Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

हितोपदेश 17

शान्ति र मौनसित निस्तो गाँस खानु

कलहले भरिएको घरमा भोज गर्नुभन्दा बेस हो।

विवेकी सेवकले अयोग्य छोरामाथि शासन गर्छ,

र त्यसले एउटा पुत्रको रूपमा परिवारमा पैतृक सम्पत्ति पाउनेछ।

चाँदी पगाल्ने भाँडो र सुन खार्ने भट्टी हुन्छ,

तर हृदयलाई जाँच्नुहुने याहवेह हुनुहुन्छ।

दुष्‍ट मानिसले दुष्‍ट कुरा सुन्छ;

झूटो बोल्नेले विनाशकारी जिब्रोमाथि ध्यान दिन्छ।

गरिबलाई गिल्‍ला गर्नेले उसका सृष्‍टिकर्तालाई अपमान गर्छ;

अरूका विपत्तिमा रमाउने जो कोही पनि दण्डबाट उक्‍कनेछैन।

नातिनातिनाहरू वृद्धहरूका मुकुट हुन्,

र छोराछोरीहरू तिनीहरूका आमाबुबाका गर्व हुन्।

भक्तिहीन मूर्खको बोली असुहाउँदो हुन्छ भने,

शासनको निम्ति झूटो बोल्ने ओठ त झन् कति असुहाउँदो हुन्छ!

घूस दिनेको लागि त्यो टुनामुनाजस्तै हो;

उसले जे गरे तापनि ऊ सफल हुन्छ भन्‍ने उसलाई लाग्छ।

अपराधलाई ढाकिदिनेले प्रेम जगाउँछ;

तर कुरा दोहोर्‍याउने जोसुकैले पनि घनिष्‍ठ मित्रहरूमा फाटो ल्याउँछ।

मूर्खलाई सय कोर्रा लगाउनुभन्दा त

बरु समझशक्ति भएको मानिसलाई एकै हप्कीले असर पार्छ।

खराब मानिसको झुकाव विद्रोहतिर मात्रै हुन्छ;

त्यसको विरुद्धमा एउटा निर्दयी अधिकृत पठाइनेछ।

मूर्खलाई त्यसको मूर्खतामा भेट्नुभन्दा त

बरु बच्‍चा खोसिएको भालु भेट्नु असल हो।

यदि मानिसले भलाइको साटो खराबी गर्छ भने,

त्यसको घर खराबीले कहिल्यै छोड्नेछैन।

झगडा सुरु हुनु पानीको बाँध फुट्नुजस्तै हो;

यसकारण झगडा बढ्नुभन्दा अगि नै त्यसलाई अन्त्य गरिदेऊ।

दोषीलाई छोडिदिने र निर्दोषलाई दण्ड दिने—

यी दुवैलाई याहवेहले घृणा गर्नुहुन्छ।

मूर्खको हातमा रकम के काम लाग्ला र?

किनकि त्यसमा बुद्धि प्राप्‍त गर्ने इच्छा नै हुँदैन।

मित्रले सबै समय प्रेम गर्छ,

र दाजुभाइचाहिँ दुःखको बेलाका निम्ति जन्मेका हुन्छन्।

विवेकहीन मानिसले भाकल गर्छ,

र आफ्नो छिमेकीको जमानी बस्छ।

झगडा रुचाउनेले पाप रुचाउँछ,

र जो घमण्डले धाक लगाउँछ, त्यो नाश हुनेछ।

भ्रष्‍ट हृदय भएको मानिसको उन्‍नति हुँदैन;

जसको जिब्रो छली छ, त्यो सङ्कष्‍टमा पर्छ।

मूर्ख छोराछोरीले सन्ताप ल्याउँछन्,

मूर्खको बुबालाई खुशी मिल्दैन।

प्रसन्‍न हृदय असल औषधी हो,

तर पेलिएको आत्माले हड्डीहरूलाई सुकाइदिन्छ।

दुष्‍ट मानिसले गुप्‍तमा घूस लिन्छ

र न्याय प्राणाली बिगारिदिन्छ।

विवेकी मानिसले आफ्नो दृष्‍टिमा बुद्धि राख्छ,

तर मूर्खको आँखा पृथ्वीको अन्त्यसम्म यताउता डुलिरहन्छ।

मूर्ख छोराछोरीले आफ्नो बुबालाई सन्ताप दिन्छन्,

र त्यसलाई जन्माउनेमाथि तितोपन ल्याउँछन्।

निर्दोष मानिसलाई दण्ड दिनु,

वा आफ्नो इमानदारीको खातिर कर्मचारीहरूलाई कोर्रा लगाउनु ठिक होइन।

समझदार मानिसले आफ्नो वचन होसियारीसाथ बोल्छ,

र समझशक्ति भएको मानिस ठण्डा मिजासको हुन्छ।

चुप लाग्ने मूर्ख पनि बुद्धिमान् ठानिन्छ,

र आफ्नो मुख बन्द राख्यो भने त्यो विवेकी मानिन्छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.