Biblica® Open Nepali Contemporary Version
1 इतिहास 20
रब्बा सहरको कब्जा
बसन्त ऋतुमा जब राजाहरू युद्ध गर्न निस्कन्थे, तब योआबले हतियारधारी दलहरूको नेतृत्व गरे। तिनले अम्मोनीहरूको देशलाई सखाप पारे। अनि रब्बा सहरमा गए, र त्यस सहरलाई घेरा हाले; तर दावीदचाहिँ यरूशलेममै बसे। योआबले रब्बामाथि आक्रमण गरेर त्यसलाई ध्वस्त पारे। दावीदले तिनीहरूका राजा1 मिल्कोमको शिरबाट मुकुट लिए, जसको तौल एक टालेन्ट2 सुन थियो, र त्यसमा बहुमूल्य पत्थरहरू जडिएका थिए; अनि त्यो मुकुट दावीदको शिरमा लगाइयो। तिनले त्यस सहरबाट धेरै मात्रामा लुटका मालसामानहरू ल्याए, अनि त्यहाँ भएका मानिसहरूलाई निकालेर ल्याए; तिनीहरूलाई आरा, फलामका हतियारहरू र बन्चरोका कामहरू गर्न लगाए। दावीदले अम्मोनीहरूका सबै नगरहरूसित यस्तै गरे। तब दावीद र तिनका सम्पूर्ण सेना यरूशलेममा फर्के।
पलिश्तीहरूसँग युद्ध
त्यसपछि गेजेरमा पलिश्तीहरूसँग लडाइँ भयो। त्यस बेला हूशातीमा बस्ने सिब्बकैले रपाईहरूको एउटा सन्तान सिप्पैलाई मारे, जसले गर्दा पलिश्तीहरू अधीनमा आए।
पलिश्तीहरूसँगको अर्को एउटा लडाइँमा याईरका छोरा एल्हानानले गित्ती गोल्यतको भाइ लहमीलाई मारे, जसको भालाको बिँड कपडा बुन्ने तानको डण्डाजस्तै थियो।
गातमा अझ अर्को लडाइँ भयो। त्यहाँ दुवै हातमा छ-छ वटा औँलाहरू र दुवै खुट्टामा छ-छ वटा औँलाहरू भएको, जम्मा चौबीस वटा औँलाहरू भएको भयङ्कर मानिस थियो। त्यो मानिस पनि रफाको सन्तान नै थियो। जब त्यसले इस्राएललाई खिसी गर्यो, तब दावीदका दाजु शिमेअका छोरा जोनाथनले त्यसलाई मारे।
यिनीहरू गातमा भएका रफाका सन्तानहरू थिए। तिनीहरू दावीद र तिनका सेनाहरूका हातबाट मारिए।
Source notes (2)
- Footnote तिनीहरूका देवता मोलेख हुन सक्छ।
- Footnote लगभग 34 किलो
Biblica® Open Nepali Contemporary Version. Copyright © Biblica, Inc. Licensed under CC BY-SA 4.0. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-11-09.