Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

इजकिएल 19

इस्राएलका राजकुमारहरूका निम्ति विलाप

“इस्राएलका राजकुमारहरूका निम्ति एउटा विलापको गीत सुना, र भन्:

“सिंहहरूमध्ये तेरी आमा

कस्ती सिंहिनी थिई!

जवान सिंहहरूको बीचमा बसेर

त्यसले आफ्ना डमरुहरूलाई हुर्काई।

त्यसले आफ्ना डमरुहरूमध्ये एउटालाई हुर्काई;

अनि त्यो एउटा बलियो सिंह भयो।

त्यसले शिकारलाई फहराउन जान्यो,

र त्यसले मानिसहरूलाई खान थाल्यो।

जाति-जातिहरूले त्यसको बारेमा सुने,

र त्यो तिनीहरूको खाडलको पासोमा पर्‍यो।

तिनीहरूले त्यसलाई अङ्कुसेले तानेर

इजिप्ट देशमा लगे।

“ ‘जब त्यस सिंहिनीले आफ्नो आशा पूरा नभएको,

आफ्नो अपेक्षा टुटेको देखी;

तब त्यसले आफ्ना डमरुहरूमध्ये अर्को एउटालाई लिई

र त्यसलाई एउटा बलियो सिंह बनाई।

त्यो सिंहहरूको बीचमा शिकारको खोजीमा यताउता हिँड्‍डुल गर्न थाल्यो;

किनकि अब त्यो एउटा बलवान् सिंह भएको थियो।

त्यसले शिकारलाई फहराउन जान्यो,

र त्यो मानिस खाने भयो।

त्यसले तिनीहरूका बलियो किल्‍लाहरू भत्काइदियो,

र तिनीहरूका सहरहरू ध्वस्त पारिदियो।

देश र त्यसमा भएका सबै जना

त्यसको गर्जनद्वारा त्रसित भए।

तब त्यसको चारैतिर भएका

जाति-जातिहरू त्यसको विरुद्धमा आए।

तिनीहरूले त्यसको विरुद्धमा तिनीहरूका जाल फिँजाए,

र त्यो तिनीहरूको खाडलको पासोमा फस्यो।

तिनीहरूले त्यसलाई अङ्कुसेले तानेर खोरमा हाले

र त्यसलाई बेबिलोनका राजाकहाँ ल्याए।

तिनीहरूले त्यसलाई थुनेर राखे।

त्यसैले त्यसको गर्जन इस्राएलका

पर्वतहरूमा फेरि सुनिएन।

“ ‘पानीको छेउमा रोपिएको तेरो दाखबारीको

दाखको बोटजस्तै तेरी आमा थिई;

प्रशस्त पानी भएको कारण

त्यो फलदायक र हाँगाहरूले भरिएको थियो।

त्यसका हाँगाहरू बलिया थिए,

र शासकको राजदण्डको निम्ति योग्यका थिए।

बाक्ला पातहरूमाथि

त्यो अग्लो बोट भएर बढ्यो;

अनि त्यसका हाँगाहरू धेरै थिए,

र त्यो उचाइमा अग्लो देखिन्थ्यो।

तर क्रोधमा त्यो उखेलियो,

र जमिनमा त्यो फ्याँकियो।

अनि पूर्वीय बतासले त्यसलाई सुकाइदियो,

र त्यसका फलहरू सबै झारिदियो;

त्यसका बलिया हाँगाहरू सुकिहाले,

र आगोले ती भस्म पार्‍यो।

अब त त्यो सुक्खा र पानी नभएको ठाउँ,

मरुभूमिमा रोपिएको छ।

त्यसका मुख्य हाँगाहरूमध्ये एउटाबाट आगो फैलियो

र त्यसका फलहरूलाई भस्म पारिदियो।

शासकको राजदण्डको निम्ति योग्य,

कुनै पनि बलियो हाँगा त्यसमा छोडिएन।’

यो एक विलापको गीत हो, र यो विलापको गीतको रूपमा प्रयोग हुनुपर्छ।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.