Skip to content
BibleKenya

Biblica® Open Nepali Contemporary Version

दानिएल 12

अन्त्यको समय

“त्यस बेला तिम्रा जातिलाई रक्षा गर्ने प्रधान स्वर्गदूत मिखाएल खडा हुनेछन्। तब यस्तो सङ्कष्‍टको समय आउनेछ, कि जातिहरू सुरु भएदेखि त्यस बेलासम्म कहिल्यै आएको थिएन। तर त्यस बेला यस पुस्तकमा नाम लेखिएका तिम्रा सबै मानिस बचाइनेछन्। पृथ्वीको धुलोमा मरेर सुत्नेहरूका भीड उठ्नेछन्: केही अनन्त जीवनको निम्ति, अरू बाँकी मानिसहरूचाहिँ शर्म र अनन्त दण्डका निम्ति। जो बुद्धिमान् छन्, तिनीहरू दिनको आकाशजस्तै चम्कनेछन्, र धेरै मानिसहरूलाई धार्मिकतामा डोर्‍याउनेहरूचाहिँ रातको ताराहरूजस्तै सदासर्वदाका निम्ति चम्किरहनेछन्। तर हे दानिएल, तिमीले यस मुट्ठाका वचनहरूलाई अन्तको समयसम्मका निम्ति मोहोरछाप लगाएर बन्द गरेर राख। धेरै मानिसहरू ज्ञानको वृद्धि गर्नलाई यताउता जानेछन्।”

त्यसपछि म, दानिएलले मेरो सामु अरू दुई जना भएको देखेँ; एक जनाचाहिँ नदीको यतापट्टि र अर्कोचाहिँ उतापट्टिको किनारमा उभिएका थिए। तीमध्ये एक जनाले सुतीको लुगा लगाएर नदीको पानीमाथि उभिरहेका त्यस मानिसलाई भने, “यी अचम्मका दर्शनका कुराहरूको अन्त कहिले हुनेछ?”

सुतीको लुगा लगाएका मानिस, जो नदीका पानीहरूमाथि उभिएका थिए, तिनले आफ्नो दाहिने हात र देब्रे हात स्वर्गतिर उठाए; अनि तिनले सदा जीवित रहनुहुनेको नाममा शपथ खाँदै यसो भनिरहेका मैले सुनेँ, “यो एक समय, दुई समयहरू, र आधा समयको निम्ति हुनेछ। जब पवित्र जातिको शक्ति पूर्ण रूपमा अन्त्य हुनेछ, तब यी सबै कुराहरू पूरा हुनेछन्।”

म, दानिएलले स्वर्गदूतले भनेका कुराहरू सुनेँ, तर मैले बुझिनँ। यसकारण मैले सोधेँ, “मेरा प्रभु, यी सबै कुराको अन्तिम परिणाम के हुनेछ?”

तिनले जवाफ दिए, “दानिएल, तिमी आफ्नो बाटो लाग; किनकि यी वचनहरू अन्तिम समयसम्मका निम्ति मोहोरछाप लगाएर बन्द गरिएका छन्। धेरै जना शुद्ध पारिनेछन्, निष्खोट बनाइनेछन् र स्वच्छ हुनेछन्, तर दुष्‍टहरूले चाहिँ दुष्‍ट काम नै गर्नेछन्। दुष्‍टहरूमध्ये कसैले पनि बुझ्नेछैनन्, तर बुद्धिमान्‌हरूले चाहिँ बुझ्नेछन्।

“दैनिक बलिदान हटाइएको र उजाड पार्ने घृणित वस्तुहरू स्थापित गरिएको समयदेखि 1,290 दिनहरू हुनेछन्। धन्य हुन् तिनीहरू, जसले प्रतीक्षा गर्छन् र 1,335 दिनको अन्त्यसम्म विश्‍वासयोग्य रहन्छन्।

“तर तिमीचाहिँ आफ्नो अन्तिम समयसम्म दृढ भइरह। तिमीले विश्राम गर्नेछौ, र त्यसपछिका दिनहरूको अन्त्यमा तिमी आफ्नो तोकिएको उत्तराधिकार प्राप्‍त गर्न मृत अवस्थाबाट बौरी उठ्नेछौ।”

Biblica® Open Nepali Contemporary Version. Copyright © Biblica, Inc. Licensed under CC BY-SA 4.0. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.