Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

गन्ती 21

अराद नष्‍ट पारिएको

जब दक्षिणमा बस्‍ने आरादका कनानी राजाले इस्राएलीहरू अतारीम जाने बाटो भएर आउँदैछन् भन्‍ने सुने, तब तिनले इस्राएलीहरूमाथि आक्रमण गरेर केही मानिसहरूलाई पक्रेर बन्दी बनाए। तब इस्राएलीहरूले याहवेहसँग यस्तो भाकल गरे: “यदि तपाईंले यी मानिसहरूलाई हाम्रो हातमा सुम्पिदिनुभयो भने हामी तिनीहरूका सहरहरू पूर्ण रूपले नष्‍ट पारिदिनेछौँ।” याहवेहले इस्राएलीहरूको बिन्ती सुन्‍नुभयो। अनि ती कनानीहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो। इस्राएलीहरूले एदोमीहरू र तिनीहरूका सहरहरूलाई पूर्ण रूपले नष्‍ट पारिदिए। अनि त्यस ठाउँको नाम होर्मा1 राखियो।

काँसोको सर्प

तिनीहरूले होर पर्वतबाट लाल समुद्रतिरको बाटो भएर एदोमको प्रान्तलाई फेरो मार्दै यात्रा सुरु गरे। तर बाटोमा इस्राएली मानिसहरू अधैर्य भए। तिनीहरूले परमेश्‍वरको र मोशाको विरुद्धमा यसो भनेर गनगनाउन लागे, “तपाईंले हामीलाई इजिप्टबाट उजाडस्थानमा मर्नलाई किन ल्याउनुभयो? यहाँ खानेकुरा केही छैन; र पानी पनि छैन! अनि यस तुच्छ भोजनले हामी वाक्‍क भइसक्यौँ!”

तब याहवेहले तिनीहरूको बीचमा विषालु सर्पहरू पठाइदिनुभयो। सर्पहरूले मानिसहरूलाई डसे; र धेरै इस्राएलीहरू मरे। ती मानिसहरू मोशाकहाँ आएर बिन्ती गरे, “हामीले याहवेह र तपाईंको विरुद्धमा बोलेर पाप गरेका छौँ। याहवेहले यी सर्पहरू हामीबाट हटाइदेऊन् भनी प्रार्थना गरिदिनुहोस्।” यसकारण मोशाले मानिसहरूका निम्ति प्रार्थना गरिदिए।

याहवेहले मोशालाई भन्‍नुभयो, “एउटा सर्प बनाएर त्यसलाई एउटा खाँबोमा राखिदिनू; तब सर्पले डसेका जो कोहीले काँसोको सर्पलाई हेर्छ, त्यो जीवित रहनेछ।” यसकारण मोशाले एउटा काँसोको सर्प बनाएर त्यसलाई एउटा खाँबोमा राखिदिए। त्यसपछि जब कसैलाई सर्पले डस्थ्यो, तब त्यसले काँसोको सर्पलाई हेर्थ्यो, र त्यो बाँच्थ्यो।

मोआबको यात्रा

इस्राएलीहरू अगि बढ्दै गए, र ओबोतमा छाउनी हाले। त्यसपछि तिनीहरू ओबोतबाट हिँडे। अनि मोआबको सामु पूर्वतिरको सूर्य उदय हुने ठाउँतिर उजाडस्थानमा भएको इये-अबारीममा छाउनी हाले। त्यहाँबाट तिनीहरू अगि बढ्दै गए। अनि जेरेदको बेँसीमा छाउनी हाले। तिनीहरू त्यहाँबाट पनि हिँडे। अनि एमोरीहरूको प्रान्तसम्म फैलिएको उजाडस्थानस्थित अर्नोनको किनारमा छाउनी हाले। अर्नोनचाहिँ मोआब र एमोरीहरूको बीचमा मोआबको सिमानामा पर्दछ। त्यसैकारण याहवेहका युद्धहरूको पुस्तकमा यसो लेखिएको छ:

“सूपामा भएको याहेब2 सहर,

अर्नोनका बेँसीहरू र बेँसीका भिरालाहरू,

जो आरको सहरतिर लाग्दछन्

र मोआबको सिमानासम्म पुगेका छन्।”

त्यहाँबाट तिनीहरू बेअरको त्यस इनारसम्म अगि बढे, जहाँ याहवेहले मोशालाई भन्‍नुभयो, “मानिसहरूलाई एकसाथ भेला गर्, र म तिनीहरूलाई पानी दिनेछु।”

तब इस्राएलीहरूले यो गीत गाए:

“ए इनार, फुटेर निस्की!

यसको विषयमा गीत गा,

जसलाई राजकुमारहरूले खनेका थिए,

जसलाई कुलिन व्यक्तिहरूले खनेका थिए,

जसलाई ती कुलिन व्यक्तिहरूका राजदण्ड र लहुरोले खनेका थिए।”

त्यसपछि तिनीहरू उजाडस्थानबाट मत्तानातर्फ अगि बढे, अनि मत्तानाबाट नहलीएलमा, नहलीएलबाट बामोतमा आइपुगे। अनि बामोतबाट मोआबको बेँसी पिसगाको टाकुरामा आइपुगे, जहाँबाट उजाडभूमि देख्न सकिन्छ।

सीहोन र ओग परास्त भएका

इस्राएलले एमोरीहरूका राजा सीहोनकहाँ यसो भन्‍नलाई सन्देश वाहकहरू पठाए:

“हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्। हामी कुनै खेत अथवा दाखबारीतिर फर्कनेछैनौँ अर्थात् कुनै इनारबाट पानी पिउनेछैनौँ। हामी तपाईंको सिमानाबाट भएर पार नभएसम्म राजाको मूलबाटो भएर यात्रा गर्नेछौँ।”

तर सीहोनले आफ्नो सिमानाबाट भएर इस्राएलीहरूलाई छिरेर जान दिएनन्। तिनले आफ्नो सारा सेनालाई जम्मा गरे। अनि उजाडस्थानमा इस्राएलीहरूका विरुद्धमा मोर्चा बाँधे। जब तिनी यहस सहरमा आइपुगे, तब तिनीहरूले इस्राएलीहरूसँग युद्ध गरे। तर इस्राएलीहरूले राजालाई तरवारले मारे। अनि अर्नोनदेखि यब्बोकसम्म तिनको देश कब्जा गरे। तैपनि अम्मोनीहरूको सिमानासम्म मात्र कब्जा गरे; किनभने अम्मोनीहरूको सिमाना बलियो किल्‍ला भएको थियो। इस्राएलले एमोरीहरूका सबै सहरहरू कब्जा गरे, र ती सहरहरूमा बसोबास गरे। हेश्बोन र त्यसका छेउछाउका सबै बस्तीहरूमा समेत बसोबास गर्न थाले। हेश्बोनचाहिँ एमोरीहरूका राजा सीहोनको सहर थियो, जसले मोआबका अगिल्‍ला राजाको विरुद्धमा युद्ध गरेर तिनको सम्पूर्ण देश अर्नोनसम्मै लिएका थिए।

त्यसैकारण कविहरूले यसो भन्छन्:

“हेश्बोनमा आओ, र यो सहर पुनर्निर्माण होस्;

सीहोनको सहर पुनर्स्थापित होस्।

“हेश्बोनबाट आगो निस्केर गयो;

सीहोनको सहरबाट एउटा ज्वाला निस्क्यो।

यसले मोआबको आर सहरलाई भस्म पार्‍यो।

अर्नोनका शिखरमा बस्‍नेहरूलाई भस्म पार्‍यो।

ए मोआब, धिक्‍कार छ तँलाई!

ए कमोशका मानिसहरू नष्‍ट पारिएका छौ!

कमोशले आफ्ना छोराहरूलाई भगुवाझैँ,

र आफ्नी छोरीहरूलाई कैदीझैँ गरेर

एमोरीहरूको राजा सीहोनलाई दिएको छ।

“तर हामीले हेश्बोनीहरूलाई जितेका छौँ;

हेश्बोनचाहिँ दीबोन सहरसम्मै नष्‍ट पारिएको छ।

हामीले तिनीहरूलाई नोपाहसम्मै ध्वंस पारिदिएका छौँ,

जुनचाहिँ मेदेबासम्म फैलिएको छ।”

यसरी इस्राएलीहरू एमोरीहरूको देशमा बसोबास गरे।

मोशाले याजेरमा जासुस गर्न मानिसहरू पठाएपछि इस्राएलीहरूले त्यसका चारैतिरका बस्तीहरू कब्जा गरे। अनि त्यहाँ भएका एमोरीहरूलाई पनि धपाइदिए। त्यसपछि तिनीहरू फर्केर बाशानतिरको बाटो भएर उक्ले। अनि बाशानका राजा ओग इस्राएलीहरूसँग युद्ध गर्न आफ्ना सारा सेना लिएर एद्रई सहरमा मोर्चा बाँधेर निस्के।

याहवेहले मोशालाई भन्‍नुभयो, “त्यससँग नडरा; किनकि मैले त्यसलाई, त्यसका सबै सेनालाई र त्यसको देशसमेत तेरो हातमा सुम्पिदिएको छु। तैँले त्यसलाई हेश्बोनमा शासन गर्ने एमोरीहरूका राजा सीहोनलाई गरेजस्तै गर्नू।”

यसकारण इस्राएलीहरूले राजालाई, तिनका छोराहरू र सारा सेनाहरूलाई एउटै पनि मानिस जीवित नरहुन्जेल एकैसाथ मारे। अनि तिनीहरूको देशलाई कब्जा गरे।

Source notes (2)
  1. Footnote होर्मा जसको अर्थ नष्‍ट भन्‍ने हुन्छ।
  2. Footnote मूल भाषामा वाहेब भन्‍ने हुन्छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.