Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
हितोपदेश 23
भनाइ 7
जब तिमी शासकसँग खान बस्छौ,
तिम्रो अगि के छ, त्यो राम्ररी याद गर।
यदि तिम्रो धेरै खाने बानी छ भने,
आफ्नो घाँटीमा छुरी राख।
तिनका स्वादिष्ठ भोजनहरूको लालसा नगर;
किनकि त्यो भोजन छलपूर्ण हुन्छ।
भनाइ 8
धनी बन्न आफूलाई धेरै नघोट;
उचित समयमा आफूलाई रोक्न बुद्धिमान् होऊ।
धनसम्पत्ति एकै छिनमा उडिजान्छन्;
किनकि यसका पखेटाहरू पलाउँछन्,
आकाशमा गरुडजस्तै, त्यो उडेर जानेछ।
भनाइ 9
लोभी मानिसको भोजन नखाऊ,
त्यसका स्वादिष्ठ भोजनको चाहना नगर;
किनभने त्यो त्यस्तो किसिमको मानिस हो,
जसले त्यसको दाम उठाउने बारेमा सधैँ सोचिरहेको हुन्छ;
त्यसले तिमीलाई “खानुहोस्, पिउनुहोस्” भनी भन्छ,
तर त्यसले मनबाट भनेको चाहिँ हुँदैन।
तिमीले अलिकति खाएको पनि उकेलिदिनेछौ,
र त्यसलाई तिमीले भनेका मधुर वचन त्यसै व्यर्थ जानेछ।
भनाइ 10
मूर्खसित नबोल;
किनकि त्यसले तिम्रा वचनहरूका ज्ञानलाई तिरस्कार गर्नेछ।
भनाइ 11
प्राचीन साँधसिमानाको ढुङ्गा नहटाऊ,
अथवा टुहुरा-टुहुरीका खेतबारी नमिच,
किनकि तिनीहरूका रक्षक शक्तिशाली हुनुहुन्छ;
उहाँले तिम्रो विरुद्धमा तिनीहरूका मामिला लिनुहुनेछ।
भनाइ 12
तिम्रो हृदय अर्तीमा
र तिम्रा कानहरू ज्ञानका वचनहरूमा लगाऊ।
भनाइ 13
बालकलाई अनुशासनमा राख्न नरोक;
तिमीले तिनीहरूलाई छडी लगायौ भने तिनीहरू मर्नेछैनन्।
छडी लगाएर त्यसलाई सजाय देऊ,
र त्यसको प्राणलाई मृत्युबाट रक्षा गर।
भनाइ 14
हे मेरा छोराछोरी, यदि तिम्रो हृदय बुद्धिमान् छ भने,
मेरो हृदय पनि प्रसन्न हुनेछ,
तिम्रा ओठले ठिक कुरा बोल्दछ भने,
मेरो अन्तस्करण त्यसै समय रमाउनेछ।
भनाइ 15
तिम्रो हृदयले पापीहरूलाई डाह गर्न नदेऊ;
तर याहवेहप्रतिको श्रद्धामा सधैँ जोशिलो होऊ।
निश्चय नै तिम्रा निम्ति भविष्यको आशा छ,
र तिम्रो आशा खोसिनेछैन।
भनाइ 16
हे मेरा छोराछोरी, सुन, र बुद्धिमान् होऊ;
अनि तिम्रो हृदय सत्य मार्गमा लगाऊ।
धेरै दाखमद्य पिउनेहरू,
अथवा मुखमा मासु हसुर्नेहरूसित सङ्गत नगर;
किनकि मतवाला र घिचुवाहरू गरिब हुनेछन्;
र नशाले तिनीहरूलाई थाङ्ने बनाउँछ।
भनाइ 17
तिमीलाई जीवन दिनुहुने बुबाका कुरा सुन,
र आफ्नी आमा वृद्ध हुँदा उनलाई हेला नगर।
सत्य किन, र त्यसलाई नबेच;
बुद्धि, अनुशासन र समझदारी प्राप्त गर।
धर्मी मानिसको बुबासित आनन्दित हुने कारण हुन्छ;
बुद्धिमान् सन्तान जन्माउनु आनन्दको कुरा हो!
तिम्रा बुबा र आमा प्रसन्न होऊन्,
तिमीलाई जन्म दिने आमाले रमाहट गरून्।
भनाइ 18
हे मेरो छोरो, तिम्रो हृदय मलाई देऊ,
र तिम्रा आँखाले मेरा चालहरू हेर्न रमाऊन;
किनकि व्यभिचारिणी स्त्रीचाहिँ एउटा गहिरो खाडल हो,
र भ्रष्ट पत्नी साँघुरो कुवा हो।
त्यो एउटा डाँकुजस्तै ढुकिरहन्छे,
र मानिसहरूका बीचमा विश्वासघाती पुरुषहरूको संख्या बढाउँछे।
भनाइ 19
कष्ट कसलाई हुन्छ? दुःख कसलाई हुन्छ?
को झगडा गरिरहन्छ? को गुनासो गरिरहन्छ?
कसलाई अनावश्यक चोटपटक लाग्छ? कसका आँखाहरू राता-राता हुन्छन्?
तिनीहरू नै, जो मद्यमै भुलिरहन्छन्;
जो मिश्रित मद्यको कचौरा चाख्न जान्छन्।
दाखमद्य रातो हुँदा,
जब यो कचौरामा हाल्दा फीँज उठ्छ,
जब यो बिस्तारै लिइन्छ त्यसतिर एक टक लगाएर नहेर।
अन्त्यमा यसले सर्पले जस्तै डस्छ,
र विषालु सर्पले जस्तै विषयुक्त पार्छ।
तिम्रा आँखाले अनौठा दृश्यहरू देख्नेछन्,
र तिम्रा मनले नचाहिँदा कुराहरूको कल्पना गर्नेछ।
महासमुद्रमा सुतिरहेझैँ तिमीलाई हुनेछ;
मस्तुलका डोरीको माथितिर झुण्डिरहेझैँ तिमी हुनेछौ।
तिमीले भन्नेछौ, “तिनीहरूले मलाई हिर्काए”, तर मलाई चोट लागेन!
तिनीहरूले मलाई पिट्छन्, तर मैले थाहै पाउँदिनँ!
“म कहिले बिउँझूँ,
अनि म फेरि अर्को मद्य पिऊँ?”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.