Skip to content
BibleKenya

Biblica® Open Nepali Contemporary Version

यर्मिया 39

यहूदाका राजा सिदकियाहको शासनकालको नवौँ वर्षको दशौँ महिनामा, बेबिलोनका राजा नबूकदनेसर आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेमको विरुद्धमा मोर्चा बाँधेर आए र त्यसलाई घेरा हाले। अनि सिदकियाहको शासनकालको एघारौँ वर्षको चौथो महिनाको नवौँ दिनमा सहरको पर्खाल भत्काइयो। तब बेबिलोनका राजाका सबै अधिकारीहरू भित्र आए, र बीचको मूलढोकामा बसे: समगरका नेर्गल-सरेसेर, मुख्य अधिकारी नबो-सर्कसीम, उच्‍च अधिकारी नेर्गल-सरेसेर र बेबिलोनका राजाका अरू सबै अधिकारीहरू पनि थिए। जब यहूदाका राजा सिदकियाह र अरू सबै सेनाले बेबिलोनीहरूलाई देखे, तब तिनीहरू भागे; अनि तिनीहरू राजाको बगैँचाका दुई वटा पर्खालहरू बीचको मूलढोकाबाट निस्केर राति नै सहरबाट भागेर अराबातिर लागे।

तर बेबिलोनी सेनाहरूले तिनीहरूलाई खेदे, र सिदकियाहलाई यरीहोको मैदानमा भेट्टाए। तिनीहरूले तिनलाई पक्रे, र तिनलाई हमातको सहरमा भएको रिब्ला इलाकामा बेबिलोनका राजा नबूकदनेसरकहाँ लगे, जहाँ तिनले सिदकियाहलाई दण्डको आज्ञा सुनाए। त्यहाँ रिब्ला इलाकामा बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई र यहूदाका सबै अधिकारीहरूलाई तिनकै आँखाको सामु मारे। त्यसपछि तिनले सिदकियाहका आँखा निकालिदिए, र बेबिलोनमा लैजानलाई तिनलाई काँसाका साङ्लाहरूले बाँधे।

बेबिलोनीहरूले राजदरबार र मानिसहरूका घरहरूमा आगो लगाइदिए; अनि यरूशलेमका पर्खालहरू भत्काइदिए। बेबिलोनका राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले सहरमा बचेका मानिसहरू र पहिले तिनीहरूकहाँ भागेर गइसकेका मानिसहरू र त्यहाँका अरू बाँकी मानिसहरूलाई कैद गरेर बेबिलोनमा लगे। तर अङ्गरक्षकका सेनापति नबूजरदानले केही पनि नभएका मानिसहरूलाई यहूदामै छोडिदिए; अनि त्यस समय तिनले ती गरिबहरूलाई दाखबारी र खेतबारीहरू दिए।

अब बेबिलोनका राजा नबूकदनेसरले राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानलाई यर्मियाको बारेमा यस्तो आदेश दिएका थिए: “यर्मियालाई ल्याऊ र तिनलाई राम्ररी हेरचाह गर। तिनलाई हानि नगर्नू, तर तिनले जे चाहन्छन्, तिनका निम्ति त्यही गर्नू!” यसकारण अङ्गरक्षकका सेनापति नबूजरदान, मुख्य अधिकारी नबूशजवान, उच्‍च अधिकारी नेर्गल-सरेसेर र बेबिलोनका राजाका अरू सबै अधिकारीहरूले मिलेर मानिसहरू पठाए र यर्मियालाई पहरेदारको चोकबाट बाहिर निकालेर ल्याए। तिनीहरूले यर्मियालाई तिनको आफ्नै घरमा लैजान भनी शापानका नाति, अहीकामका छोरा गदल्याहलाई सुम्पिदिए। अनि यसरी तिनी आफ्नै मानिसहरूसँग रहे।

यर्मिया पहरेदार चोकमा कैदमा रहेको बेला याहवेहको वचन तिनीकहाँ आएको थियो: “गएर कूशी एबेद-मेलेकलाई भन्, ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: म यस सहरको विरुद्धमा मेरा वचनहरू पूरा गर्न लागेको छु; उन्‍नति गरेर होइन, तर विपत्ति ल्याएर। त्यस समयमा तेरा आँखाकै सामु ती सबै पूरा भएको देख्नेछस्, याहवेह घोषणा गर्नुहुन्छ। तर त्यस दिन तँलाई म बचाउनेछु। तँ जुन मानिसहरूसँग डराउँछस्, तिनीहरूको हातमा सुम्पिइनेछैनस्। म तँलाई बचाउनेछु। तँ तरवारद्वारा मारिनेछैनस्, तर तँ लुटको मालजस्तै जीवितै उम्कनेछस्; किनकि तैँले ममाथि भरोसा राखेको छस्, याहवेह घोषणा गर्नुहुन्छ।’ ”

Biblica® Open Nepali Contemporary Version. Copyright © Biblica, Inc. Licensed under CC BY-SA 4.0. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.