Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

1 यूहन्‍ना 4

झूटा अगमवक्ता

प्रिय मित्रहरू हो, जुनसुकै आत्मालाई विश्‍वास नगर, तर ती आत्माहरू परमेश्‍वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर; किनकि संसारमा धेरै झूटा अगमवक्ताहरू निस्किआएका छन्। परमेश्‍वरका आत्मालाई तिमीहरू यसरी चिन्‍न सक्नेछौ—हरेक आत्मा जसले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दछ, त्यो परमेश्‍वरबाटको हो। तर हरेक आत्मा, जसले येशूलाई स्वीकार गर्दैन, त्यो परमेश्‍वरबाटको होइन। अनि यही नै ख्रीष्‍ट विरोधीको आत्मा हो, जो आउँछ भन्‍ने तिमीहरूले सुनेका छौ, र अहिले नै पनि त्यो यस संसारमा आइसकेको छ।

हे प्यारा साना नानीहरू हो, तिमीहरू परमेश्‍वरका हौ, र झूटा अगमवक्ताहरूलाई जितेका छौ; किनकि जो तिमीहरूमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ। तिनीहरू संसारका हुन्, त्यसैले संसारकै दृष्‍टिकोणद्वारा बोल्छन्, र संसारले तिनीहरूका कुरा सुन्छ। हामी परमेश्‍वरका हौँ, र जसले परमेश्‍वरलाई जान्दछ; उसले हाम्रा कुरा सुन्छ; तर जो परमेश्‍वरको होइन, त्यसले हाम्रा कुरा सुन्दैन। यसैबाट नै हामी सत्यको आत्मा र झूटको आत्मालाई चिन्छौँ।

परमेश्‍वरको प्रेम र हाम्रो प्रेम

प्रिय मित्रहरू हो, हामी एक-अर्कालाई प्रेम गरौँ; किनकि प्रेम परमेश्‍वरबाट आउँछ। हरेक जसले प्रेम गर्छ, त्यो परमेश्‍वरबाट जन्मेको हो, र त्यसले परमेश्‍वरलाई जान्दछ। जसले प्रेम गर्दैन, त्यसले परमेश्‍वरलाई चिनेको हुँदैन; किनकि परमेश्‍वर प्रेम हुनुहुन्छ। परमेश्‍वरले हाम्रा बीचमा उहाँको प्रेम यसरी प्रकट गर्नुभयो: पुत्रद्वारा हामी जिउन सकौँ भनेर उहाँले आफ्ना अद्वितीय पुत्र येशू ख्रीष्‍टलाई यस संसारमा पठाउनुभयो। प्रेम यही नै हो, हामीले परमेश्‍वरलाई प्रेम गरेनौँ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र आफ्ना पुत्रलाई हाम्रो पापको लागि प्रायश्‍चितको बलि बनाएर पठाउनुभयो। प्रिय मित्रहरू हो, परमेश्‍वरले हामीलाई यस्तो प्रेम गर्नुभएको हुनाले हामीले पनि एक-अर्कालाई प्रेम गर्नुपर्छ। परमेश्‍वरलाई कसैले कहिल्यै देखेको छैन; तर हामीले एक-अर्कालाई प्रेम गर्‍यौँ भने परमेश्‍वर हामीमा जिउनुहुन्छ र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ।

हामी उहाँमा जिउँछौँ, र उहाँ हामीमा जिउनुहुन्छ भनी हामी जान्दछौँ; किनकि उहाँले हामीलाई आफ्नो पवित्र आत्मा दिनुभएको छ। अनि हामीले देखेका छौँ र साक्षी दिन्छौँ; पिताले संसारका मुक्तिदाता हुनाका निम्ति आफ्ना पुत्रलाई पठाउनुभएको छ। कुनै पनि व्यक्तिले येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ भने परमेश्‍वर त्यसमा जिउनुहुन्छ र त्यो परमेश्‍वरमा। अनि यसरी नै हामीप्रति परमेश्‍वरको प्रेम हामी जान्दछौँ र त्यसैमा भर पर्दछौँ।

परमेश्‍वर प्रेम हुनुहुन्छ, जो प्रेममा जिउँछ, त्यो परमेश्‍वरमा जिउँछ, र परमेश्‍वर त्यसमा जिउनुहुन्छ। यसरी न्यायको दिनमा हामीमा निर्भयता होस् भनेर प्रेम हाम्रो बीचमा सिद्ध भएको छ; किनकि येशू जस्तो हुनुहुन्छ, हामी पनि यस संसारमा त्यस्तै जिउँछौँ। प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ; किनकि डरको सम्बन्ध दण्डसँग हुन्छ। जो डराउँछ, त्यो प्रेममा सिद्ध भएको हुँदैन।

हामी उहाँलाई प्रेम गर्छौँ; किनकि पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो। यदि कसैले “म परमेश्‍वरलाई प्रेम गर्छु” भन्छ, तापनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई चाहिँ घृणा गर्छ भने त्यो झूटो हो; किनकि जसले आफूले देखेका दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्दैन, त्यसले आफूले नदेखेको परमेश्‍वरलाई प्रेम गर्न सक्दैन। अनि उहाँले हामीलाई यो आज्ञा दिनुभएको छ, जसले परमेश्‍वरलाई प्रेम गर्छ, त्यसले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई पनि प्रेम गर्नैपर्छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.