Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

विलाप 3

याहवेहको क्रोधको लाठोद्वारा

दुःख भोग्ने मानिस म नै हुँ।

उहाँले मलाई खेद्नुभयो, र उज्यालोको सट्टा

अन्धकारमा हिँड्न लगाउनुभएको छ;

वास्तवमा उहाँले आफ्नो हात

दिनभरि नै घरी-घरी मेरो विरुद्धमा उठाउनुभएको छ।

उहाँले मेरो छाला र मासु धुजा-धुजा पारिदिनुभएको छ;

अनि मेरा हड्डीहरू भाँचिदिनुभएको छ।

उहाँले मलाई तितोपना र कष्‍टले

चारैतिर घेरेर कब्जामा पार्नुभएको छ।

उहाँले मलाई धेरै अगि मरेकाहरूलाईझैँ

अन्धकारमा राख्नुभएको छ।

म भाग्न नसकूँ भनेर उहाँले मेरो चारैतिर पर्खालले घेर्नुभएको छ;

उहाँले मलाई गह्रौँ साङ्लाले बाँध्नुभएको छ।

मैले उहाँलाई सहायताको निम्ति पुकार्दा र रुँदा पनि

उहाँले मेरो प्रार्थनालाई इन्कार गर्नुभयो।

उहाँले ठूला-ठूला ढुङ्गाले मेरो बाटो थुनिदिनुभएको छ;

उहाँले मेरो बाटो बाङ्गो-टिङ्गो बनाइदिनुभएको छ।

आक्रमण गर्नलाई ढुकिरहेको भालुजस्तै

र लुकिरहेको सिंहले जस्तै

उहाँले मलाई बाटोबाट घिसारेर लैजानुभयो,

र उहाँले मलाई टुक्रा-टुक्रा पार्नुभयो र सहाराहीन तुल्याउनुभयो।

उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो,

र मलाई नै उहाँको काँडको निसाना बनाउनुभयो।

उहाँले आफ्नो ठोक्रोको काँडले

मेरो मुटु छेडिदिनुभयो।

म सबै मानिसहरूको हाँसोको पात्र भएको छु;

दिनभरि नै म तिनीहरूको गिल्‍लाको गीत भएको छु।

उहाँले मलाई तितो जडीबुटीले भरिदिनुभयो

र पित्त पिउन दिनुभयो।

उहाँले रोडा चपाउन लगाएर मेरा दाँतहरू भाँचिदिनुभयो;

उहाँले मलाई धुलोमा कुल्चीमिल्ची गर्नुभयो।

मेरो आत्माबाट शान्ति खोसिएको छ;

सुख के हो, त्यो मैले बिर्सिसकेको छु।

यसकारण म भन्दछु, “मेरो गौरव

र मैले याहवेहबाट गरेको आशा टुटिसकेको छ।”

म मेरो कष्‍ट र मेरो घरविहीनको अवस्था,

तितोपन र पित्तको स्मरण गर्दछु।

म तिनीहरूलाई राम्ररी स्मरण गर्दछु,

र मेरो आत्मा मभित्र हताश हुन्छ।

तर पनि जब म यो कुरा स्मरण गर्दछु,

तब यसैले मलाई आशा दिन्छ:

याहवेहको महान् प्रेमको कारण हामी भस्म भएका छैनौँ;

किनकि उहाँको कृपाको अन्त्य कहिल्यै हुँदैन।

हरेक बिहान ती नयाँ भएर आउँछन्;

तपाईंको विश्‍वसनीयता महान् छ।

म आफूलाई भन्दछु, “याहवेह मेरो सर्वस्व हुनुहुन्छ;

यसैकारण म उहाँको प्रतीक्षा गर्नेछु।”

याहवेहमा आशा राख्नेहरू

र उहाँको खोजी गर्नेहरूसँग उहाँ भलो हुनुहुन्छ;

याहवेहको उद्धारका निम्ति

चुपचाप प्रतीक्षा गर्नु असल कुरा हो।

आफ्नो जवान अवस्थामा नै जुवा बोक्नु

मानिसका निम्ति असल हुन्छ।

त्यो एकलै शान्त भएर बसोस्;

किनकि याहवेहले त्यसलाई जुवा बोकाउनुभएको छ।

त्यसले आफ्नो मुख भुइँसम्म झुकाओस्,

अझै पनि त्यसमा आशा होस्।

उसलाई प्रहार गर्नेलाई त्यसले आफ्नो गाला थापिदिओस्;

अनि त्यसले अपमान गिल्‍ला सहँदै रहोस्।

किनकि प्रभुले

मानिसलाई सधैँभरिको निम्ति कहिल्यै पनि त्याग्नुहुनेछैन।

उहाँले दुःख दिनुभए तापनि उहाँले कृपा देखाउनुहुन्छ;

किनकि उहाँको अटुट प्रेम अति महान् छ।

किनकि उहाँले स्वइच्छाले

कसैमाथि पनि दुःख वा कष्‍ट दिनुहुन्‍न।

यहूदा देशका सबै कैदीहरूलाई

पैतालामुनि कुल्चँदा,

सर्वोच्‍च परमेश्‍वरको सामु

मानिसको अधिकार खोसिँदा,

र तिनीहरूले न्याय नपाउँदा

के यी सबै कुराहरू प्रभुले देख्न सक्नुहुन्‍न र?

प्रभुले आज्ञा गर्नुभएन भने

कसले पो बोलेको कुरा पूरा गर्न सक्छ?

के सर्वोच्‍चका मुखबाट नै

विपत्ति र असल कुरा दुवै आउँदैनन् र?

जीवित मानिसले आफ्ना पापको

दण्ड पाउँदा किन गनगन गर्नु?

हामीले हाम्रा चालहरू जाँच गरेर हेरौँ,

र हामी याहवेहतिर फर्कौँ।

हामी हाम्रा हात र हृदय स्वर्गका

परमेश्‍वरतिर उचालौँ र भनौँ:

“हामीले पाप गरेका छौँ र विद्रोह गरेका छौँ,

अनि तपाईंले क्षमा गर्नुभएको छैन।

“तपाईं क्रोधले भरिनुभयो र हामीलाई खेद्नुभयो;

तपाईंले हामीलाई निर्दयतापूर्वक मार्नुभयो।

तपाईंले आफैँलाई बादलले ढाक्नुभएको छ,

ताकि तपाईंकहाँ कुनै पनि प्रार्थना नपुगोस्।

तपाईंले हामीलाई राष्ट्रहरूका बीचमा

फोहोर-कसिङ्गरको थुप्रोझैँ बनाउनुभएको छ।

“हाम्रा सबै शत्रुहरूले

ठूलो मुख खोलेर हाम्रा विरुद्धमा बोलेका छन्।

हामीले त्रास र खतराको पासो,

नाश र विनाशको कष्‍ट भोगेका छौँ।”

मेरा आँखाबाट आँसुका धारा निरन्तर बग्दछन्;

किनकि मेरा मानिसहरू सर्वनाश भएका छन्।

मेरा आँखाबाट आँसु नरोकी,

निरन्तर बगिरहनेछ,

जबसम्म याहवेहले स्वर्गबाट

तल हेर्नुहुन्‍न र देख्नुहुन्‍न।

मैले देखेको कुराले मलाई शोकित बनाउँदछ;

किनकि म मेरो सहरका सबै स्त्रीहरूको दुर्दशा देख्छु।

मेरा शत्रुहरूले विनाकारण

मलाई चरालाई झैँ शिकार गरिहिँडे।

तिनीहरूले एउटा खाडलमा मेरो जीवनको

अन्त्य गर्न खोजे र मलाई ढुङ्गाले हाने;

पानी मेरो टाउकोसम्म नै आइपुग्यो;

तब मैले सोचेँ कि अब मेरो अन्त्य आइपुग्यो।

हे याहवेह, मैले खाडलको गहिराइबाट,

तपाईंको नाममा पुकारेँ।

तपाईंले मेरो बिन्ती सुन्‍नुभयो: “छुटकाराको मेरो पुकारप्रति

आफ्नो कान बन्द नगर्नुहोस्!”

मैले पुकारेको दिनमा तपाईं मेरो छेउमा आउनुभयो,

र तपाईंले भन्‍नुभयो, “नडरा!”

हे प्रभु, तपाईंले मेरो मुद्दाहरू लिएर लड्नुभयो;

र तपाईंले मेरो जीवनको उद्धार गर्नुभयो।

हे याहवेह, तपाईंले ममाथि भएको अत्याचार देख्नुभएको छ।

मेरो न्याय गरिदिनुहोस्!

तिनीहरूले मसित लिएको बदलाको गहिराइ

र मेरो विरुद्धमा गरेका सबै युक्तिहरू देख्नुभएको छ।

हे याहवेह, तिनीहरूले ममाथि गरेका अपमान

र तिनीहरूका सबै युक्तिहरू तपाईंले सुन्‍नुभएको छ;

मेरा शत्रुहरूले दिनभरि

मेरो विरुद्धमा गरेका कानेखुसी र गनगनलाई सुन्‍नुभएको छ।

तिनीहरूको उठाइ र बसाइ हेर्नुहोस्!

तिनीहरू गीत गाएर मेरो गिल्‍ला गर्दछन्।

हे याहवेह, तिनीहरूका हातले जे गरेका छन्,

तिनीहरूले पाउनुपर्ने उचित दण्ड तिनीहरूलाई दिनुहोस्।

तिनीहरूका हृदयमा पर्दा लगाइदिनुहोस्;

अनि तपाईंको श्राप तिनीहरूमाथि परोस्!

हे याहवेह, आफ्नो रिसमा तिनीहरूलाई खेद्नुहोस्,

र तपाईंको स्वर्गमुनिबाट नाश गर्नुहोस्!

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.