Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
रोमी 3
परमेश्वरको विश्वसनीयता
त्यसो भए यहूदी हुनुमा के फाइदा छ र? अथवा खतनाको के महत्त्व छ? वास्तवमा धेरै फाइदाहरू छन्। सर्वप्रथम त परमेश्वरको प्रकाश यहूदीहरूलाई सुम्पिएको हो।
केही व्यक्तिहरू विश्वासयोग्य भएनन् त के भयो? के तिनीहरूका अविश्वासयोग्यताले परमेश्वरको विश्वसनीयतालाई रद्द तुल्याउँछ र? वास्तवमा होइन! परमेश्वर सत्य ठहरिऊन्, र सबै मानिसहरू झूटा साबित होऊन्। यस्तो लेखिएको छ:
“तपाईं जब बोल्नुहुन्छ, आफ्ना कुरामा साँचो प्रमाणित ठहरिनुहोस्,
र तपाईंले न्याय गर्नुहुँदा विजयी हुनुहोस्।”1
तर यदि हाम्रो अधार्मिकताले परमेश्वरको धार्मिकतालाई अझ प्रष्ट गराउँछ भने त हामीले के भन्ने? परमेश्वरको क्रोध हामीमा पर्दा के उहाँ अन्यायी हुनुहुन्छ र? म मानवीय तर्क प्रयोग गरिरहेछु। पक्कै पनि होइन! यदि त्यस्तो हो भने त, धर्मी परमेश्वरले कसरी संसारको न्याय गर्नुहुन्छ? कसैले तर्क गर्ला, “यदि मेरो झूटद्वारा परमेश्वरको सत्यताले उहाँको महिमालाई बढाउँछ भने म किन पापीझैँ दोषी ठहरिन्छु त?” त्यसो भए किन हामी यसो नभनौँ, “हामी खराब काम गरौँ, ताकि यसबाट असल आउन सकोस्?” केही मानिसहरूले हामीले यस्तो भन्छौँ भन्दै हाम्रो निन्दा गर्छन्। यस्ता कुरा गर्नेहरू दोषी ठहरिन योग्यका हुन्छन्।
धर्मी कोही पनि छैन
त्यसो हो भने के हामी यहूदीहरू उनीहरूभन्दा असल छौँ त? कदापि छैनौँ! हामीले अगि नै यहूदी र गैरयहूदीहरू दुवै पापको शक्तिको अधीनमा भएको प्रमाणित गरिसकेका छौँ। यसरी लेखिएको छ:
“धर्मी कोही छैन, एक जना पनि छैन;
बुझ्ने कोही छैन,
परमेश्वरलाई खोज्ने पनि कोही छैन।
सबै परमेश्वरदेखि तर्किगएका छन्,
ती सबै एकसाथ काम नलाग्ने भएका छन्;
भलाइ गर्ने कोही छैन,
एक जना पनि छैन।”2
“तिनीहरूका घोक्रो खुल्ला चिहानहरू हुन्;
तिनीहरूका जिब्राले झूटा कुरा बोल्छन्।”3
“तिनीहरूका ओठमा विषालु सर्पका विष छ।”4
“तिनीहरूका मुख श्राप र तितोपनाले भरिएका छन्।”5
“तिनीहरूका खुट्टा रगत बगाउन सदा तयार छन्;
तिनीहरूका मार्गहरू विनाश र दुर्दशाले भरिएका छन्,
तिनीहरूले शान्तिको मार्गलाई चिनेकै छैनन्।”6
“तिनीहरूका आँखामा परमेश्वरको डर छैन।”7
अब हामी जान्दछौ, व्यवस्थाले जे भन्दछ, व्यवस्थाका अधीनमा हुनेहरूलाई नै भन्दछ, ताकि सबैको मुख बन्द रहोस् र सारा संसारलाई परमेश्वरको अगि जवाफदेही बनाइयोस्। यसैकारण व्यवस्था पालन गरेर कोही पनि परमेश्वरको दृष्टिमा धर्मी ठहरिँदैन। व्यवस्थाले हामीलाई हाम्रा पापको बारेमा सचेतचाहिँ गराउँदछ।
विश्वासद्वारा धार्मिकता
तर अब व्यवस्थाविना नै परमेश्वरबाट धार्मिकता प्रकट भएको छ, जसको गवाही व्यवस्था र अगमवक्ताहरूले दिन्छन्। यो धार्मिकताचाहिँ येशू ख्रीष्टमा विश्वास गर्ने सबैले विश्वासद्वारा प्राप्त गर्दछन्। यसमा यहूदी र गैरयहूदी बीचमा कुनै भिन्नता छैन। किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमाबाट टाढा भएका छन्; र परमेश्वरको अनुग्रहले ख्रीष्ट येशूबाट आउने उद्धारद्वारा सबै जना सित्तैँमा धर्मी ठहराइएका छन्। परमेश्वरले ख्रीष्टलाई उहाँको रगत बगाइद्वारा पाप क्षमाको बलिदानको रूपमा प्रस्तुत गर्नुभयो; जुन विश्वासद्वारा ग्रहण गर्नुपर्दछ। यो उहाँले आफ्नो धार्मिकता प्रकट गर्नलाई यसो गर्नुभएको थियो; किनकि उहाँको सहनशीलतामा पहिले गरिएका पापहरू उहाँले दण्ड दिनुभएन। परमेश्वरले वर्तमान समयमा आफ्नो धार्मिकता प्रकट गर्नलाई यसो गर्नुभयो, ताकि उहाँले आफैँलाई र येशूमा विश्वास गर्नेहरूलाई धर्मी ठहराउन सक्नुभएको होस्।
अब के कुरामा घमण्ड गर्ने त? किनकि घमण्ड गर्ने ठाउँ नै छैन। कुन नियमको आधारमा घमण्ड गर्ने? कामको व्यवस्थाद्वारा हो? होइन, तर विश्वासको सिद्धान्तद्वारा हो। यसकारण हामी यो मान्छौ, मानिस व्यवस्थाको कामविना विश्वासद्वारा नै धर्मी ठहरिन्छ। के परमेश्वर यहूदीहरूका मात्र परमेश्वर हुनुहुन्छ त? के उहाँ गैरयहूदीहरूका चाहिँ परमेश्वर हुनुहुन्न र? उहाँ गैरयहूदीहरूका पनि परमेश्वर हुनुहुन्छ। किनभने परमेश्वर एउटै हुनुहुन्छ, जसले खतना भएकाहरूलाई पनि विश्वासद्वारा र खतना नभएकाहरूलाई पनि त्यही विश्वासद्वारा धर्मी ठहराउनुहुनेछ। त्यसो भए के हामी विश्वासद्वारा व्यवस्थालाई व्यर्थ तुल्याउँछौँ त? कदापि होइन! बरु हामीले त व्यवस्थालाई समर्थन गर्छौँ।
Source notes (7)
- Footnote भजन 51:4
- Footnote भजन 14:1‑3; 53:1‑3; उप 7:20
- Footnote भजन 5:9
- Footnote भजन 140:3
- Footnote भजन 10:7
- Footnote यशै 59:7, 8
- Footnote भजन 36:1
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.