Skip to content
BibleKenya

Biblica® Open Nepali Contemporary Version

इयोब 37

“यस्ता कुराले गर्दा मेरो मुटुको ढुकढुकी ज्यादै बढ्छ,

अनि यो आफ्नो ठाउँबाट उफ्रन्छ।

सुन्‍नुहोस्! उहाँको आवाजको गर्जनलाई सुन्‍नुहोस्,

उहाँको मुखबाट निस्केको गडगडाहट सुन्‍नुहोस्।

उहाँले आफ्नो बिजुली सारा स्वर्गमुनि छोडिदिनुहुन्छ;

र यसलाई पृथ्वीको अन्तिमसम्म पठाइदिनुहुन्छ।

त्यसपछि उहाँको गर्जनको आवाज आउँछ;

उहाँ आफ्नो प्रतापी आवाजमा गर्जनुहुन्छ।

जब उहाँको आवाज गुञ्जन्छ,

तब उहाँले केही पनि रोकेर राख्नुहुन्‍न।

परमेश्‍वरको आवाज अद्‌भुत किसिमले गर्जन्छ;

उहाँले हाम्रो समझभन्दा बाहिरका महान् कामहरू गर्नुहुन्छ।

उहाँले हिउँलाई भन्‍नुहुन्छ, ‘पृथ्वीमा झर्,’

भारी वर्षालाई भन्‍नुहुन्छ, ‘मुसलधारे झरी पर्।’

यसर्थ उहाँले सृष्‍टि गर्नुभएका हरेक मानिसहरूले उहाँका कामलाई जानून्,

उहाँले सबै मानिसहरूलाई तिनीहरूका परिश्रमबाट रोक्नुहुन्छ।

पशुहरू ओडारमा पस्छन्;

तिनीहरू आफ्ना गुफामा बस्छन्।

प्रचण्ड आँधी आफ्नो स्थानबाट निस्कन्छ,

र तेज बतासबाट धेरै जाडो आउँछ।

परमेश्‍वरको सासले बरफ उत्पादन गर्छ,

र फराकिलो समुद्रको पानी जम्छ।

उहाँले बादललाई ओसको भारी बोकाउनुहुन्छ;

उहाँले आफ्नो बिजुली बादलद्वारा छर्नुहुन्छ।

उहाँको आदेशमा

उहाँले खटाउनुभए अनुसार

तिनीहरू पृथ्वीको सतहभरि मडारिन्छन्।

परमेश्‍वरले मानिसहरूलाई दण्ड दिन,

अथवा उहाँको पृथ्वीलाई भिजाउन र उहाँको प्रेम देखाउन बादललाई पठाउनुहुन्छ।

“इयोब, यो कुरा सुन्‍नुहोस्;

रोकिनुहोस्, र परमेश्‍वरका अद्‌भुत कार्यहरूमा विचार गर्नुहोस्।

परमेश्‍वरले बादललाई कसरी वशमा राख्नुहुन्छ,

अनि कसरी आफ्नो बिजुली चम्काउनुहुन्छ भनी के तपाईं जान्‍नुहुन्छ?

बादल कसरी शान्त भएर एक ठाउँमा अडिरहन्छ,

ज्ञानमा सिद्ध हुनुहुनेले कसरी ती अद्‌भुत कार्यहरू

गर्नुहुन्छ भन्‍ने कुरा के तपाईं जान्‍नुहुन्छ?

देश दक्षिणी बतासको प्रभावमा परेको बेला

तपाईं आफ्ना वस्त्रहरूभित्र न्यानो भएर रहनुहुन्छ,

के तपाईं काँसोको ऐनाजस्तै कडा आकाशलाई,

फैलाउने काममा उहाँलाई साथ दिन सक्नुहुन्छ?

“हामीले उहाँलाई के भन्‍नुपर्छ, भन्‍नुहोस्;

हामी अन्धकारमा रहेको कारण आफ्नो तर्क प्रस्तुत गर्न सक्दैनौँ।

के उहाँलाई म केही बोल्न चाहन्छु भनेर बताउनुपर्छ र?

के कुनै मानिसले आफू निलिएको चाहन्छ र?

तर अब बतासलाई बढारेर सफा पारेको

आकाशमा भएको चम्किलो सूर्यलाई

कसैले पनि हेर्न सक्दैन।

उत्तरतिरबाट उहाँ सुनौलो भव्यतामा आउनुहुन्छ;

परमेश्‍वर अद्‌भुत महिमामा आउनुहुन्छ।

सर्वशक्तिमान् हाम्रो पहुँचभन्दा बाहिर र शक्तिमा उच्‍च हुनुहुन्छ;

उहाँको न्याय र महान् धार्मिकतामा उहाँले मानिसहरूलाई थिचोमिचो गर्नुहुन्‍न।

यसकारण मानिसहरूले उहाँलाई श्रद्धा गर्दछन्;

किनकि उहाँले हृदयमा बुद्धिमान् छु भनेर दाबी गर्नेहरू सबैलाई आदर गर्नुहुन्‍न।”

Biblica® Open Nepali Contemporary Version. Copyright © Biblica, Inc. Licensed under CC BY-SA 4.0. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.