Skip to content
BibleKenya

Biblica® Open Nepali Contemporary Version

जकरिया 5

उड्दै गरेको चर्मपत्र

मैले फेरि हेरेँ, र त्यहाँ मेरो अगाडि उड्दै गरेको एउटा चर्मपत्र थियो!

स्वर्गदूतले मलाई सोधे, “तिमी के देख्दैछौ?”

मैले जवाफ दिएँ, “म बीस क्यूबिट लामो र दश क्यूबिट चौडा1 भएको एउटा उडिरहेको चर्मपत्र देख्दैछु।”

अनि तिनले मलाई भने, “यो देशभरि आइपर्ने श्रापहरू हुन्: किनकि यसको एकातिर लेखिएअनुसार, देशबाट सबै चोरहरू निकालिनेछन्; अनि अर्कोतिर लेखिएअनुसार, झूटा शपथ खानेहरू सबै देशबाट निकालिनेछन्। सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘म यस श्रापलाई बाहिर पठाउनेछु र यो चोरको घरमा र मेरो नाममा झूटो शपथ खानेको घरमा पस्‍नेछ। यो श्राप त्यस घरमा रहनेछ; अनि यसले त्यस घरलाई त्यसका काठ र ढुङ्गाहरू दुवैलाई नष्‍ट गर्नेछ।’ ”

डालोमा एउटी स्त्री

तब मसित कुरा गर्ने स्वर्गदूत अगि आएर तिनले मलाई भने, “माथितिर हेर, र आइरहेको कुरो के हो, सो हेर।”

मैले सोधेँ, “यो के हो?”

तिनले जवाफ दिए, “यो एउटा डालो हो। अनि तिनले अझै भने, यो यहूदा देशभरिका मानिसहरूको अधर्म हो।”

तब डालोको ढकनी उठाइयो, र त्यहाँ डालोभित्र एउटी स्त्री बसेकी थिई! तिनले भने, “यो दुष्‍टता हो,” अनि तिनले स्त्रीलाई डालोभित्रै घचेटिदिए, र त्यस डालोको ढकनी लगाइदिए।

तब मैले मास्तिर हेरेँ—अनि त्यहाँ मेरो अगाडि तिनीहरूका पखेटाहरूमा बतास भएका दुईवटी स्त्रीहरू थिए! तिनीहरूसित सारसका जस्तै पखेटा थिए; अनि तिनीहरूले त्यस डालोलाई आकाश र पृथ्वीको बीचमा माथि उठाए।

मसँग कुरा गर्ने स्वर्गदूतलाई मैले सोधेँ, “तिनीहरूले डालो कहाँ लगिरहेछन्?”

तिनले जवाफ दिए, “बेबिलोनिया2 देशमा त्यसका निम्ति घर बनाउनलाई लगिरहेका छन्। जब त्यसको घर तयार हुन्छ, तब त्यो डालो त्यसको आफ्नै ठाउँमा राखिनेछ।”

Source notes (2)
  1. Footnote 30 फिट लामो र 15 फिट चौडा
  2. Footnote मूल भाषामा शिनार

Biblica® Open Nepali Contemporary Version. Copyright © Biblica, Inc. Licensed under CC BY-SA 4.0. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.