Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

मर्कूस 16

येशू पुनर्जीवित हुनुभएको

शब्बाथ दिन सकिएपछि येशूको शरीरमा घस्‍नलाई भनी मरियम मग्दलिनी, याकोबकी आमा मरियम र सलोमीले सुगन्धित मसलाहरू किने। हप्‍ताको पहिलो दिन, एकाबिहानै सूर्योदय हुनसाथ तिनीहरू चिहानतिर लागे। तिनीहरूले आपसमा भने, “चिहानको मुखबाट ढुङ्गालाई गुड्याएर कसले हटाइदेला?”

तर जब तिनीहरूले चिहानतिर हेरे, त्यो ठूलो ढुङ्गा हटाइएको देखे। जब तिनीहरू चिहानभित्र पसे, तब सेतो लुगा लगाएका एक जवान मानिसलाई दाहिनेपट्टि बसिरहेका देखेर छक्‍क परे।

तिनले भने, “छक्‍क नपर। तिमीहरू क्रूसमा टाँगिएका येशू नासरीलाई खोज्दैछौ। उहाँ जीवित भई उठ्नुभएको छ! उहाँ यहाँ हुनुहुन्‍न। उहाँलाई राखेको ठाउँ हेर। तर जाओ, उहाँका चेलाहरू र पत्रुसलाई भनिदेओ, ‘उहाँ तिमीहरूभन्दा अगि-अगि गालीलमा जाँदैहुनुहुन्छ। उहाँले भन्‍नुभएबमोजिम त्यहाँ तिमीहरूले उहाँलाई देख्नेछौ।’ ”

स्त्रीहरू काँप्दै र अचम्म मान्दै बाहिर निस्के, र चिहानबाट भागे। तिनीहरूले कसैलाई केही भनेनन्; किनकि तिनीहरू डराएका थिए।

जब येशू हप्‍ताको पहिलो दिनमा, बिहानै जीवित भई उठ्नुभयो, तब उहाँ पहिले मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो, जसबाट उहाँले सात वटा भूतहरू निकाल्नुभएको थियो। तब उनी दौडेर गइन् र उहाँसित हुनेहरूलाई यो कुरा सुनाइन्, जो रुँदै र विलाप गरिरहेका थिए। जब तिनीहरूले येशू जिउँदो हुनुभएको र त्यस स्त्रीले उहाँलाई देखेको कुरा सुने, तब तिनीहरूले त्यो विश्‍वासै गरेनन्।

यसपछि गाउँतिर जाँदै गरेका दुई जनाकहाँ येशू बेग्लै रूपमा देखा पर्नुभयो। यिनीहरू फर्केर यो कुरा अरूलाई भनिदिए; तर तिनीहरूले पनि यिनीहरूका कुरामा विश्‍वास गरेनन्।

त्यसपछि येशू एघार जनाले खाइरहेका बेला त्यहाँ देखा पर्नुभयो। उहाँले तिनीहरूका अविश्‍वास र हृदयको कठोरताले उहाँ जीवित भई उठ्नुभएपछि पनि उहाँलाई देख्नेहरूले विश्‍वास नगरेकोमा तिनीहरूलाई हप्काउनुभयो।

उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा गएर सबै सृष्‍टिलाई यो सुसमाचार सुनाओ। जसले विश्‍वास गर्छ र बप्‍तिस्मा लिन्छ, त्यसले मुक्ति पाउनेछ; तर विश्‍वास नगर्ने दण्डित हुनेछ। अनि विश्‍वास गर्नेहरूसित यस्ता चिन्हहरू हुनेछन्: मेरो नाममा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ-नयाँ भाषाहरूमा बोल्नेछन्, तिनीहरूले आफ्ना हातले सर्पहरू समात्नेछन्, र तिनीहरूले प्राणघातक विष पिए तापनि तिनीहरूलाई पटक्‍कै हानि हुनेछैन। तिनीहरूले रोगीहरूमाथि हात राख्नेछन्, र तिनीहरू निको हुनेछन्।”

प्रभु येशूले तिनीहरूसित कुरा गरिसक्नुभएपछि उहाँ स्वर्गमा उचालिनुभयो र परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभयो। तब चेलाहरू बाहिर गएर चारैतिर प्रचार गरे। अनि प्रभुले तिनीहरूसित काम गर्नुभयो र वचनलाई अलौकिक चिन्हहरूद्वारा सुदृढ पार्नुभयो।1

Source notes (1)
  1. Footnote केही प्राचीन पा.लि.हरूमा 9‑20 पदहरू पाइँदैन।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.