Skip to content
BibleKenya

Biblica® Open Nepali Contemporary Version

यूहन्‍ना 21

येशू र सात जना चेलाहरू

यसपछि येशू तिबेरियास तालको किनारमा फेरि चेलाहरूकहाँ देखा पर्नुभयो; अनि यो यस प्रकारले भयो: सिमोन पत्रुस, थोमा (दिदुमस), गालीलको कानाका नथानेल, जब्दीका छोराहरू र अरू दुई चेलाहरू सँगसँगै थिए। सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जान्छु।” अनि तिनीहरूले भने, “हामी पनि तिमीसँगै जान्छौँ।” अनि तिनीहरू गए, र डुङ्गामा चढे; तर तिनीहरूले रातभरि पनि एउटै माछा मार्न सकेनन्।

बिहानको मिरमिरेमा येशू किनारमा उभिनुभएको थियो; तर उहाँ येशू हुनुहुन्थ्यो भनी चेलाहरूले चिन्‍न सकेनन्।

उहाँले तिनीहरूलाई बोलाएर भन्‍नुभयो, “हे बालकहरू हो! तिमीहरूसँग केही माछाहरू छन् कि?”

“छैन,” तिनीहरूले उत्तर दिए।

उहाँले फेरि भन्‍नुभयो, “डुङ्गाको दाहिनेपट्टि जाल हान, र तिमीहरूले केही भेट्टाउनेछौ।” तिनीहरूले त्यसै गरे, र जालमा यति धेरै माछाहरू पर्‍यो कि तिनीहरूले जाल तान्‍नै सकेनन्।

तब येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु नै हुनुहुन्छ! उहाँ प्रभु हुनुहुन्छ,” भन्‍ने सुन्‍नसाथ सिमोन पत्रुसले आफ्नो खास्टो कम्मरमा बेह्रेर पानीमा हाम फाले (किनकि तिनले लुगा फुकालेका थिए)। अरू चेलाहरू एउटा सानो डुङ्गामा माछाले भरिएका जाललाई तान्दै आए। किनकि किनार प्रायः नब्बे मिटर जति मात्र टाढा थियो। किनारमा आइपुगेपछि तिनीहरूले आगोको भुङ्ग्रोमा माछा राखिएका र केही रोटी देखे।

येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले भर्खरै पक्रेका माछाबाट केही ल्याओ।” सिमोन पत्रुसले डुङ्गामा चढेर जाललाई तानेर किनारमा ल्याए। गन्ती गर्दा एक सय त्रिपन्‍न वटा ठूला-ठूला माछा परेका रहेछन्, तर यति धेरै भए तापनि जाल फाटेको थिएन। येशूले तिनीहरूलाई भन्‍नुभयो, “आएर खाओ।” चेलाहरूले उहाँलाई “तपाईं को हुनुहुन्छ?” भनी सोध्ने हिम्मत गरेनन्। उहाँ प्रभु हुनुहुन्छ भनी तिनीहरूले जान्दथे। येशू आएर रोटी लिनुभयो; र तिनीहरूलाई दिनुभयो, र माछा पनि दिनुभयो। येशू मृत्युबाट जीवित हुनुभएपछि चेलाहरूसँग देखा पर्नुभएको यो तेस्रोपल्ट थियो।

येशूले पत्रुसलाई पुनर्स्थापित गर्नुभएको

तिनीहरूले भोजन गरिसकेपछि येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो, “ए यूहन्‍नाका छोरा सिमोन, यिनीहरूभन्दा के तिमी मलाई बढ्ता प्रेम गर्छौ?”

पत्रुसले भने, “ज्यू प्रभु, म तपाईंलाई प्रेम गर्छु भन्‍ने कुरा तपाईं जान्‍नुहुन्छ।”

येशूले भन्‍नुभयो, “मेरा साना भेडाहरूलाई खुवाऊ।”

येशूले प्रश्न दोहोर्‍याउनुभयो, “ए यूहन्‍नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?”

पत्रुसले भने, “हजुर प्रभु, म तपाईंलाई प्रेम गर्छु भन्‍ने कुरा तपाईं जान्‍नुहुन्छ।”

“मेरा भेडाहरूको राम्ररी हेरचाह गर,” येशूले भन्‍नुभयो।

उहाँले तेस्रोपल्ट तिनलाई भन्‍नुभयो, “ए यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई साँच्‍चै प्रेम गर्छौ?”

येशूले तेस्रोपल्ट “के तिमी मलाई प्रेम गर्दछौ?” भनी सोध्नुभएकोमा पत्रुस दुःखित भए। उनले भने, “प्रभु! तपाईं सबै कुरा जान्‍नुहुन्छ। तपाईंलाई थाहा छ, म तपाईंलाई प्रेम गर्छु।”

येशूले भन्‍नुभयो, “मेरा भेडाहरूलाई खुवाऊ। म तिमीलाई साँचो-साँचो भन्दछु, जब तिमी जवान थियौ, तब आफैँ लुगा लगाउँथ्यौ, र आफ्नो इच्छाअनुसार जहाँकहीँ पुग्न सक्थ्यौ। तर जब तिमी बूढा हुनेछौ, तब तिमीले आफ्ना हातहरू पसार्नेछौ, र अरूले तिमीलाई लुगा लगाइदिनेछ र तिमीले नचाहेको ठाउँमा तिमीलाई लैजानेछ।” पत्रुसको मृत्युद्वारा कसरी परमेश्‍वरको महिमा हुनेछ भनी त्यसको जानकारी दिन येशूले उनलाई यसो भन्‍नुभएको थियो। त्यसपछि उहाँले तिनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ!”

पत्रुसले पछिल्तिर फर्केर हेर्दा येशूले प्रेम गर्नुभएको चेलाले उहाँहरूलाई पछ्याउँदै गरेको देखे। (बेलुकीको भोजनमा उहाँसँग अडिएर, “गुरुज्यू, हामीमध्ये तपाईंलाई कसले चाहिँ विश्‍वासघात गर्नेछ?” भनेर सोध्ने व्यक्ति यिनै थिए।) तिनलाई देखेर पत्रुसले येशूलाई सोधे, “प्रभु! यिनको चाहिँ के हुने हो?”

येशूले उत्तर दिनुभयो, “यदि मैले म फर्किनआउन्जेल उनी बाँचिरहून् भनी चाहना गरेँ भने पनि यसको तिमीलाई के सरोकार? तिमीले चाहिँ मलाई पछ्याऊ!” यसकारण विश्‍वासीहरूका बीचमा त्यो चेलाचाहिँ मर्नेछैन भन्‍ने हल्‍ला फिँजियो, तर येशूले तिनी मर्नेछैनन् भनी भन्‍नुभएको थिएन। उहाँले यति मात्र भन्‍नुभएको थियो, “यदि मैले म फर्किनआउन्जेल उनी बाँचिरहून् भन्‍ने चाहना गरेँ भने तापनि यसको तिमीलाई के सरोकार?”

यी कुराको विषयमा साक्षी दिने, र लेख्ने चेला यिनै हुन्। अनि हामी जान्दछौँ, यिनको साक्षी सत्य छ।

येशूले गर्नुभएका अरू पनि धेरै कामहरू छन्। यदि ती सबै एक-एक गरी लेखिएका भए मेरो अनुमानमा लेखिएका ती पुस्तकहरू संसारभरि पनि अटाउनेथिएनन् होला।

Biblica® Open Nepali Contemporary Version. Copyright © Biblica, Inc. Licensed under CC BY-SA 4.0. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.