Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

मर्कूस 3

येशूले शब्बाथमा निको पार्नुभएको

अर्को पटक उहाँ सभाघरमा जानुभयो। त्यहाँ हात सुकेर नचल्ने भएको एक जना मानिस थियो। तिनीहरूमध्ये कोही मानिसले येशूलाई दोष लगाउन निहुँ खोजिरहेका थिए। त्यसैले तिनीहरू उहाँले शब्बाथ दिनमा त्यसलाई निको पार्नुहुन्छ कि भनेर नजिकबाट नियाली रहेका थिए। येशूले हात सुकेको त्यस मानिसलाई भन्‍नुभयो, “सबैको सामु खडा होऊ।”

तब येशूले तिनीहरूलाई सोध्नुभयो, “शब्बाथ दिनमा के गर्नु उचित हुन्छ: असल गर्नु वा खराब गर्नु, जीवन बचाउनु कि मार्नु?” तर तिनीहरू मौन रहे।

तिनीहरूका कठोर हृदय देखेर अति दुःखित भई उहाँले रिसाएर चारैतिर ती सबैलाई हेर्नुभयो; अनि त्यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात सीधा पार।” त्यसले सीधा पार्‍यो, र त्यसको हात पूर्ण रूपले निको भइहाल्यो। तुरुन्तै फरिसीहरू बाहिर गइहाले, र येशूलाई कसरी मार्ने भनेर राजा हेरोदका समर्थकहरूसँग षड्यन्त्र रच्न थाले।

भीडले येशूलाई पछ्याएका

येशू आफ्ना चेलाहरूसित तालतिर जानुभयो, र गालील प्रदेशबाट एउटा ठूलो भीड उहाँको पछि लाग्यो। जब उहाँले गरिरहनुभएका सबै कुराहरू तिनीहरूले सुने, तब यहूदिया, यरूशलेम, इदुमिआ, यर्दन पारिका क्षेत्रहरू, टायर र सीदोनका छेउछाउबाट अरू धेरै मानिसहरू उहाँकहाँ आए। भीडको कारण मानिसहरूले उहाँलाई चारैतिरबाट नघेरून् भनी आफ्ना निम्ति उहाँले चेलाहरूलाई एउटा सानो डुङ्गा तयार पार्न लाउनुभयो। उहाँले धेरैलाई निको पार्नुभएको कारण जति जना बिरामी थिए, तिनीहरू उहाँलाई छुनलाई ठेलमठेल गर्दै अगि बढ्दैथिए। अशुद्ध आत्माहरूले उहाँलाई देख्नासाथै तिनीहरू उहाँका अगि पछारिन्थे; अनि यसो भन्दै चिच्याउँथे, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ।” तर उहाँले ती निको भएकाहरूलाई उहाँ को हुनुहुन्छ भनी कसैलाई नभन्‍नू भनेर कडा आज्ञा दिनुभयो।

येशूले बाह्र प्रेरितहरूलाई नियुक्त गर्नुभएको

त्यसपछि येशू डाँडातिर जानुभयो, र उहाँले चाहनुभएका मानिसहरूलाई बोलाउनुभयो; अनि तिनीहरू उहाँकहाँ आए। तिनीहरू आफूसित रहून् र तिनीहरूलाई प्रचार गर्न बाहिर पठाउन सकियोस् भनी उहाँले बाह्र जनालाई नियुक्त गर्नुभयो, र तिनीहरूलाई भूतहरू धपाउने अधिकार दिनुभयो।

उहाँले नियुक्त गर्नुभएका बाह्र जना यिनीहरू नै हुन्:

सिमोन (जसलाई उहाँले पत्रुस भन्‍ने नाम दिनुभयो),

जब्दीको छोरा याकोब र तिनको भाइ यूहन्‍ना (तिनीहरूलाई उहाँले बोअनर्गेस भन्‍ने नाम दिनुभयो, अर्थात् “गर्जनका पुत्रहरू”),

अन्द्रियास,

फिलिप,

बारथोलोमाइ,

मत्ती,

थोमा,

अल्फयसको छोरा याकोब,

थेदियस,

सिमोन कनानी,

र यहूदा इस्करियोत जसले उहाँलाई धोका दियो।

येशूलाई आफन्त र व्यवस्थाका शिक्षकहरूको आरोप

जब येशू एउटा घरमा पस्‍नुभयो, फेरि एउटा भीड जम्मा भयो। त्यसैले उहाँ र उहाँका चेलाहरूले खान पनि पाउनुभएन। जब उहाँका परिवारले यस विषयमा सुने, तिनीहरू उहाँलाई लैजान भनी गए; किनकि तिनीहरूले “उहाँको दिमाग खुस्केको छ” भनी भन्थे।

यरूशलेमबाट आएका व्यवस्थाका शिक्षकहरूले भने, “यिनमा बालजिबुल छ! भूतहरूको शासकको सहायताले यिनले भूतहरू धपाउँछन्।”

यसकारण येशूले तिनीहरूलाई बोलाएर दृष्‍टान्तहरूमा भन्‍नुभयो, “शैतानले शैतानलाई कसरी धपाउन सक्छ? यदि कुनै राज्य आफ्नै विरुद्धमा विभाजित भयो भने त्यो राज्य टिक्न सक्दैन। कुनै घर आफ्नै विरुद्धमा विभाजित भयो भने त्यो घर टिक्न सक्दैन। यदि शैतानले शैतानलाई विरोध गर्छ र विभाजित हुन्छ भने त्यो टिक्न सक्दैन; त्यसको अन्त्य आइसकेको छ। वास्तवमा बलियो मानिसको घरमा पस्‍नुभन्दा पहिले उसलाई नबाँधि कसैले पनि उसको घरको धनमाल लुट्न सक्दैन। त्यसलाई बाँधेपछि मात्र त्यसले उसको घर लुट्न सक्छ। म तिमीहरूलाई साँच्‍चै भन्दछु, मानिसहरूका सबै पापहरू साथै हरेक निन्दाहरू तिनीहरूका लागि क्षमा हुनेछन्, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्छ, उसलाई कहिल्यै क्षमा हुनेछैन; ऊ अनन्तसम्म पापको दोषी हुन्छ।”

उहाँले यसो भन्‍नुभएको कारणचाहिँ तिनीहरूले उहाँलाई “यिनीसित अशुद्ध आत्मा छ” भनेका थिए।

तब येशूकी आमा र भाइहरू आइपुगे। तिनीहरू बाहिर उभिएर उहाँलाई बोलाइदिनु भनेर कसैलाई भित्र पठाए। उहाँको चारैतिर भीड बसिरहेको थियो; अनि तिनीहरूले उहाँलाई भने, “तपाईंकी आमा र भाइहरूले तपाईंलाई बाहिर खोजिरहेका छन्।”

उहाँले भन्‍नुभयो, “मेरी आमा र मेरा भाइहरू को हुन्?”

तब उहाँले आफ्ना चारैतिर बसेकाहरूलाई हेरेर भन्‍नुभयो, “मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन्! जसले परमेश्‍वरको इच्छा पालन गर्दछन्, ती नै मेरा भाइ र बहिनी र आमा हुन्।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.