Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

उत्पत्ति 38

यहूदा र तामार

त्यस समयमा यहूदा आफ्ना दाजुभाइहरूलाई छोडेर हीरा नाम भएको अदुल्‍लामबासीका एक जना मानिसकहाँ बस्‍नलाई गए। त्यहाँ यहूदाले शूआ नाम भएको एक कनानी मानिसकी छोरीलाई भेटे। तिनले उनलाई विवाह गरे, र उनीसँग सहवास गरे; अनि उनी गर्भवती भइन् र एउटा छोरा जन्माइन्; जसको नाम एर् राखियो। उनी फेरि गर्भवती भइन्, र अर्को छोरा जन्माइन्; अनि त्यसको नाम ओनान राखिन्। उनले अर्को छोरा पनि जन्माइन्; अनि त्यसको नाम शेलह राखिन्। उनले उसलाई तिनी कजीबमा हुँदा जन्माइन्।

यहूदाले आफ्नो जेठा छोरा, एर्‌का लागि एउटी पत्नी ल्याइदिए, जसको नाम तामार थियो। तर यहूदाका जेठा छोरा एर् याहवेहको दृष्‍टिमा दुष्‍ट थिए; यसकारण याहवेहले त्यसको प्राण लिनुभयो।

तब यहूदाले ओनानलाई भने, “तेरी भाउजूकहाँ जा, र देवरले गर्नुपर्ने कर्तव्य पूरा गर्; अनि तेरा दाजुका निम्ति सन्तान उत्पन्‍न गर्।” तर ओनानले यो थाहा पाए कि त्यो सन्तान तिनको आफ्नो हुनेछैन; यसकारण जहिले-जहिले तिनी भाउजूकहाँ सुत्न गए, तिनले दाजुको निम्ति सन्तान नहोस् भन्‍नको लागि आफ्नो वीर्यचाहिँ भुइँमा खसाले। तिनले जे गरे, त्यो याहवेहको दृष्‍टिमा दुष्‍ट थियो; यसकारण उहाँले तिनलाई पनि नष्‍ट गर्नुभयो।

त्यसपछि यहूदाले आफ्नी बुहारी तामारलाई भने, “मेरो छोरा शेलह ठूलो नभएसम्म तिमी आफ्ना पिताको घरमा विधवा भई बस।” किनकि तिनका दाजुहरूजस्तै शेलहको पनि मृत्यु होला भनेर तिनले सोचेका थिए। यसकारण तामार आफ्ना पिताको घरमा बस्‍नलाई गइन्।

धेरै समयपछि शूआकी छोरी, यहूदाकी पत्नी मरिन्। जब यहूदा आफ्नो शोकबाट उत्रिए, तब उनी आफ्ना मित्र अदुल्‍लामबासी हीरासँग तिम्नामा मानिसहरूले उनका भेडाहरूको ऊन कत्रने ठाउँमा गए।

जब तिम्रा ससुरा आफ्ना भेडाहरूको ऊन कत्रनलाई तिम्नातिर आउँदैछन् भनेर तामारलाई बताइयो, तिनले आफ्नो विधवाको पोशाक फुकालिन्, र आफूलाई नचिन्‍ने बनाउनको लागि आफूलाई घुम्टोले छोपिन्, र तिम्ना जाने बाटोमा भएको एनैमको प्रवेशद्वारमा बसिन्; किनकि शेलह ठूलो भइसकेपछि पनि त्यसकी पत्नी हुन नदिइएको तिनले देखिन्।

जब यहूदाले तिनलाई देखे, तिनले अनुहार छोपेकी हुनाले उनले तिनलाई वेश्या भनी ठाने। आफ्नै बुहारी हो भनी उनले थाहा नपाएर तिनी बाटोको किनारमा गएर तिनलाई भने, “मसँग आऊ, र मलाई तिमीसित सुत्न देऊ।”

“तपाईंसँग सुतेँ भने मलाई के दिनुहुन्छ?” तिनले सोधिन्।

उनले भने, “म मेरा भेडाका बथानबाट तिमीलाई एउटा पाठो पठाइदिनेछु।”

तिनले सोधिन्, “तपाईंले त्यो नपठाउन्जेल मलाई बन्धकको रूपमा केही कुरा दिनुहुन्छ?”

यहूदाले भने, “म तिमीलाई के बन्धक दिऊँ?”

तिनले जवाफ दिइन्, “तपाईंको छाप भएको औँठी, त्यसको डोरी र तपाईंको हातमा भएको त्यो लहुरो राखे हुन्छ।” यसकारण उनले ती कुराहरू तिनलाई दिए, र तिनीसित सुते; अनि उनीद्वारा तिनी गर्भवती भइन्। त्यसपछि तिनी आफ्नो घर गइन्, र आफ्नो घुम्टो फुकालेर फेरि आफ्नो विधवाको वस्त्र लगाइन्।

त्यसपछि त्यस स्त्रीबाट आफ्नो बन्धक फिर्ता गराउनलाई यहूदाले आफ्नो अदुल्‍लामबासी हिराद्वारा एउटा कलिलो पाठो त्यस स्त्रीकहाँ पठाए, तर उनले तिनलाई भेट्टाउन सकेनन्। उनले त्यहाँ बस्‍ने मानिसहरूलाई “एनैम देवस्थानमा बस्‍ने देवदासी कहाँ छे?” भनी सोधे।

तिनीहरूले भने, “यहाँ त देवस्थानमा बस्‍ने कुनै देवदासी छैन।”

यसकारण उनी यहूदाकहाँ फर्किगएर भने, “मैले तिनलाई भेट्टाइनँ। त्यस ठाउँका मानिसहरूले पनि, ‘यहाँ देवस्थानमा बस्‍ने कुनै देवदासी छैन’ भने।”

तब यहूदाले भने, “त्यससित जे छन्, ती आफूसितै राखोस्, नत्रता हामी हाँसोको पात्र हुनेछौँ। जे भए तापनि मैले त्यसलाई यो कलिलो पाठो पठाएकै हुँ, तर तिमीले त्यसलाई भेट्टाएनौ।”

प्रायः तीन महिनापछि यहूदालाई “तपाईंकी बुहारी तामार वेश्यावृत्तिको दोषी ठहरिएकी छिन्; अनि त्यसको फलस्वरूप तिनी अहिले गर्भवती भएकी छिन्” भनियो।

यहूदाले भने, “तिनलाई बाहिर निकाल र जलाएर मारिदेओ!”

तिनलाई जब बाहिर निकाल्न लागे, तब तिनले आफ्ना ससुरालाई एउटा खबर पठाइन्। “यी सामानहरू जसका हुन्, तिनैद्वारा म गर्भवती भएकी हुँ,” तिनले भनिन्। अनि तिनले अझ थपेर भनिन्, “तपाईंले यो छाप-औँठी, डोरी, र लहुरो कसका हुन् भनी चिन्‍न सक्नुहुन्छ कि?”

यहूदाले ती कुराहरू चिनेर भने, “तिनी त मभन्दा धर्मी रहिछिन्; किनकि मैले तिनलाई आफ्नो छोरो शेलह तिनका पति हुनलाई दिइनँ।” अनि उनी तिनीसित फेरि सुतेनन्।

जब तिनको सुत्केरी हुने समय आयो, तिनका गर्भमा जुम्ल्याहा छोराहरू थिए। जब तिनी प्रसव-वेदनामा थिइन्, तीमध्ये एउटाले आफ्नो हात बाहिर निकाल्यो; यसकारण सुँडेनीले एउटा रातो डोरी लिएर त्यसको नाडीमा बाँधिदिइन् र भनिन्, “पहिले निस्केको यही हो।” तर जब त्यसले आफ्नो हात फेरि भित्र तान्यो, त्यसको भाइचाहिँ बाहिर निस्क्यो; अनि तिनले भनिन्, “तँ यसरी आउनमा सफल भइस्!” अनि त्यसको नाम पेरेस1 राखियो। तब आफ्नो नाडीमा रातो डोरी लिएको त्यसको भाइ बाहिर आयो र त्यसको नाम जेरह2 राखियो।

Source notes (2)
  1. Footnote पेरेस जसको अर्थ तोड्दै बाहिर आउनु।
  2. Footnote जेरह यसको अर्थ रातो अथवा चमकदार।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.