Skip to content
BibleKenya

Biblica® Open Nepali Contemporary Version

आमोस 8

पाकेका फलको डालो

प्रभु याहवेहले मलाई यस्तो देखाउनुभयो: पाकेका फलको एउटा डालो। उहाँले मलाई सोध्नुभयो, “आमोस, तँ के देख्दैछस्?”

मैले जवाफ दिए, “पाकेको फलको एउटा डालो।”

त्यसपछि याहवेहले मलाई भन्‍नुभयो, “मेरा मानिस इस्राएलीहरूको समय पूरा भएको छ; म तिनीहरूलाई अब उसो छोड्नेछैनँ।”

प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, “त्यस दिन मन्दिरका गीतहरू विलापमा परिवर्तन हुनेछन्। जताततै लाशका थुप्रा हुनेछन्! सन्‍नाटा हुनेछ!”

खाँचोमा परेकाहरूलाई कुल्चनेहरू,

हे देशका गरिबहरूलाई त्याग्नेहरू हो, यो कुरा सुन।

तिमीहरू यसो भन्छौ,

“औँसीको दिन कहिले बित्छ

र हामी अन्‍न बेच्न सक्छौँ;

अनि शब्बाथ दिन कहिले समाप्‍त हुन्छ

र हामी गहुँ बेच्न सक्छौँ?”

अर्थात् नापतौलमा ठगेर,

मूल्य बढाएर

र छली ढक तराजु चलाएर ठग्न सक्छौँ;

गरिबलाई चाँदीले,

र खाँचोमा परेकालाई एक जोडी जुत्तामा किनेर

कसिङ्गर सरहको गहुँ बेच्न सक्छौँ।

याहवेह आफैँले याकोबको घमण्डको शपथ खानुभएको छ: “म तिनीहरूले गरेका हरेक कुराहरूलाई बिर्सनेछैनँ।

“के यसको निम्ति देश काम्दैन र?

अनि त्यहाँ बस्‍ने सबैले विलाप गर्दैनन् र?

सारा देश नील नदीझैँ उठ्नेछ;

इजिप्टको नदीझैँ

यो उर्लनेछ र घट्नेछ।”

प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, “त्यस दिन,

“म सूर्यलाई मध्यदिनमा नै अस्ताइदिनेछु,

र दिनको उज्यालोमा नै पृथ्वीलाई अन्धकार तुल्याइदिनेछु।

म तिमीहरूका धार्मिक चाडहरूलाई रुवाबासीमा

र तिमीहरूका सबै गीतहरू विलापमा परिवर्तन गरिदिनेछु।

म तिमीहरू सबैलाई भाङ्ग्राको कपडा पहिरन लगाउनेछु,

र तिमीहरूका कपाल खौरन लगाउनेछु।

म त्यस समयलाई एउटै छोराको निम्ति शोक गरेझैँ बनाइदिनेछु,

र त्यस दिनको अन्त्य सारै तितो हुनेछ।”

प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, “ती दिनहरू आउँदैछन्,

जब म देशमा अनिकाल पठाउनेछु;

तब अन्‍न अथवा पानीको तिर्खाको अनिकाल होइन,

तर याहवेहको वचन सुन्‍ने तिर्सनाको अनिकाल हुनेछ।

याहवेहको वचनको खोजी गर्दै मानिसहरू,

एक समुद्रदेखि अर्को समुद्रसम्म भौँतारिँदै हिँड्नेछन्;

अनि उत्तरदेखि पूर्वसम्म घुमिहिँड्नेछन्,

तर तिनीहरूले भेट्टाउनेछैनन्।”

त्यस दिन,

“सुन्दरी युवतीहरू र बलिया युवाहरू

तिर्खाले मूर्च्छा पर्नेछन्।

सामरियाको पापको शपथ खानेहरूले यसो भन्छन्,

‘तिम्रो देवता दानको जीवनको शपथ,’

‘बेर्शेबाको देवताको जीवनको शपथ,’

तिनीहरू सबै ढल्नेछन्, फेरि कहिल्यै उठ्न सक्नेछैनन्।”

Biblica® Open Nepali Contemporary Version. Copyright © Biblica, Inc. Licensed under CC BY-SA 4.0. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.