Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
हितोपदेश 12
अनुशासनलाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्छ,
तर सुधारलाई घृणा गर्ने व्यक्ति मूर्ख हो।
असल मानिसहरूले याहवेहबाट निगाह प्राप्त गर्छन्,
तर धूर्त मानिसहरूलाई याहवेहले दोषी ठहराउनुहुन्छ।
दुष्टताले कुनै मानिस स्थापित हुन सक्दैन,
तर धर्मी जनलाई उखेल्न सकिनेछैन।
चरित्रवान् पत्नी आफ्नो पतिको मुकुट हो,
तर अपमान ल्याउने पत्नीचाहिँ तिनका हड्डीको क्यान्सरजस्तै हो।
धर्मी जनका योजनाहरू न्यायसङ्गत हुन्छन्;
तर दुष्टका सल्लाह कपटपूर्ण हुन्छन्।
दुष्टका वचनहरूले रक्तपातको निम्ति ढुकिबस्छन्,
तर धर्मीको बोलीले तिनीहरूलाई उद्धार गर्छ।
दुष्टहरू पराजित हुन्छन् र लोप हुन्छन्;
तर धर्मी जनको घर दृढतासाथ खडा रहन्छ।
मानिसलाई त्यसको बुद्धिअनुसार प्रशंसा गरिन्छ,
तर बाङ्गाटेढा हृदय भएका मानिसहरू अपहेलित हुन्छन्।
खानको निम्ति भोजन नभए तापनि आफ्नै बढाइचढाइ गर्ने मानिसभन्दा
बरु साधारण मानिस भएर एक जना मालिकको मात्र सेवक हुनु उत्तम हो।
धर्मी मानिसले आफ्नो पशुहरूको वास्ता गर्छ;
तर दुष्ट मानिसको अति दयापूर्ण काम पनि निर्दयी हुन्छ।
आफ्नो जमिन खनजोत गर्नेसित प्रशस्त भोजन हुनेछ;
तर दिवासपनाको पछि दौडने मानिसहरू मूर्ख हुन्छन्।
दुष्टले खराब मानिसहरूको लुटको अभिलाषा गर्छ,
तर धर्मी जनको जरा रहिरहन्छ।
दुष्ट मानिस आफ्नै पापपूर्ण बोलीले पासोमा पर्छ;
तर धर्मी मानिस विपत्तिबाट उम्कन्छ।
आफ्ना ओठका फलबाट नै मानिस असल थोकहरूले भरिन्छ;
र आफ्नो हातका कामको प्रतिफल त्यसले निश्चय नै पाउँछ।
मूर्खको चाल त्यसकै लागि ठिक देखिन्छ,
तर बुद्धिमान् मानिसले अरूको सल्लाह सुन्छ।
मूर्खले आफ्नो रिस झट्टै देखाउँछ;
तर विवेकशील मानिसले अपमानको वास्तै गर्दैन।
साँचो साक्षीले सत्य बोल्छ,
तर झूटो साक्षीले झूटो कुरा बोल्छ।
विवेकहीनका वचनहरूले मानिसलाई तरवारलेझैँ रोप्छ,
तर बुद्धिमान्को जिब्रोले निको पार्छ।
सत्य बोल्ने ओठ सदा स्थिर रहन्छ;
तर झूटो बोल्ने जिब्रो केही समय मात्र रहन्छ।
खराब योजना रच्नेहरूका हृदयमा छलकपट हुन्छ;
तर शान्तिलाई प्रोत्साहन दिनेहरूको निम्ति आनन्द हुन्छ।
धर्मीमाथि हानिको कुनै प्रभाव हुँदैन,
तर दुष्टहरू सङ्कष्टले भरिएका हुन्छन्।
याहवेहले झूटो बोल्ने ओठलाई घृणा गर्नुहुन्छ;
तर भरोसायोग्य मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ।
विवेकशील मानिसले आफ्नो ज्ञान आफूसितै राख्छ;
तर मूर्खहरूको हृदयबाट मूर्खता निस्किरहन्छ।
परिश्रमी हातले शासन गर्नेछ;
तर अल्छेपनाले दासत्वमा पुर्याउँछ।
चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ,
तर दयालु वचनले त्यसलाई आनन्द दिन्छ।
धर्मी मानिस आफ्नो मित्रतामा सतर्क रहन्छ;
तर दुष्टको मार्गले तिनीहरूलाई बरालिदिन्छ।
अल्छे मानिसले आफ्नो शिकार पनि पकाउँदैन,
तर लगनशील मानिस आफ्नो शिकारको प्रशस्तताबाट खान्छ।
धार्मिकताको मार्गमा जीवन हुन्छ;
त्यही मार्गमा अमरत्व हुन्छ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.