त्यसले दिनभरि पूर्वीय बतासलाई पछ्याउँछ;
अनि झूट र हिंसा बढाउँछ।
त्यसले अश्शूरसँग सन्धि गर्छ,
र त्यसले इजिप्टमा जैतुनको तेल पठाउँछ।
याहवेहले यहूदाको विरुद्धमा अभियोग लगाउनुहुन्छ;
उहाँले याकोबलाई उसको व्यवहारअनुसारको दण्ड दिनुहुनेछ,
र उहाँले उसको कामअनुसारको प्रतिफल दिनुहुनेछ।
उसले आमाको गर्भमा हुँदा नै आफ्ना दाजुको कुर्कुच्चा पक्रेको थियो;
मानिस भएर पनि उसले परमेश्वरसित कुश्ती खेल्यो।
उसले स्वर्गदूतसित कुश्ती खेल्यो र उसलाई जित्यो;
ऊ रोयो र दूतसँग निगाहको निम्ति बिन्ती गर्यो।
उहाँले उसलाई बेथेलमा भेट्नुभयो,
र उहाँले त्यहाँ उससँग कुरा गर्नुभयो,
अर्थात् याहवेह सेनाहरूका परमेश्वर हुनुहुन्छ,
र याहवेह उहाँको नाम हो!
तर तँ आफ्ना परमेश्वरकहाँ फर्कनुपर्छ;
प्रेम र न्याय कायम राख्,
र सधैँ तेरा परमेश्वरको प्रतीक्षा गर्।
व्यापारीले छलको तराजु प्रयोग गर्छ,
र त्यसले छल गर्न रुचाउँछ।
एफ्राइमले घमण्डसित भन्छ,
“म अति धनी छु; म धनाढ्य भएको छु।
मेरा सबै धनसम्पत्तिले गर्दा तिनीहरूले
ममा कुनै अधर्म अथवा पाप भेट्टाउनेछैनन्।”
“म याहवेह तेरा परमेश्वर हुँ,
जसले तँलाई इजिप्टबाट ल्याएको हुँ;
तेरा तोकिएका चाडहरूका दिनहरूमा झैँ
म तँलाई फेरि पालहरूमा बस्न लगाउनेछु।
मैले अगमवक्ताहरूसँग कुरा गरेको छु,
तिनीहरूलाई धेरै दर्शनहरू पनि दिएको छु;
अनि तिनीहरूद्वारा दृष्टान्तहरू भनेको छु।”
के गिलाद दुष्ट हो?
त्यहाँका मानिसहरू व्यर्थका छन्!
के तिनीहरूले गिलगालमा साँढेहरूको बलि चढाउँछन्?
तिनीहरूका वेदीहरू जोतिएका जमिनमा
थुपारिएका ढुङ्गाका थुप्राहरूजस्ता हुनेछन्।
याकोब अराम1 देशमा भागेर गयो;
इस्राएलले पत्नी पाउनलाई सेवा गर्यो,
र तिनको ज्यालाको निम्ति भेडाहरू चरायो।
याहवेहले इस्राएललाई इजिप्टबाट निकालेर ल्याउन
एक जना अगमवक्तालाई प्रयोग गर्नुभयो;
उहाँले एक जना अगमवक्ताद्वारा नै त्यसको हेरचाह गर्नुभयो।
तर एफ्राइमले परमेश्वरलाई साह्रै रिस उठाएको छ;
त्यसले बगाएको रक्तपातको दोष याहवेहले त्यसैमाथि छोड्नुहुनेछ;
अनि त्यसले उहाँलाई गरेको अपमानको बदला लिनुहुनेछ।
Source notes (1)
- Footnote यो उत्तर-पश्चिमी मेसोपोटामिया हो।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.