Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

लेवी 13

छालाका रोगसम्बन्धी विधि

याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो, “जब कुनै मानिसको छाला सुनियो, अथवा त्यसमा फुस्रो दाद देखियो; अथवा चहकिलो दाग देखा पर्‍यो, र छालामा कुष्‍ठरोगको1 संक्रमण भयो भने त्यसलाई पुजारी हारून अथवा उसका पुजारी छोराहरूमध्ये एक जनाकहाँ ल्याइयोस्। त्यस पुजारीले त्यसको छालाको घाउ हेरोस्। यदि त्यस घाउको रौँ सेतो भएको छ, र त्यो घाउ छालाभन्दा गहिरो देखिन्छ भने त्यो कुष्‍ठरोगको संक्रमण हो। पुजारीले त्यसलाई जाँचेपछि त्यसले उसलाई विधिपूर्वक अशुद्ध भनी घोषणा गरोस्! त्यसको छालाको दाग सेतो छ, तर छालाभन्दा गहिरो देखिँदैन र त्यसमा भएको रौँ सेतो भएको छैन भने पुजारीले त्यस्ता रोग लागेको व्यक्तिलाई सात दिनसम्म अलग्गै राखोस्। सातौँ दिनमा पुजारीले त्यसलाई जाँच गर्दा, त्यो घाउ बदली नभएको अथवा छालामा फैलिएको देखिएन भने त्यसले उसलाई अर्को सात दिनसम्म अलग्गै राखोस्। सातौँ दिनमा पुजारीले त्यसलाई फेरि जाँच गर्दा त्यो घाउ मत्थर भएको छ, तर छालामा फैलिएको छैन भने पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्! त्यो एउटा दाग मात्र हो। त्यस मानिसले आफ्ना लुगाहरू धोओस्, तब त्यो शुद्ध हुनेछ। तर शुद्ध ठहरिनलाई त्यसले आफूलाई पुजारीकहाँ देखाइसकेपछि यदि त्यो खस्रोपन छालामा फैलिएको छ भने त्यो फेरि पुजारीको सामु देखा पर्नुपर्छ। पुजारीले त्यसलाई जाँच गर्दा, त्यो दाग छालामा फैलिएको छ भने उसले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्; यो कुष्‍ठरोग हो।

“जब कुनै मानिसलाई कुष्‍ठरोगको संक्रमण छ भने त्यसलाई पुजारीकहाँ ल्याइयोस्। पुजारीले त्यसलाई जाँच गर्दा, यदि छाला सुनिएर सेतो भएको छ, र त्यस ठाउँको रौँ पनि सेतो भएको छ, र यसमा आलो घाउ छ भने, त्यो छालाको एउटा दीर्घकालीन रोग हो। पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्! अनि त्यसलाई अलग्गै नराखोस्। किनकि त्यो पहिलेबाटै अशुद्ध भइसकेको छ।

“यदि त्यो कुष्‍ठरोग त्यस रोगीको सम्पूर्ण छालामा शिरदेखि खुट्टासम्म ढाकेर फैलिएको पुजारीले देख्न सक्छ भने पुजारीले त्यसलाई जाँच गर्दा, कुष्‍ठरोगले त्यसको सम्पूर्ण शरीर ढाकेको छ भने उसले त्यस व्यक्तिलाई शुद्ध भनी घोषणा गरोस्! त्यो सम्पूर्ण सेतो भइसकेकोले त्यो शुद्ध छ। तर त्यसमा आलो घाउ देखा पर्‍यो भने त्यो अशुद्ध हुनेछ। पुजारीले आलो घाउ देखेपछि त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। यो आलो मासु अशुद्ध हो; त्यो कुष्‍ठरोग हो। त्यो आलो घाउ बदलिएर सेतो भयो भने त्यो मानिस पुजारीकहाँ जाओस्। पुजारीले त्यसलाई जाँच गर्दा, घाउहरू सेता भएका छन् भने पुजारीले त्यस रोगीलाई शुद्ध भनी घोषणा गरोस्; तब त्यो शुद्ध हुनेछ।

“कसैको छालामा पिलो निस्केर निको भयो, र पिलो भएको ठाउँमा सेतो सुनिएको अथवा रातो-सेतो किसिमको दाग देखा पर्‍यो भने त्यो मानिस पुजारीकहाँ जाओस्। पुजारीले त्यो जाँच गरोस्। अनि त्यो छालाभन्दा गहिरो देखा पर्‍यो र त्यसका रौँहरू सेता भएका छन् भने पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। त्यो कुष्‍ठरोगको संक्रमण हो, जुन त्यो पिलो भएको ठाउँमा उब्जिएको हो। तर पुजारीले त्यसलाई जाँच गर्दा, यदि त्यसमा सेता रौँ छैनन्, र छालाभन्दा गहिरो छैन, तर मत्थर भएको छ भने पुजारीले त्यसलाई सात दिनसम्म अलग्गै राखोस्। छालामा त्यो फैलिएको छ भने पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। त्यो कुष्‍ठरोग संक्रमण हो। तर दाग बदली भएको छ, र फैलिएको छैन भने त्यो पिलोबाट भएको एउटा दाग मात्र हो। पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्।

“कसैको छाला जलेको छ, र रातो-सेतो किसिमको अथवा सेतो दाग जलेको ठाउँको आलो मासुमा देखियो भने, पुजारीले त्यस ठाउँलाई जाँच गरोस्। अनि त्यसका रौँहरू सेता भएका छन्, र त्यो छालाभन्दा गहिरो देखिन्छ भने त्यो जलेको ठाउँबाट निस्केको कुष्‍ठरोग संक्रमण हो। पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। त्यो कुष्‍ठरोगको संक्रमण हो। तर पुजारीले त्यसलाई जाँच गर्दा, त्यस ठाउँमा सेता रौँहरू छैनन्, र त्यो छालाभन्दा गहिरो छैन, तर त्यो मत्थर भएको छ भने पुजारीले त्यसलाई सात दिनसम्म अलग्गै राखोस्। सातौँ दिनमा जाँच गर्दा, त्यो रोग छालामा फैलिएको छ भने पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। यो कुष्‍ठरोगको संक्रमण हो। तरै पनि यदि त्यो दाग बदलिएको छैन, र छालामा फैलिएको छैन; तर मत्थर भएको छ भने त्यो जलेको कारणले सुनिएको हो। अनि पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्। त्यो केवल जलेको घाउबाट भएको दाग हो।

“कुनै पुरुष अथवा स्त्रीको शिरमा अथवा च्यापुमा घाउ छ भने, पुजारीले त्यस घाउलाई जाँच गर्दा, त्यो छालाभन्दा गहिरो देखिन्छ, र त्यसमा भएका रौँहरू पहेँला र पातला छन् भने पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। त्यो टाउको तथा चिउँडोको लुतो हो। तर यदि पुजारीले यस्ता किसिमको घाउ जाँच गर्दा, त्यो छालाभन्दा गहिरो देखिँदैन। साथै त्यसमा कुनै काला रौँहरू छैनन् भने पुजारीले त्यस व्यक्तिलाई सात दिनसम्म अलग्गै राखोस्। सातौँ दिनमा पुजारीले त्यस घाउलाई जाँच गर्दा, यदि त्यो लुतो फैलिएको छैन, र त्यसमा कुनै पहेँला रौँहरू छैनन्, र त्यो छालाभन्दा गहिरो देखिँदैन भने, त्यो घाउ भएको ठाउँलाई छोडेर त्यसले आफ्नो शिर खौरोस्, चिउँडो होइन। अनि पुजारीले त्यसलाई अर्को सात दिनसम्म अलग्गै राखोस्। सातौँ दिनमा पुजारीले त्यस लुतोलाई जाँच गर्दा, यदि त्यो छालामा फैलिएको छैन, र त्यो छालाभन्दा गहिरो छैन भने पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्। त्यसले आफ्नो लुगा धोओस्, र त्यो विधिपूर्वक शुद्ध हुनेछ। तर त्यो शुद्ध ठहरिएपछि पनि त्यो लुतो छालामा फैलियो भने, पुजारीले त्यसलाई जाँच गर्दा, यदि लुतो छालामा फैलिएको छ भने पुजारीलाई पहेँला रौँ हेर्न आवश्यक छैन; त्यो व्यक्ति अशुद्ध हो। तरै पनि उसको जाँचअनुसार त्यो बदलिएको छैन, र त्यसमा काला रौँ उम्रेका छन् भने त्यो लुतो निको भएको छ; त्यो शुद्ध हो, र पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्।

“कुनै पुरुष अथवा स्त्रीको छालामा सेतो दाग हुँदा, पुजारीले तिनीहरूलाई जाँच गर्दा, यदि ती दागहरू हल्का सेता छन् भने त्यो हानि नगर्ने छालारोग हो, जुन छालामा उब्जिएको छ; त्यो मानिस शुद्ध हो।

“कुनै मानिसको कपाल पूरै झरेर शिर खुइलेको छ भने त्यो शुद्ध नै हो। त्यसको कपाल त्यसको टाउकाको अगिल्तिर खुइलिएकोले, त्यसको निधार खुइलिएको छ भने त्यो शुद्ध हो। तर त्यसको तालु अथवा खुइलिएको निधारमा रातो-सेतो किसिमको घाउ छ भने त्यो त्यसको शिर अथवा निधारबाट उब्जिएको कुष्‍ठरोग संक्रमण हो। पुजारीले त्यसलाई जाँचोस्, र त्यसका शिर अथवा निधारमा भएको त्यसको सुनिएको घाउ कुष्‍ठरोगझैँ रातो-सेतो किसिमको छ भने, त्यो मानिस कुष्‍ठरोगी र अशुद्ध हो। त्यसको शिरमा भएको घाउको कारण पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्।

“यस्तो रोगको संक्रमित व्यक्तिले च्यातिएको लुगा लगाउनुपर्छ। त्यसको कपाल नकोरिएको हुनुपर्छ।2 त्यसले आफ्नो अनुहारको तल्‍लो भाग छोपेर ‘अशुद्ध! अशुद्ध!’ भनी कराओस्। त्यो संक्रमण त्यसमा रहेसम्म, त्यो अशुद्ध रहनेछ। त्यो एकलै बस्‍नुपर्छ; त्यो छाउनीदेखि बाहिर बसोस्।

ढुसीबारे नियमहरू

“कुनै लुगा ढुसी परेको छ—चाहे त्यो ऊनी होस्, अथवा सुती, ऊनका अथवा कपासका तुनेर वा बुनेर बनाइएका सामग्री, छालाका वा छालाले बनिएका कुनै चीज— यदि लुगा, छाला अथवा तुनेका वा बुनेका सामग्री अथवा छालाका कुनै सामग्रीमा भएका दूषित कुरा हरियो किसिमको अथवा रातो किसिमको छ भने त्यो फैलँदै गरेको ढुसी हो। अनि त्यसलाई पुजारीकहाँ देखाइयोस्। पुजारीले त्यस ढुसीलाई जाँच गर्दा, त्यो दाग लागेको चीजलाई सात दिनसम्म अलग्गै राखोस्। सातौँ दिनमा उसले त्यो जाँच गर्दा, यदि त्यो ढुसी लुगामा अथवा तुनेका वा बुनेका कुरोमा वा कुनै काममा प्रयोग गरिने छालामा फैलिएको छ भने त्यो खतरनाक ढुसी हो; अनि त्यो चीज अशुद्ध छ। त्यसले ढुसी परेका लुगा अथवा तुनेका अथवा बुनेका ऊनी वा सुती सामग्री अथवा छालाका कुनै पनि चीजलाई जलाइदेओस्। किनकि त्यो कुहाउने ढुसी हुनाले, त्यो चीज जलाइनुपर्छ।

“तर यदि पुजारीले जाँच गर्दा ढुसी तुनेका वा बुनेका लुगामा अथवा छालाका चीजमा फैलिएको छैन भने, उसले त्यो ढुसी परेको चीजलाई धुने आज्ञा देओस्। त्यसपछि त्यसलाई अर्को सात दिनसम्म त्यसले अलग्गै राखोस्। त्यो संक्रमित लुगालाई धोइएपछि पुजारीले त्यसलाई पुनः जाँचोस्। अनि ढुसी फैलिएको छैन र त्यसको रूप बदलिएको छैन भने त्यो अशुद्ध हो। ढुसीले भित्री वा बाहिरी भाग असर पारेको भए तापनि त्यसलाई आगोले जलाइदिनू। यदि पुजारीले त्यसलाई जाँच गर्दा त्यो लुगा धोइएपछि ढुसी हराउँदैगएको छ भने त्यसले त्यो फोहोर लागेको भागलाई त्यस लुगा वा छाला अथवा बुनेका चीजबाट च्यातिदेओस्। तर यदि ढुसी लुगामा वा तुनेको अथवा बुनेका चीजमा अथवा छालाको चीजमा फेरि देखा पर्‍यो भने त्यो फैलिरहेको छ। अनि ढुसी परेको जुनसुकै कुरा पनि आगोद्वारा जलाइनुपर्छ। धोएर ढुसीरहित बनाइएका लुगा, तुनेका वा बुनेका चीज वा छालाका कुनै चीजलाई फेरि धोइयोस्, र त्यो शुद्ध हुनेछ।”

ऊनी अथवा सुती लुगाहरू, तुनेका वा बुनेका चीजहरू अथवा छालाका कुनै चीजलाई ढुसीले दूषित पारेको विषयमा शुद्ध अथवा अशुद्ध भनी ठहराउनलाई यिनै विधिहरू हुन्।

Source notes (2)
  1. Footnote हिब्रू शब्द कुष्‍ठरोग छालालाई असर गर्ने विभिन्‍न रोगको लागि प्रयोग गरिन्थ्यो।
  2. Footnote अथवा शिर नढाकेको हुनुपर्छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.