Skip to content
BibleKenya

Biblica® Open Nepali Contemporary Version

भजनसंग्रह 59

सङ्गीत निर्देशकको निम्ति, “विनाश नहोस्” को रागमा आधारित, दावीदको मिक्ताम, जब शाऊलले दावीदलाई मार्न भनी उनका घरमा सुराकी गर्न पठाएका थिए।

हे परमेश्‍वर, मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्;

मलाई आक्रमण गर्नेहरूबाट रक्षा गर्नुहोस्।

दुष्‍ट कार्य गर्नेहरूबाट मलाई छुटकारा दिनुहोस्,

र मेरो प्राण लिन खोज्नेहरूबाट मलाई बचाउनुहोस्।

हेर्नुहोस्, मेरो प्राण लिनलाई तिनीहरू कसरी ढुकेर बसेका छन्!

हे याहवेह, मेरो दोष वा पाप नभए तापनि

कारणविना क्रूर मानिसहरू मेरो विरुद्धमा षड्यन्त्र रच्दछन्।

मेरो कुनै दोषविना नै तिनीहरू मलाई आक्रमण गर्न तयार छन्।

मलाई सहायता गर्न उठ्नुहोस्; मेरो दुर्गतिमा दृष्‍टि गर्नुहोस्।

हे याहवेह, सेनाहरूका परमेश्‍वर,

हे इस्राएलका परमेश्‍वर,

सबै राष्ट्रहरूलाई दण्ड दिन तपाईं जाग्नुहोस्;

विश्‍वासघातीहरूमाथि कुनै दया नदेखाउनुहोस्। सेला

तिनीहरू साँझपख

कुकुरहरूजस्तै घुर्दै,

सहरको चारैतिर आउँछन्।

हेर्नुहोस्, तिनीहरूको मुखबाट के निकाल्छन्—

तिनीहरूका ओठबाट निक्लेका शब्दहरू तरवारजस्तै धारिला छन्;

अनि तिनीहरू सोच्दछन्, “हामीलाई कसले सुन्‍न सक्छ र?”

तर हे याहवेह, तपाईं तिनीहरूमाथि हाँस्‍नुहुन्छ;

तपाईं सबै राष्ट्रहरूको उपहास गर्नुहुन्छ।

तपाईं मेरो शक्ति हुनुहुन्छ, म तपाईंको प्रतीक्षा गर्दछु;

हे परमेश्‍वर, तपाईं मेरो शरणस्थान हुनुहुन्छ।

मेरो परमेश्‍वरको अचुक प्रेममा, उहाँ मसँग खडा हुनुहुनेछ,

र परमेश्‍वर मेरो अगाडि जानुहुनेछ।

उहाँले मलाई मेरा शत्रुहरूमाथि विजय देख्न दिनुहुनेछ।

तर हे प्रभु, हाम्रा ढाल,1 तिनीहरूलाई नमार्नुहोस्,

नत्रता मेरा मानिसहरूले भुल्नेछन्।

तपाईंको शक्तिले तिनीहरूलाई उखेल्नुहोस्

र तिनीहरूलाई होच्याउनुहोस्।

तिनीहरूका मुखको पापको फल,

तिनीहरूका ओठका शब्दहरूका कारण,

तिनीहरू आफ्नै घमण्डमा फसून्।

तिनीहरूले बोलेका श्राप र झूटका कारण,

तपाईंको क्रोधमा तिनीहरूलाई भस्म पार्नुहोस्,

तिनीहरू पूरै नष्‍ट नहोउन्जेल भस्म गर्नुहोस्।

तब पृथ्वीको छेउसम्मै मानिसहरूले जान्‍नेछन्,

कि परमेश्‍वरले इस्राएलमाथि2 र संसारभरि राज्य गर्नुहुन्छ।

तिनीहरू साँझपख

कुकुरहरूजस्तै घुर्दै

सहरको चारैतिर आउँछन्।

तिनीहरू आहाराको खोजीमा भौँतारिन्छन्,

अनि तिनीहरू आहाराले सन्तुष्‍ट नहुँदा कराउँछन्।

तर म तपाईंको शक्तिको गुणगान गाउनेछु,

बिहानै म तपाईंको अचुक प्रेमको गीत गाउनेछु;

किनकि तपाईं मेरा किल्‍ला हुनुहुन्छ,

सङ्कष्‍टको दिनमा मेरो शरणस्थान हुनुहुन्छ।

तपाईं मेरो बल हुनुहुन्छ, म तपाईंको प्रशंसा गाउनेछु;

हे परमेश्‍वर, तपाईं मेरो शरणस्थान हुनुहुन्छ,

मेरो प्रेमिला परमेश्‍वरमा म भरोसा गर्न सक्छु।

Source notes (2)
  1. Footnote अथवा सार्वभौम
  2. Footnote मूल भाषामा याकोबमाथि

Biblica® Open Nepali Contemporary Version. Copyright © Biblica, Inc. Licensed under CC BY-SA 4.0. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.