Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

उत्पत्ति 16

हागार र इश्माएल

अब्रामकी पत्नी साराईले तिनका निम्ति कुनै सन्तान जन्माइनन्। तर तिनकी हागार नाम भएकी एउटी इजिप्टियन दासी थिइन्; अनि साराईले अब्रामलाई भनिन्, “याहवेहले मेरो कोख बन्द गरिदिनुभएको छ। यसकारण जानुहोस्, मेरी दासीसित सुत्नुहोस्; सायद त्यसबाट मेरो लागि सन्तान पाउन सक्छु कि।”

साराईले जे भनिन्, त्यस कुरामा अब्राम सहमत भए। यसरी अब्राम कनानमा दश वर्ष बसेपछि तिनकी पत्नी साराईले आफ्नी इजिप्टियन दासी हागारलाई आफ्ना पतिका निम्ति पत्नी हुनलाई दिइन्। अनि उनी हागारकहाँ गए, र त्यो गर्भवती भई।

जब त्यसले आफू गर्भवती भएकी थाहा पाई, तब त्यसले आफ्नी मालिक्नीलाई हेप्न थाली। तब साराईले अब्रामलाई भनिन्, “मैले भोगिरहेको कष्‍टको लागि तपाईं जिम्मेवार हुनुहुन्छ। मैले मेरी दासीलाई तपाईंको अँगालोमा सुम्पेँ; अब त्यसले आफू गर्भवती भएकी थाहा पाएर मलाई हेप्न थालेकी छ। याहवेहले नै तपाईं र मेरो बीचमा न्याय गरिदेऊन्।”

अब्रामले भने, “तिम्री दासी तिम्रै हातमा छे। तिमीलाई जे उचित लाग्छ, त्यससित त्यसै गर।” तब साराईले हागारसित दुर्व्यवहार गरिन्; त्यसकारण त्यो साराईबाट भागेर गई।

पछि याहवेहका दूतले हागारलाई उजाडस्थानमा पानीको मूलको छेउमा भेटे; त्यो मूल शूरतिर जाने बाटोको छेउमा थियो। अनि उनले भने, “साराईकी दासी हागार, तँ कहाँबाट आइस्, र कहाँ जाँदैछस्?”

तब त्यसले भनी, “म मेरी मालिक्नी साराईबाट भाग्दैछु।”

तब याहवेहका दूतले त्यसलाई भने, “तँ आफ्नी मालिक्नीकहाँ जा, र तिनकै अधीनमा बस्।” याहवेहका दूतले फेरि भने, “म तेरा सन्तानहरूलाई यति धेरै बढाउनेछु कि तिनीहरूलाई गन्‍न सकिनेछैन।”

याहवेहका दूतले त्यसलाई यो पनि भने:

“तँ गर्भवती छस्,

र तैँले एउटा छोरा जन्माउनेछस्।

तैँले उसको नाम इश्माएल1 राख्नू;

किनकि याहवेहले तेरो कष्‍टको पुकार सुन्‍नुभएको छ।

तेरो छोरा मानिसहरूमा जङ्गली गधाझैँ हुनेछ;

उसको हात सबैको विरुद्धमा उठ्नेछ,

अनि सबैको हात उसको विरुद्धमा उठ्नेछ;

र ऊ आफ्ना दाजुभाइहरूसँग

शत्रुतामा बसोबास गर्नेछ।”

हागारले आफूसित बोल्नुहुने याहवेहलाई यो नाम दिई, “तपाईं मलाई देख्नुहुने परमेश्‍वर हुनुहुन्छ,” किनकि त्यसले भनी, “मलाई देख्नुहुनेलाई अब मैले पनि देखेकी छु।” त्यसैकारण त्यस कुवालाई बेअर-लहै-रोइ2 भनियो; जुनचाहिँ कादेश र बेरेदको बीचमा अहिलेसम्म पनि छ।

यसरी हागारले अब्रामका निम्ति एउटा छोरा जन्माई; अनि अब्रामले हागारले जन्माएको आफ्नो छोराको नाम इश्माएल राखे। हागारले तिनका लागि इश्माएललाई जन्माउँदा अब्राम छयासी वर्षका थिए।

Source notes (2)
  1. Footnote इश्माएल जसको अर्थ परमेश्‍वरले सुन्‍नुहुन्छ।
  2. Footnote बेअर-लहै-रोइ जसको अर्थ मलाई देख्नुहुने जीवित परमेश्‍वरको कुवा।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.