पवित्र बाइबल
लेवीहरू 2
कसैले परमप्रभुको निम्ति अन्नबलि ल्याउँदा, त्यसको बलि मसिनो पिठोको होस्, र त्यसले त्यसमा तेल खन्याओस् र त्यसमा धूप हालोस् । त्यसले त्यो भेटी हारूनका छोराहरू, अर्थात् पुजारीहरूकहाँ लगोस्, र त्यहाँ तेल र धूपसहित त्यस मसिनो पिठोबाट पुजारीले एक मुट्ठी निकालोस् । त्यसपछि बलिको रूपमा पुजारीले त्यसलाई जलाओस् । त्यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ; यो उहाँको निम्ति आगोद्वारा गरिएको बलि हुने छ । अन्नबलिबाट जे बाँकी रहन्छ त्यो हारून र तिनका छोराहरूको हुने छ । परमप्रभुको निम्ति आगोबाट गरिएका बलिहरूमध्ये यो अति पवित्र हुने छ । चुलोमा पकाइएको अखमिरी अन्नबलि चढाउँदा, त्यो तेल मिसाइएको मसिनो पिठोको नरम रोटी होस्, वा त्यो तेल लगाइएको अखमिरी कडा रोटी होस् । यदि तिमीहरूको अन्नबलि च्याप्टो फलामको तावामा पकाइएको हो भने, त्यो तेल मिसाइएको अखमिरी मसिनो पिठोको होस् । त्यसलाई टुक्रा-टुक्रा पार्नू र त्यसमा तेल खन्याउनू । यो अन्नबलि हो । यदि तिमीहरूको अन्नबलि तावामा पकाइएको हो भने, त्यो मसिनो पिठो र तेलबाट बनाउनू । यी कुराहरूले बनाइएको अन्नबलि तिमीहरूले परमप्रभुकहाँ ल्याउनू, र त्यो पुजारीकहाँ लगियोस्, अनि त्यसले त्यो वेदीमा लैजाओस् । त्यसपछि पुजारीले त्यस अन्नबलिबाट केही झिकेर वेदीमा जलाओस् । यो आगोद्वारा गरिएको बलि हुने छ, र यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ । अन्नबलिबाट बाँकी रहेका सबै हारून र त्यसका छोराहरूको हुने छ । आगोद्वारा परमप्रभुलाई चढाइएका बलिहरूमध्ये यो परमप्रभुको निम्ति अति पवित्र हुने छ । तिमीहरूले परमप्रभुलाई चढाउने कुनै पनि अन्नबलि खमिरद्वारा बनाइनुहुँदैन, किनभने परमप्रभुको निम्ति आगोद्वारा गरिएको बलिमा खमिर वा मह नजलाउनू । तिमीहरूले ती परमप्रभुलाई पहिलो फलहरूको भेटीको रूपमा चढाउनू, तर वेदीमा मिठो सुगन्ध दिनलाई ती प्रयोग नहोऊन् । तिमीहरूले आफ्ना सबै अन्नबलिहरूमा नून मिसाउनू । आफ्नो अन्नबलिमा आफ्ना परमेश्वरको प्रतिज्ञाको नून कहिल्यै नछुटाउनू । आफ्ना सबै भेटीहरूमा तिमीहरूले नून चढाउनू । परमप्रभुलाई पहिलो फलहरूको अन्नबलि चढाउँदा, आगोमा सेकाइएको र पिसिएको ताजा अन्न चढाउनू । त्यसपछि त्यसमा तेल र धूप राख्नू । यो अन्नबलि हो । त्यसपछि पुजारीले पिसिएको अन्न, तेल र धूपबाट केही जलाओस् । यो परमप्रभुको निम्ति आगोद्वारा गरिएको बलि हो ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.