Biblica® Open Nepali Contemporary Version
व्यवस्था 27
एबाल पर्वतमा भएको वेदी
मोशा र इस्राएलका प्रधानहरूले मानिसहरूलाई आज्ञा दिए, “आज मैले तिमीहरूलाई दिएका यी सबै आज्ञाहरू पालन गर। जब तिमीहरू यर्दन पार गरेर याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा पुग्छौ, तब केही ठूला-ठूला ढुङ्गाहरू खडा गरेर तिनीहरूलाई कमेरोले पोत्नू। याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका पितापुर्खालाई प्रतिज्ञा गर्नुभएझैँ, जब तिमीहरू यर्दन पार गरेर याहवेह तिमीहरूका परमेश्वरले दिनुहुने दूध र मह बग्ने देशमा प्रवेश गर्नेछौ, तब ती ढुङ्गाहरूमा यस व्यवस्थाका सबै वचनहरू लेख्नू। अनि जब तिमीहरूले यर्दन पार गरिसक्छौ, तब मैले तिमीहरूलाई आज आज्ञा दिएझैँ यी ढुङ्गाहरूलाई एबाल पर्वतमा खडा गरेर ती ढुङ्गाहरूलाई कमेरोले पोत्नू। त्यहाँ तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरका निम्ति ढुङ्गाहरूको एउटा वेदी बनाउनू। ती ढुङ्गाहरूमाथि कुनै फलामको औजार प्रयोग नगर्नू। याहवेह तिमीहरूका परमेश्वरका निम्ति तिमीहरूले नकाटिएका ढुङ्गाहरूको वेदी बनाउनू। त्यसपछि तिमीहरूले याहवेह आफ्ना परमेश्वरका निम्ति होमबलि चढाउनू। त्यहाँ मेलबलि चढाउनू र याहवेह तिमीहरूका परमेश्वरको उपस्थितिमा ती खानू, र तिमीहरूले रमाइलो मनाउनू। अनि तिमीहरूले खडा गरेका ती ढुङ्गाहरूमा यस व्यवस्थाका शब्दहरू स्पष्टसँग लेख्नू।”
एबाल पर्वतबाट श्राप
तब मोशा र लेवी पुजारीहरूले सारा इस्राएलीहरूलाई भने, “हे इस्राएल, शान्त भएर सुन! आज तिमीहरू याहवेह तिमीहरूका परमेश्वरका जाति भएका छौ। याहवेह तिमीहरूका परमेश्वरको आज्ञापालन गर्नू। अनि आज मैले तिमीहरूलाई दिने उहाँका आज्ञा र उर्दीहरू पालन गर्नू।”
त्यसै दिन मोशाले मानिसहरूलाई आज्ञा दिए:
जब तिमीहरूले यर्दन पार गर्छौ, यी कुलहरू गीरीज्जीम डाँडामा मानिसहरूलाई आशिष् दिनलाई खडा होऊन्: शिमियोन, लेवी, यहूदा, इस्साखार, योसेफ र बेन्यामीन अनि रूबेन, गाद, आशेर, जबूलून, दान र नप्तालीका कुलहरूचाहिँ एबाल डाँडामा श्राप दिनलाई खडा होऊन्।
लेवीहरूले इस्राएलका सारा मानिसहरूका निम्ति चर्को सोरले यसरी भनून्:
“मूर्ति बनाउने जो कोही पनि श्रापित होस्। याहवेहले घृणा गर्नुहुने कुरा खोपेर, ढालेर बनाउने र त्यसलाई गुप्तमा स्थापित गर्ने मानिस श्रापित होस्।”
तब सबै मानिसहरूले भनून्, “आमेन!”
“आफ्ना आमाबुबालाई आदर नगर्ने मानिस श्रापित होस्।”
तब सबै मानिसहरूले भनून्, “आमेन!”
“आफ्नो छिमेकीको साँधसिमानाको ढुङ्गा हटाउने मानिसमाथि श्राप परोस्।”
तब सबै मानिसहरूले भनून्, “आमेन!”
“दृष्टिविहीनलाई उल्टो बाटोतिर डोर्याउने मानिस श्रापित होस्।”
तब सबै मानिसहरूले भनून्, “आमेन!”
“विदेशी, अनाथ र विधवाहरूलाई न्याय नदिने मानिस श्रापित होस्।”
तब सबै मानिसहरूले भनून्, “आमेन!”
“आफ्नो बुबाकी पत्नीसँग सुत्ने मानिस श्रापित होस्; किनकि त्यसले आफ्नो बुबाको ओछ्यानको अनादर गरेको छ।”
तब सबै मानिसहरूले भनून्, “आमेन!”
“पशुसँग यौन सम्पर्क राख्ने मानिस श्रापित होस्।”
तब सबै मानिसहरूले भनून्, “आमेन!”
“आफ्नो बहिनी अथवा आफ्नो आमा वा बुबाकी छोरीसँग सुत्ने मानिस श्रापित होस्।”
तब सबै मानिसहरूले भनून्, “आमेन!”
“आफ्नो सासुसँग सुत्ने मानिस श्रापित होस्।”
तब सबै मानिसहरूले भनून्, “आमेन!”
“आफ्नो छिमेकीलाई गुप्तमा मार्ने व्यक्ति श्रापित होस्।”
तब सबै मानिसहरूले भनून्, “आमेन!”
“कुनै निर्दोष व्यक्तिलाई मार्नका निम्ति घूस लिने मानिस श्रापित होस्।”
तब सबै मानिसहरूले भनून्, “आमेन!”
“यस व्यवस्थाको वचन पूरा रूपमा पालन गर्न नचाहने र समर्थन नगर्ने, जो कोही पनि श्रापित होस्।”
तब सबै मानिसहरूले भनून्, “आमेन!”
Biblica® Open Nepali Contemporary Version. Copyright © Biblica, Inc. Licensed under CC BY-SA 4.0. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-11-09.