Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
हितोपदेश 9
बुद्धि र मूर्खताको निम्तो
बुद्धिले आफ्नो घर बनाएको छ;
त्यसले सात वटा खाँबो काटेर गाडेको छ।
त्यसले मासु पकाएको छ, र दाखमद्य तयार पारेको छ,
त्यसले आफ्नो टेबुल पनि ठिक पारेको छ।
त्यसले आफ्नो सेवकहरूलाई बाहिर पठाएको छ,
र सहरमा सबैभन्दा अग्लो ठाउँबाट बोलाउँछ।
“सोझाहरू सबै मेरो घरभित्र आओ!”
ती समझ नभएकाहरूलाई त्यसले भन्छ:
“आओ, मसँग खाओ,
र मैले मिसाएको दाखमद्य पिओ।
आफ्ना सोझा चालहरू त्याग, र तिमीहरू बाँच्नेछौ।”
समझशक्तिको मार्गमा हिँड।
गिल्ला गर्नेलाई सुधार्नेले अपमान निम्त्याउँछ,
जसले दुष्टलाई हप्काउँछ, त्यसले दुर्व्यवहार बेहोर्नुपर्छ।
गिल्ला गर्नेलाई नहप्काऊ, नत्रता त्यसले तिमीलाई घृणा गर्नेछ;
बुद्धिमान् मानिसलाई हप्काऊ, र त्यसले तिमीलाई प्रेम गर्नेछ।
बुद्धिमान्लाई अर्ती देऊ, र ऊ अझ बुद्धिमान् हुनेछ;
धर्मी मानिसलाई शिक्षा देऊ, र उसले आफ्नो ज्ञान अझ बढाउँछ।
याहवेहको भय नै बुद्धिको सुरुवात हो,
र पवित्र परमेश्वरको ज्ञान नै समझशक्ति हो।
किनकि बुद्धिद्वारा नै तिमी दीर्घायु हुनेछौ,
र तिम्रो जीवनका वर्षहरू थपिनेछन्।
यदि तिमी बुद्धिमान् हौ भने तिमीलाई बुद्धिले इनाम दिनेछ;
यदि तिमी गिल्ला गर्ने हौ भने तिमीले दुःख मात्र पाउनेछौ।
अज्ञानी स्त्री कोलाहलपूर्ण हुन्छे;
त्यो सोझी र अज्ञानी हुन्छे।
त्यो आफ्नो घरको ढोकामा बस्छे,
सहरका सबैभन्दा अग्लो ठाउँमा बस्छे,
आफ्नो बाटो सरासर हिँडिरहेकाहरूलाई
त्यसले नजिकबाट बोलाउँछे।
“सोझाहरू सबै मेरो घरभित्र आओ!”
ती समझ नभएकाहरूलाई त्यसले भन्छे:
“चोरीको पानी मिठो हुन्छ,
गुप्तमा खाएको भोजन स्वादिष्ठ हुन्छ!”
तर तिनीहरूले त्यहाँ मृतकहरू छन्,
र त्यसका पाहुनाहरू गहिरा चिहानभित्र छन् भन्ने कुरा जान्दैनन्।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.