Skip to content
BibleKenya

Biblica® Open Nepali Contemporary Version

उत्पत्ति 23

साराको मृत्यु

सारा एक सय सत्ताइस वर्षसम्म बाँचिन्। अनि कनान देशको किर्यत-अर्बामा (अर्थात्, हेब्रोनमा) तिनको मृत्यु भयो। अनि अब्राहाम साराका निम्ति विलाप गर्न र उनका निम्ति शोक गर्नलाई त्यहाँ गए।

अब्राहाम आफ्नी पत्नीको शव भएको ठाउँबाट उठे, र हित्तीहरूलाई भने, “म तपाईंहरूको बीचमा एक विदेशी र प्रवासी हुँ। तपाईंहरूको सानो टुक्रो जमिन चिहानको लागि मलाई बेच्नुहोस्, ताकि मेरो मृतकलाई गाड्न सकूँ।”

तब हित्तीहरूले अब्राहामलाई भने, “हे प्रभु, हाम्रो कुरा सुन्‍नुहोस्! तपाईं हाम्रो बीचमा परमेश्‍वरका राजकुमार हुनुहुन्छ। त्यसकारण हाम्रा चिहानहरूमध्ये सबैभन्दा असलचाहिँ छानेर त्यहीँ आफ्नो मृतकलाई गाड्नुहोस्। हाम्रो चिहानमा तपाईंको मृतकलाई गाड्न दिन हामी कसैले पनि इन्कार गर्नेछैनौँ।”

तब अब्राहाम उठेर त्यस देशका मानिस, हित्तीहरूको अगि निहुरिए। अनि तिनले उनीहरूलाई भने, “यदि तपाईंहरूले मेरो पत्नीको शवलाई गाड्न ठाउँ दिने इच्छा गर्नुभएको हो भने मेरो कुरा सुनिदिनुहोस्, र सोहोरको छोरा एप्रोनसित मेरा निम्ति बिन्ती गरिदिनुहोस्, अनि उनले आफ्नो जमिनको अन्तिममा भएको मक्पेलाको ओडार मलाई बेचून्। तपाईंहरूको बीचमा चलिआएको पूरा मूल्यमा त्यो चिहानको रूपमा मलाई बेचून् भनी उनलाई भनिदिनुहोस्।”

सहरको मूलढोकामा हित्तीहरू आएका थिए; अनि हित्तीहरूका बीचमा एप्रोन पनि त्यहीँ बसिरहेका थिए। अनि सबैले सुन्‍ने गरी एप्रोनले अब्राहामलाई जवाफ दिए; उनले भने, “होइन, मेरा प्रभु, मेरो कुरा सुन्‍नुहोस्; म तपाईंलाई जमिन दिने1 मात्र होइन, तर त्यसमा भएको ओडारसमेत दिन्छु। त्यो मेरा मानिसहरूको उपस्थितिमा तपाईंलाई दिन्छु। आफ्नो मृतकलाई त्यहीँ गाड्नुहोस्।”

फेरि अब्राहाम त्यस देशका मानिसहरूको सामु निहुरिए। तब तिनले सबैले सुन्‍ने गरी एप्रोनलाई भने, “तपाईंले चाहनुहुन्छ भने मेरो कुरा सुन्‍नुहोस्। म जमिनको मूल्य तिर्नेछु। यो मबाट स्वीकार गर्नुहोस्, र मेरो मृतकलाई त्यहीँ गाड्न सकूँ।”

एप्रोनले अब्राहामलाई जवाफ दिए, “हे मेरा प्रभु, मेरो कुरा सुन्‍नुहोस्; त्यस जमिनको दाम चाँदीको चार सय शेकेल2 मात्र हो; तर तपाईं र मेरो बीचमा मूल्यको के कुरा र? तपाईं आफ्नो मृतकलाई गाड्नुहोस्।”

हित्तीहरूले सुन्‍ने गरी एप्रोनले राखेको शर्त अब्राहामले स्वीकार गरे; अनि त्यस बेलाका व्यापारीहरूका बीचमा चल्ने मुद्राको तौलअनुसार तिनले चाँदीको चार सय शेकेल एप्रोनले तोकेको मूल्यअनुसार चुक्ता गरिदिए।

यसरी मम्रेको छेउमा भएको एप्रोनको मक्पेलाको जमिन—अर्थात् जमिन र ओडार दुवै जमिनको सिमानामा भएका सबै रूखहरूलाई सहरको मूलढोकामा आएका सबै हित्तीहरूको उपस्थितिमा अब्राहामको सम्पत्तिको रूपमा पक्‍का गरी दर्ता गरियो। त्यसपछि कनान देशमा भएको मम्रे अर्थात् हेब्रोनको छेउमा भएको मक्पेलामा भएको ओडारमा अब्राहामले आफ्नी पत्नी सारालाई गाडे। यसरी त्यो जमिन र त्यसमा भएको ओडारलाई चिहानको रूपमा हित्तीहरूद्वारा अब्राहामको नाममा दर्ता गरियो।

Source notes (2)
  1. Footnote अथवा बिक्री
  2. Footnote लगभग 4.6 किलो हुन्छ।

Biblica® Open Nepali Contemporary Version. Copyright © Biblica, Inc. Licensed under CC BY-SA 4.0. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.