Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
हितोपदेश 21
राजाको हृदय याहवेहको हातमा हुन्छ;
उहाँले खोलाको पानीलाई आफ्नो मनपर्दो दिशातिर डोर्याएजस्तै, त्यसलाई डोर्याउनुहुन्छ।
मानिसलाई आफ्ना सबै चालहरू ठिक लाग्ला,
तर हृदय जाँच्नुहुने याहवेह नै हुनुहुन्छ।
ठिक र न्यायोचित काम गर्नुचाहिँ
याहवेहको सामु बलिदानभन्दा बढी ग्रहणयोग्य हुन्छ।
अहङ्कारी आँखा र अभिमानी हृदय
तथा दुष्टका नजोतिएका जमिनले पाप उब्जाउँछ।
परिश्रमीको योजनाले लाभ दिन्छ;
हतारले अवश्य नै गरिबीमा पुर्याउँछ।
झूटो जिब्रोद्वारा कमाएको धन
उडिजाने वाफ र घातक पासो हो।1
दुष्टहरूका हिंसाले नै तिनीहरूलाई पखाल्छ;
किनकि जे ठिक हो, त्यो गर्न तिनीहरूले अस्वीकार गर्दछन्।
दोषीको चाल बाङ्गो हुन्छ;
तर निर्दोषको चालचलन ठिक हुन्छ।
कचकचे पत्नीसित एउटै घरमा बस्नुभन्दा,
घरको कौसीको एउटा कुनामा बस्नु असल हो।
दुष्ट मानिसले दुष्टताको चाहना गर्छ;
त्यसको छिमेकीले त्यसबाट दया पाउँदैन।
गिल्ला गर्नेले दण्ड पाउँदा सोझाले बुद्धि प्राप्त गर्छ;
बुद्धिमान्लाई अर्ती दिँदा त्यसले ज्ञान प्राप्त गर्छ।
धर्मी जनले2 दुष्टको घरलाई चिनिराख्छ;
तर परमेश्वरले दुष्टहरूलाई पतन गराउनुहुन्छ।
जसले गरिबको चीत्कार सुन्दैन,
त्यसले पनि पुकार गर्दा जवाफ पाउनेछैन।
गुप्तमा दिएको उपहारले क्रोधलाई शान्त गर्छ;
लुकाएर दिएको घूसले ठूलो क्रोध शान्त गर्छ।
उचित न्यायले धर्मी जनको हृदयमा आनन्द ल्याउँछ;
तर कुकर्मीहरू भने त्रसित हुन्छन्।
समझशक्तिदेखि कुमार्गतिर लाग्ने मानिस
मृतकहरूको साथमा विश्राम गर्न पुग्छ।
सुख-विलास मन पराउने गरिब हुनेछ;
दाखमद्य र विलासिता3 मन पराउने कहिल्यै धनी हुनेछैन।
दुष्टहरू धर्मीहरूको उद्धारको मोल,
र विश्वासघाती निर्दोषहरूको उद्धारको मोल हुनेछन्।
झगडालु र गनगने पत्नीसित बस्नुभन्दा त
बरु मरुभूमिमा बस्नु असल हुन्छ।
बुद्धिमान् मानिसको घरमा मनपर्दो धन र तेल हुन्छ;
तर मूर्ख मानिसले आफूसँग भएको सबै उडाउँछ।
धार्मिकता र प्रेमको पछि लाग्नेले
जीवन, उन्नति4 र सम्मान पाउँछ।
बुद्धिमान् मानिसले पराक्रमीको सहरमा आक्रमण गर्छ,
र तिनीहरूले भरोसा गरेको किल्ला भत्काइदिन्छ।
आफ्नो मुख र जिब्रो सम्हाल्नेले
आफूलाई विपत्तिबाट जोगाउँछ।
अहङ्कारी र अभिमानी मानिसको नाम, “गिल्ला गर्ने” हो,
त्यसले अभिमानसाथ व्यवहार गर्दछ।
अल्छेको इच्छा त्यसकै मृत्यु हुनेछ;
किनकि त्यसका हातहरूले काम गर्न इन्कार गर्छन्।
दिनभरि नै त्यसले अझ बढी चाहना गर्छ,
तर धर्मीले नसाँचिकन उदारतापूर्वक दिन्छ।
दुष्टको बलिदान घिनलाग्दो हुन्छ;
त्यसले दुष्ट विचारले ल्याएको छ भने झन् कति बढी घृणित हुनेछ!
झूटो गवाही दिने नष्ट हुनेछ;
तर साँचो साक्षीलाई सधैँ सुनिनेछ।
दुष्ट मानिसले आफ्नो अनुहारमा साहसीपना देखाउँछ;
तर धर्मी जीवन जिउनेहरूले आफ्ना चालहरूमा विचार पुर्याउँछन्।
कुनै पनि बुद्धि, अन्तर्दृष्टि र योजना,
याहवेहको विरुद्ध सफल हुन सक्दैन।
घोडा युद्धको निम्ति तयार राखिन्छ;
तर विजयचाहिँ याहवेहकै हातमा हुन्छ।
Source notes (4)
- Footnote केही प्राचीन पा.लि.हरूमा मृत्यु खोज्नेहरूका निम्ति वाफ हो।
- Footnote अथवा परमेश्वर
- Footnote मूल भाषामा तेल
- Footnote अथवा धार्मिकता
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.