Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

2 शमूएल 13

अमनोन र तामार

समय बित्दै गएपछि यस्तो भयो: दावीदका छोरा अमनोन तामारसँग प्रेममा फसे। तिनी दावीदका अर्का छोरा अब्शालोमकी सुन्दरी बहिनी थिइन्।

अमनोन आफ्नी बहिनी तामारको कारण यति साह्रो व्याकुल भए, कि उनी बिरामी नै भए; किनभने तामार कन्या थिइन्; अनि तिनलाई केही गर्न अमनोनलाई सम्भव थिएन।

तर अमनोनको योनादाब नामको एक जना साथी थिए, जो दावीदको भाइ शिमाहका छोरा थिए। योनादाब अत्यन्तै चतुर मानिस थिए। उनले अमनोनलाई सोधे, “तिमी राजाको छोरा भएर पनि किन दिनदिनै दुब्लाउँदै गएका देखिन्छौ? किन मलाई केही भन्दैनौ?”

अमनोनले तिनलाई भने, “म मेरो भाइ अब्शालोमकी बहिनी तामारको प्रेममा परेको छु।”

योनादाबले भने, “ओछ्यानमा जाऊ, र बिरामी भएको बहाना गर। जब तिम्रा पिता तिमीलाई हेर्न आउनेछन्, तब उहाँलाई यसो भन्‍नू, ‘मेरी बहिनी तामारले आएर मलाई केही खानेकुरा दिएको चाहन्छु। तिनले मेरो सामु भोजन तयार पारोस्; ताकि म तिनले बनाएको हेर्न सकूँ, र म तिनकै हातबाट त्यो खान पाऊँ।’ ”

यसकारण अमनोन बिरामी भएको बहाना गरेर सुते। जब राजा तिनलाई हेर्न आए, तब अमनोनले राजालाई भने, “म मेरी बहिनी तामार आएर मेरै सामु केही विशेष रोटी तयार गरेको चाहन्छु, ताकि म तिनकै हातबाट खान पाऊँ!”

दावीदले महलमा तामारकहाँ यसो भनेर खबर पठाए: “तिम्रा दाजु अमनोनको घरमा जाऊ, र उनका निम्ति केही भोजन तयार गरिदेऊ।” यसकारण तामार आफ्नो दाजु अमनोनको घरमा गइन्, जहाँ उनी ढल्किरहेका थिए। तामारले केही पिठो लिइन्, र त्यसलाई मुछेर त्यसबाट उनकै सामु रोटी पकाइन्। तब तिनले तावाबाट रोटी लिइन्, र अमनोनको सामु राखिदिइन्, तर उनले खान मानेनन्।

उनले भने, “यहाँबाट सबैलाई बाहिर पठाइदेओ।” यसकारण सबै जनाले उनलाई छोडेर गए। त्यसपछि अमनोनले तामारलाई भने, “यहाँ मेरो सुत्ने भित्री कोठामा रोटी ल्याऊ, र म तिम्रो हातबाट खान सकूँ।” अनि तामारले आफूले बनाएका रोटी लिएर आफ्नो दाजु अमनोनकहाँ उनको सुत्ने कोठामा लगिदिइन्। तर जब तामारले अमनोनले खाऊन् भनेर उनीकहाँ खानेकुरा लगिन्, तब उनले तिनलाई अँठ्याएर भने, “मेरी बहिनी, मेरो ओछ्यानमा आएर मसित सुत।”

तिनले भनिन्, “होइन मेरा दाजु, मलाई यसरी जबरजस्ती नगर्नुहोस्! इस्राएलमा यस्तो काम गर्नुहुँदैन! यस्तो दुष्‍ट काम नगर्नुहोस्। मेरो अवस्था कस्तो होला? मैले मेरो अपमानबाट कसरी छुटकारा पाउने? अनि तपाईंको अवस्था कस्तो होला? तपाईं इस्राएलमा दुष्‍ट र मूर्ख समान बन्‍नुहुनेछ। बिन्ती गर्छु, राजासँग कुरा गर्नुहोस्; उहाँले मलाई तपाईंसँग विवाह गर्न रोक्नुहुनेछैन।” तर अमनोनले कुरा सुन्‍न चाहेनन्; अनि तामारभन्दा आफू बलियो भएको कारण तिनलाई बलात्कार गरे।

त्यसपछि अमनोनले तिनलाई अति घृणा गर्न थाले। वास्तवमा उनले तिनलाई प्रेम गरेको भन्दा बढी घृणा गर्न थाले। अमनोनले तिनलाई भने, “उठ्, र निस्केर गइहाल्!”

तब तामारले उनलाई भनिन्, “तपाईंले मलाई जे गरिसक्नुभएको छ, मलाई खेदेर पठाउनुचाहिँ त्योभन्दा ठूलो भूल हुनेछ।”

तर अमनोनले तिनको कुरा सुन्‍न इन्कार गरे। तब उनले आफ्नो निजी नोकरलाई बोलाएर भने, “यस स्त्रीलाई मेरो नजरबाट बाहिर निकालिदे, र ढोकामा आग्लो लगाइदे।” यसरी उनको नोकरले तामारलाई बाहिर निकालेर ढोका थुनिदियो। तिनले बहुमूल्य बुट्टेदार पोशाक पहिरेकी थिइन्। किनकि राजाको कन्या छोरीहरूले त्यस्तै किसिमका पोशाक लगाउने गर्थे। तब तामारले आफ्नो शिरमा खरानी हालिन्, र आफूले लगाएको बुट्टेदार पोशाक च्यातिन्। तिनले आफ्नो हात आफ्नो टाउकोमा राखेर जोडसित रुँदै गइन्।

तिनका दाजु अब्शालोमले तिनलाई भने, “के तेरा दाजु अमनोन तँसित थिए? मेरो बहिनी अहिले चुप लाग्; त्यो तेरै दाजु हुन्। यस कुरालाई हृदयमा नराख्।” तब तामार एउटी त्यागिएकी स्त्रीझैँ आफ्नो दाजु अब्शालोमको घरमा बसिन्।

जब दावीद राजाले यी सबै कुरा सुने, तब तिनी साह्रै रिसाए। अब्शालोमले आफ्नो दाजु अमनोनलाई असल वा खराब केही पनि भनेनन्; तर तिनले अमनोनलाई घृणा गर्थे। किनकि उनले आफ्नो बहिनी तामारलाई बदनामी गराएका थिए।

अब्शालोमले अमनोनलाई मारेका

दुई वर्षपछि अब्शालोमका भेडाका ऊन कत्रनेहरू एफ्राइमको सिमानाको नजिक बाल-हासोरमा भएको बेला तिनले सबै राजकुमारहरूलाई निम्तो पठाए। अब्शालोमले राजाकहाँ गएर भने, “तपाईंको सेवकका भेडाका ऊन कत्रनेहरू आएका छन्। के राजा र हजुरका अधिकारीहरू मसँग सहभागी भइदिनुहुन्छ कि?”

राजाले जवाफ दिए, “होइन, मेरा छोरा, हामी सबै जाँदैनौँ। हामी तिम्रा निम्ति केवल भारको कारण मात्र बन्‍नेछौँ।” यद्यपि अब्शालोमले तिनलाई ढिपी गरे; तर पनि तिनी जान मानेनन्, तर तिनले आफ्नो आशिष्‌चाहिँ तिनलाई दिए।

तब अब्शालोमले भने, “यदि त्यसो होइन भने दया गरी मेरा दाजु अमनोनलाई हामीसित आउन दिनुहोस्।”

राजाले तिनलाई सोधे, “त्यो किन तिमीसित जाने?” तर अब्शालोमले तिनलाई बिन्ती गरे। यसकारण तिनले ऊसँग अमनोन र राजाका अरू छोराहरूलाई पठाइदिए।

अब्शालोमले आफ्ना मानिसहरूलाई यस्तो हुकुम दिए, “ध्यानसित सुन! जब अमनोन मदिराको पूरा नशामा हुनेछ, तब म तिमीहरूलाई भन्‍नेछु, ‘अमनोनलाई प्रहार गरेर ढालिदेओ,’ अनि त्यसलाई मारिदिनू। तिमीहरू नडराओ! के मैले नै तिमीहरूलाई यो हुकुम दिएको होइनँ र? बलवान् र साहसी बन।” यसकारण अब्शालोमका मानिसहरूले तिनले हुकुम गरेझैँ अमनोनलाई मारे। तब राजाका सबै छोराहरू उठेर तिनीहरूका खच्‍चरहरूमा चढेर भागे।

तिनीहरू बाटैमा हुँदा, दावीदकहाँ यो खबर आयो: “अब्शालोमले राजाका सबै छोराहरूलाई मारे; तिनीहरूमध्ये एउटै पनि जीवित छोडिएका छैनन्।” तब राजा उठे, र आफ्ना लुगा च्यातेर भुइँमा पस्रिए; अनि तिनका सबै नोकरहरूले पनि आ-आफ्ना लुगा च्यातेर तिनका छेउमा उभिरहे।

तर दावीदको दाजु शिमाहका छोरा योनादाबले भने, “मेरा मालिक तिनीहरूले सबै राजकुमारहरूलाई मारेका छन् भनी नसम्झनुहोस्; तर अमनोन मात्र मारिएका छन्। अमनोनले तिनकी बहिनी तामारलाई बलात्कार गरेको दिनदेखि उसो अब्शालोमको यो नियत थियो। मेरा मालिक राजाका सबै छोराहरू मारिएका छन् भन्‍ने खबरप्रति राजाले वास्ता नगर्नुहोला। अमनोन मात्र मारिएका छन्।”

यसै बीचमा अब्शालोमचाहिँ भागिसकेका थिए।

यसैबीच दावीदलाई पहरेदार दिइरहेको मानिसले मास्तिर हेर्‍यो; र आफ्नो पश्‍चिमतिर भएको बाटोमा धेरै मानिसहरूलाई डाँडाबाट ओह्रालो आइरहेका देख्यो। त्यो पहरेदार गयो र राजालाई भन्यो, “म होरोनैमदेखि डाँडाको छेउहुँदै मानिसहरू तलतिर आइरहेको देख्दैछु।”

योनादाबले राजालाई भने, “हेर्नुहोस्, राजाका छोराहरू आइरहेका छन्; तपाईंको सेवकले भनेझैँ भयो।”

तिनले बोलिसक्नेबित्तिकै राजाका छोराहरू जोडसित रुँदै आइपुगे। राजा पनि तिनका सबै नोकरहरूसित धुरुधुरु रोए।

अब्शालोम भागेर गेशूरका राजा1 अम्मीहूदका छोरा तल्मैकहाँ गए। तर दावीद राजाचाहिँ आफ्नो छोरा अमनोनका निम्ति दिनहुँ विलाप गर्दैरहे।

अब्शालोम भागेर गेशूरमा गए, र तिनी त्यहाँ तीन वर्षसम्म बसे। अमनोनको मृत्युको बारेमा राजा दावीदले सान्त्वना पाएपछि तिनलाई अब्शालोमकहाँ भेट गर्न जाने इच्छा भयो।

Source notes (1)
  1. Footnote अब्शालोमको मावलीबाजे थिए।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.