Skip to content
BibleKenya

Biblica® Open Nepali Contemporary Version

उत्पत्ति 20

अब्राहाम र अबीमेलेक

अब अब्राहाम त्यहाँबाट अगि बढेर दक्षिणका इलाकातिर गए, र कादेश र शूरको बीचमा बसोबास गर्न थाले। तिनी केही समयका लागि गरारमा बसे; अनि त्यहाँ अब्राहामले आफ्नी पत्नी साराको विषयमा, “यिनी मेरी बहिनी हुन्” भने, तब गरारका राजा अबीमेलेकले सारालाई झिकाए र तिनलाई लगे।

तर एक रात सपनामा परमेश्‍वर अबीमेलेककहाँ आउनुभयो, र तिनलाई भन्‍नुभयो, “तैँले ल्याएको त्यस स्त्रीको कारण, तँ मरेतुल्य भएको छस्; त्यो विवाहित स्त्री हो।”

अबीमेलेक तिनको नजिक गएका पनि थिएनन्; अनि तिनले भने, “प्रभु, के तपाईंले एउटा निर्दोष जातिलाई नष्‍ट गर्नुहुनेछ? के तिनले मलाई ‘यिनी मेरी बहिनी हुन्’ भनेनन् र? अनि के साराले पनि ‘यिनी मेरा दाजु हुन्’ भनिन र? त्यसैले यो मैले शुद्ध विवेक र शुद्ध हातले नै गरेको हुँ।”

तब परमेश्‍वरले सपनामा अबीमेलेकलाई भन्‍नुभयो, “हो, तैँले यो शुद्ध विवेकले गरेको हो भनी म जान्दछु; यसकारण मैले तँलाई मेरो विरुद्धमा पाप गर्नदेखि रोकेँ। यसैकारण मैले तँलाई त्यसलाई छुन दिइनँ। अब त्यस मानिसकी पत्नी फर्काइदे; किनकि ऊ एउटा अगमवक्ता हो; र उसले तेरो निम्ति प्रार्थना गर्नेछ, र तँ बाँच्नेछस्। तर यदि तैँले सारालाई फर्काइदिइनस् भने यो निश्‍चय जानिराख्, तँ र तेरा जे जति छन्, ती सबै मर्नेछन्।”

भोलिपल्ट बिहानै अबीमेलेकले आफ्ना सबै कर्मचारीहरूलाई बोलाए, र जे भएको थियो, सो तिनीहरूलाई सबै सुनाए; तब तिनीहरू साह्रै डराए। तब अबीमेलेकले अब्राहामलाई भित्र बोलाएर भने, “तपाईंले हामीलाई यो के गर्नुभयो? मैले तपाईंको के बिगार गरेँ, र तपाईंले म र मेरो राज्यमाथि यस्तो दोष ल्याउनुभयो? तपाईंले मसँग कहिल्यै गर्नै नहुने कामहरू गर्नुभएको छ।” अनि अबीमेलेकले फेरि अब्राहामलाई सोधे, “यसो गर्नुको कारण के थियो?”

अब्राहामले जवाफ दिए, “ ‘यस ठाउँमा पक्‍कै पनि परमेश्‍वरको भय छैन, र मेरी पत्नीको कारण तिनीहरूले मलाई मार्लान् भनी मैले सोचेँ।’ यसबाहेक यिनी मेरी साक्खै बहिनी पनि हुन्; अर्थात् मेरा पिताकी छोरी हुन्, तर मेरी आमाकी छोरीचाहिँ होइनन्; अनि यिनी मेरी पत्नी भईन्। अनि जब परमेश्‍वरले मलाई मेरा पिताको घरानाबाट विदेशीझैँ घुम्नलाई निकाल्नुभयो, तब मैले सारालाई भनेँ, ‘तिमीले यसरी मलाई आफ्नो प्रेम देखाउन सक्छ्यौ: हामी जहाँ गए तापनि मेरो विषयमा “यिनी मेरा दाजु हुन् भन्‍नू।” ’ ”

तब अबीमेलेकले भेडाबाख्रा, गाईबस्तु र दास-दासीहरू ल्याए, र ती अब्राहामलाई दिए; अनि तिनकी पत्नी सारालाई पुनः तिनीकहाँ फर्काइदिए। अनि अबीमेलेकले भने, “मेरो देश तपाईंको सामु छ; तपाईंलाई जहाँ मन पर्छ, त्यहीँ बस्‍नुहोस्।”

सारालाई तिनले भने, “म तिम्रा दाजुलाई एक हजार शेकेल1 चाँदी दिँदैछु। योचाहिँ तिमीसित भएका सबैको सामु तिमीप्रति लागेको अभियोगको हर्जानास्वरूप हो; तिमी सम्पूर्ण तवरले सत्य ठहरिएकी छ्यौ।”

तब अब्राहामले परमेश्‍वरसित प्रार्थना गरे; अनि परमेश्‍वरले अबीमेलेक, तिनकी पत्नी र तिनकी दासीहरूलाई तिनीहरूले फेरि पनि सन्तान जन्माउन सकून् भनी निको पार्नुभयो; किनकि याहवेहले अब्राहामकी पत्नी साराको कारण अबीमेलेकको घरानाका सबै स्त्रीहरूका कोख बन्द गरिदिनुभएको थियो।

Source notes (1)
  1. Footnote लगभग 12 किलो

Biblica® Open Nepali Contemporary Version. Copyright © Biblica, Inc. Licensed under CC BY-SA 4.0. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.