पवित्र बाइबल
उत्पत्ति 13
अब्राम, तिनकी पत्नी र तिनीसँग भएका सबै थोक लिएर मिश्रबाट माथि नेगेवतिर गए । लोत पनि तिनीसँगै गए । अब्राम पशुहरू, चाँदी र सुनमा धेरै धनाढ्य थिए । तिनी नेगेवबाट बेथेतिर गइरहे, जहाँ पहिले तिनको पाल थियो, त्यो बेथेल र ऐको बिचमा थियो । तिनी आफूले पहिले नै बनाएका वेदी भएको ठाउँमा गए । यहाँ तिनले परमप्रभुको नाउँको पुकारा गरे । अब्रामसँगै यात्रा गरिरहेका लोतका पनि भेडाबाख्रा र गाईवस्तुहरूका बथान र पालहरू थिए । तिनीहरू दुवै नजिकै रहनलाई जमिनले धान्न सकेन, किनभने तिनीहरूका सम्पत्ति अत्यधिक थियो, यसैले तिनीहरू सँगै बस्न सकेनन् । अब्राम र लोतका गाईवस्तुहरू र भेडाबाख्राका गोठालाहरूबिच झगडा भयो । त्यस बेला त्यहाँ कनानीहरू र परिज्जीहरू बस्दथे । यसैले अब्रामले लोतलाई भने, “तिम्रो र मेरा गोठालाहरूबिच झगडा नहोस्, आखिर हामी त परिवार नै हौँ । के सारा भूमि तिम्रो सामु नै छैन र? तिमी जाऊ र मबाट अलग होऊ । यदि तिमी बायाँतरि गयौ भने म दायाँतिर जानेछु । वा यदि तिमी दाहिनेतिर गयौ भनौ म देब्रेतिर जानेछु ।” यसैले, लोतले वरिपरि हेरे, र यर्दनको बेँसीचाहिँ परमप्रभुको बगैँचाजस्तै, मिश्रदेशजस्तै सोअरसम्म नै सबैतिर पानीले राम्ररी भिजेको थियो । यो परमप्रभुले सदोम र गमोरा सर्वनाश गर्न अघिको कुरा थियो ।) यसैले लोतले आफ्नो निम्ति यर्दनको बेँसी चुने र पूर्वतिर लागे अनि नातेदारहरू आपसमा छुटे । अब्राम कनानको भूमिमा नै बसे, र लोत मैदानका सहरहरूमा बसे । तिनले आफ्ना पालहरू सदोमसम्म नै टाँगेर बसे । सदोमका मानिसहरू परमप्रभु विरुद्धमा दुष्ट पापीहरू थिए । लोत तिनीबाट अलग भएपछि परमप्रभुले अब्रामलाई भन्नुभयो, “तँ उभिएको ठाउँदेखि उत्तर, दक्षिण, पूर्व र पश्चिमतिर हेर् । तैँले देखेका यी सबै भूमि, म तँलाई र तेरा सन्तानहरूलाई सदाको निम्ति दिनेछु । म तेरा सन्तानहरूलाई पृथ्वीका धुलो जत्तिकै प्रशस्त बनाउनेछु, यसैले कसैले पृथ्वीको धूलोलाई गन्न सक्छ भने मात्र तेरा सन्तानहरूलाई गन्न सक्नेछ । उठ्, भूमिको चारैतिर हिँड्, किनकि यो म तँलाई दिनेछु ।” यसैले अब्रामले आफ्नो पाल उठाए र मम्रेका फलाँटका रूखहरू नजिकै बसोबास गरे, जुन हेब्रोन थियो र त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी निर्माण गरे ।
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.