Biblica® Open Nepali Contemporary Version
इजकिएल 43
परमेश्वरको महिमा मन्दिरमा फर्किआएको
त्यसपछि ती मानिसले मलाई पूर्वतिर फर्केको मूलढोकामा ल्याए; अनि मैले इस्राएलका परमेश्वरको महिमा पूर्व दिशाबाट आइरहेको देखेँ। उहाँको सोरचाहिँ बेगसित बहने पानीको गर्जनजस्तै थियो; अनि पृथ्वी उहाँको महिमाले चम्किरहेको थियो। मैले देखेको दर्शन सहरलाई नाश गर्न आउनुहुँदा देखेको दर्शनजस्तै थियो, जुन मैले कबार नदीमा देखेको ती दर्शनहरूजस्ता थिए; अनि म भुइँमा घोप्टो परेर लडेँ। याहवेहको महिमा पूर्वपट्टि फर्केको मूलढोकाबाट मन्दिरभित्र पस्यो। तब आत्माले मलाई माथि उठाउनुभयो, र मलाई भित्री चोकमा ल्याउनुभयो; अनि याहवेहको महिमाले त्यस मन्दिरलाई भरिदियो।
जब ती मानिस मेरो छेउमा उभिरहेका थिए, तब मन्दिरभित्रबाट मसँग कोही बोलिरहेको मैले सुनेँ। उहाँले भन्नुभयो: “हे मानिसको छोरा, यो मेरो सिंहासनको ठाउँ हो र मेरा पैतालाका निम्ति पाउदान हो। म सदासर्वदा इस्राएलीहरूको बीचमा यसै ठाउँमा बस्नेछु। इस्राएलका मानिसहरूले फेरि कहिल्यै मेरो पवित्र नाम अपवित्र गर्नेछैनन्, न तिनीहरूले, न त तिनीहरूका राजाहरूले—आफ्ना वेश्यावृत्तिद्वारा र तिनीहरूका आफ्ना राजाहरूका मृत्युको समयमा तिनीहरूका दाह संस्कारको बलिदानद्वारा मेरो पवित्र नामलाई फेरि कहिल्यै अपवित्र पार्नेछैनन्। जब तिनीहरूले आफ्ना सँघार मेरो सँघारको छेवैमा र आफ्ना ढोकाका चौकसहरू मेरा चौकसहरूका छेवैमा तिनीहरूको र मेरो बीचमा एउटा पर्खाल मात्र राखेर बनाए, तब तिनीहरूले मेरो पवित्र नामलाई आफ्ना घिनलाग्दा कामहरूद्वारा अपवित्र पारे। यसकारण मैले मेरो रिसमा तिनीहरूलाई सर्वनाश गरेँ। अब तिनीहरूले मबाट तिनीहरूका वेश्यावृत्ति दूर गरून्, र आफ्ना राजाहरूका मृत्युको समयमा तिनीहरूका दाह संस्कारको बलिदानलाई मबाट हटाइदिऊन्, तब म तिनीहरूसित सदासर्वदा रहनेछु।
“हे मानिसको छोरा, इस्राएलका मानिसहरूलाई मन्दिरको वर्णन गरिदे, र तिनीहरू आफ्ना पापहरूका निम्ति लज्जित होऊन्। तिनीहरूले मन्दिरको सिद्धतालाई राम्ररी विचार गरून्; अनि यदि तिनीहरू आफूले गरेका सबै कामहरूप्रति लज्जित भए भने तिनीहरूलाई मन्दिरको नमुना—त्यसको लागि रूपरेखा, त्यसका बाहिर निस्कने ढोका र प्रवेशद्वारहरू—त्यसका सम्पूर्ण ढाँचा र त्यसका सबै नियम र विधिहरू बताइदे। यी कुराहरू तिनीहरूका सामु लेख्, ताकि तिनीहरूले मन्दिरका ढाँचालाई इमानदार भएर त्यसका सबै नियम विधिहरू पालन गरून्।
“मन्दिरको नियम यही हो: पर्वतको टुप्पोमा भएका चारैतिरका इलाका महा-पवित्र हुनेछन्। मन्दिरको नियम यही हो।
ठूलो वेदीको पुनर्स्थापना
“मन्दिरका नापहरू लामो हातको नापअनुसार क्यूबिट लम्बाइ यस्तै हुन्: अर्थात् एक क्यूबिट र चार औँला; त्यसको आधार एक क्यूबिट1 गहिरो र एक क्यूबिट चौडा होऊन्, जसको किनारको चारैतिर एघार स्पान2 घेरा होस्। अनि वेदीको उचाइ यस्तो होस्: जमिनको जगदेखि तल्लो किनारसम्म त्यो दुई क्यूबिट3 अग्लो र दुई क्यूबिट चौडा होस्। वेदीको वरिपरि सबैभन्दा तलको किनारदेखि माथिल्लो किनारसम्म त्यो चार क्यूबिट अग्लो र एक क्यूबिट4 चौडा होस्। त्यसभन्दा माथि वेदीको अगेना वर्गाकार आकारको जहाँ बलिहरू जलाइन्छ, त्यो चार क्यूबिट अग्लो होस्, र अगेनाबाट चार वटा सिङहरू मास्तिर निस्केका होऊन्। वेदीको अगेना वर्गाकार, बाह्र क्यूबिट लामो5 र बाह्र क्यूबिट चौडा होस्। माथिल्लो किनार पनि वर्गाकार होस्, चौध क्यूबिट6 लामो र चौध क्यूबिट चौडा होस्। वेदीका चारैतिर आधा क्यूबिटको घेरा र एक क्यूबिटको7 जग होस्। वेदीको खुड्किलाहरू पूर्वतिर फर्केको होस्।”
त्यसपछि तिनले मलाई भने, “हे मानिसको छोरा, प्रभु याहवेह यसो भन्नुहुन्छ: वेदी बनिएपछि त्यसमाथि होमबलि चढाउने र रगत छर्कने नियमहरू यी नै हुन्: तैँले पाप शुद्धीकरण बलिको रूपमा एउटा बाछा सादोकको परिवारका लेवी पुजारीहरूलाई दिनू, जो मेरो सामु सेवा गर्नलाई नजिक आउँछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। तैँले त्यसको केही रगत लिएर त्यसलाई वेदीका चार वटा सिङहरूमा र माथिल्लो किनारका चारै कुनामा र वरिपरिका घेरामा लगाउनू; अनि यसरी वेदीलाई शुद्ध गरेर त्यसका निम्ति प्रायश्चित गर्नू। तैँले पाप शुद्धीकरण बलिको निम्ति बाछा लिएर त्यसलाई पवित्रस्थानको बाहिर मन्दिरको इलाकामा तोकिएका ठाउँमा जलाइदिनू।
“दोस्रो दिन तैँले एउटा निष्खोट बोका पाप शुद्धीकरण बलिको रूपमा चढाउनू; अनि वेदीलाई बाछोले पहिलो दिनमा शुद्ध पारेझैँ शुद्ध पारून्। तैँले त्यसलाई शुद्ध गरिसकेपछि, तैँले बगालबाट एउटा निष्खोट बाछो र एउटा निष्खोट भेडा चढाउनू। तैँले ती याहवेहको सामु चढाउनू र पुजारीहरूले ती चढाइएको मासुमा नुन छर्कून् र तिनीहरूलाई होमबलिको रूपमा याहवेहलाई बलि चढाऊन्।
“तैँले सात दिनसम्म पाप शुद्धीकरण बलिको निम्ति हरेक दिन एउटा बोका जुटाउनू; तैँले बगालबाट एउटा निष्खोट बाछा र एउटा निष्खोट साँढभेडा जुटाउनू। तिनीहरूले सात दिनसम्म वेदीको निम्ति प्रायश्चित गरून् र त्यसलाई शुद्ध पारून्; यसरी तिनीहरूले त्यसलाई अर्पण गर्नेछन्। यी सात दिनहरूको अन्त्यमा, आठौँ दिनदेखि उसो पुजारीहरूले तेरा होमबलिहरू र मेलबलिहरू वेदीमा चढाउनुपर्छ। तब म इस्राएलका मानिसहरूलाई ग्रहण गर्नेछु; प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”
Source notes (7)
- Footnote लगभग 21 इन्च; 14 र 17
- Footnote लगभग 11 इन्च
- Footnote लगभग 105 से.मि. अग्लो र 53 से.मि. चौडा
- Footnote लगभग 7 फिट अग्लो 53 से.मि. चौडा
- Footnote लगभग 21 फिट
- Footnote लगभग 25 फिट
- Footnote dup लगभग 11 इन्च
Biblica® Open Nepali Contemporary Version. Copyright © Biblica, Inc. Licensed under CC BY-SA 4.0. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-11-09.