Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

लूका 3

बप्‍तिस्मा दिने यूहन्‍नाको कार्य

रोमी सम्राट सिजर तिबेरिअसको शासनकालको पन्ध्रौँ वर्षमा, जब पन्तियस पिलातस यहूदिया प्रदेशका राज्यपाल, हेरोद गालील प्रदेशका शासक, उनका भाइ फिलिप इतुरिया र त्राखोनितिस प्रदेशका शासक, र लुसानियास अबिलेने प्रदेशका शासक थिए, तब हन्‍नास र कैयाफा प्रधान पुजारी भएको समयमा परमेश्‍वरको वचन उजाडस्थानमा जकरियाका छोरा यूहन्‍नाकहाँ आयो। तिनी पाप क्षमाका लागि पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै यर्दन नदीका वरपर सबै इलाकातर्फ गए। जसरी यशैया अगमवक्ताका वचनको पुस्तकमा लेखिएको छ:

“उजाडस्थानमा एक जना कराउनेको आवाज,

‘प्रभुका निम्ति बाटो तयार पार,

उहाँका निम्ति मार्ग सीधा बनाओ।

प्रत्येक उपत्यका पुरिनेछ,

प्रत्येक पर्वत र डाँडा होचो बनाइनेछ;

बाङ्गा-टिङ्गा बाटाहरू सीधा पारिनेछन्।

अप्ठेरा बाटाहरू समतल हुनेछन्।

अनि सबै मानव जातिले परमेश्‍वरको मुक्ति देख्नेछन्।’ ”1

यूहन्‍नाले तिनीबाट बप्‍तिस्मा लिन आउने भीडहरूलाई भने, “हे सर्पका सन्तान हो! आउन लागेको क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो? पश्‍चात्ताप अनुसारको फल फलाओ, र आफैँ, ‘हामी अब्राहामका सन्तान हौँ’ भन्‍ने नठान; किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरले यी ढुङ्गाहरूबाट पनि अब्राहामका निम्ति सन्तान उत्पन्‍न गर्न सक्नुहुन्छ। रूखको जरामा बन्चरो परिसकेको छ; यसैले असल फल नफलाउने हरेक रूख ढालिनेछ र आगोमा फालिनेछ।”

त्यसपछि भीडले सोध्यो, “त्यसो भए हामीले के गरौँ त?”

यूहन्‍नाले जवाफ दिए, “आफूसँग दुई वटा दौरा हुने मानिसले नहुनेलाई एउटा देओस्; र जससँग भोजन छ, त्यसले पनि त्यसै गरोस्।”

कर उठाउनेहरू2 पनि बप्‍तिस्मा लिन आए, र तिनीहरूले सोधे, “गुरुज्यू, हामी के गरौँ?”

तिनले उनीहरूलाई भने, “तिमीलाई जति खटाइएको छ, त्योभन्दा बढी नलेओ।”

त्यसपछि केही सिपाहीहरू आएर सोधे, “हामीले चाहिँ के गरौँ त?”

तिनले जवाफ दिए, “कसैलाई नलुट, र मानिसहरूलाई झूटो आरोप नलगाओ। आफ्नो तलबमा सन्तुष्‍ट रहो।”

मानिसहरू आशामा पर्खिरहेका थिए, र सबैले आ-आफ्ना मनमा कतै यूहन्‍ना नै ख्रीष्‍ट हुन् कि भनी विचार गरिरहेका थिए। तब यूहन्‍नाले तिनीहरू सबैलाई जवाफ दिँदै भने, “म त तिमीहरूलाई पानीले बप्‍तिस्मा दिन्छु; तर मभन्दा शक्तिशाली एक जना आउँदैहुनुहुन्छ, जसका जुत्ताको फित्ता खोल्ने सेवक जत्तिको योग्यको पनि म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुनेछ। उहाँको खला सफा गर्न उहाँको निफन्‍ने नाङ्लो उहाँकै हातमा छ, र उहाँले गहुँ आफ्नो धनसारमा जम्मा गर्नुहुनेछ; तर भुसलाई उहाँले कहिल्यै ननिभ्ने आगोले जलाउनुहुनेछ।” अनि अरू पनि यस्तै वचनद्वारा यूहन्‍नाले मानिसहरूलाई शिक्षा दिए र तिनीहरूलाई सुसमाचार प्रचार गरे।

तर जब हेरोदले आफ्नै भाइकी पत्नी हेरोदियासलाई राखेका कारण र उनले गरेका सबै दुष्कर्मका कारण यूहन्‍नाले उनलाई हप्काए, तब यूहन्‍नालाई झ्यालखानामा थुनेर हेरोदले सबै दुष्कर्महरूमाथि अझै एउटा दुष्कर्म थपे।

येशूको बप्‍तिस्मा

जब धेरै मानिसहरूले बप्‍तिस्मा लिइरहेका थिए, तब येशूले पनि बप्‍तिस्मा लिनुभयो। अनि उहाँले प्रार्थना गर्दै गर्नुहुँदा स्वर्ग उघ्रियो। अनि पवित्र आत्मा एउटा ढुकुरझैँ शारीरिक रूपमा उहाँमाथि ओर्लनुभयो, र स्वर्गबाट एउटा यस्तो आवाज आयो: “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्‍न छु।”

अब येशू आफैँले आफ्नो सेवा सुरु गर्नुहुँदा उहाँ करिब तीस वर्षको हुनुहुन्थ्यो। उहाँ योसेफका छोरा हुनुहुन्छ भनी मानिसहरूले ठानेका थिए।

योसेफ हेलीका छोरा थिए, हेली मत्तातका छोरा,

मत्तात लेवीका छोरा, लेवी मल्कीका छोरा,

मल्की यन्‍नाईका छोरा, यन्‍नाई योसेफका छोरा,

योसेफ मत्ताथियाहका छोरा, मत्ताथियाह आमोसका छोरा,

आमोस नहूमका छोरा, नहूम इसलीका छोरा,

इसली नग्गैका छोरा, नग्गै माथका छोरा,

माथ मत्ताथियाहका छोरा, मत्ताथियाह सेमैनका छोरा,

सेमैन योसेखका छोरा, योसेख योदाका छोरा,

योदा योआननका छोरा, योआनन रेसाका छोरा,

रेसा यरुबाबेलका छोरा, यरुबाबेल शालतिएलका छोरा,

शालतिएल नेरीका छोरा, नेरी मल्कीका छोरा,

मल्की अद्दीका छोरा, अद्दी कोसामका छोरा,

कोसाम एलमादामका छोरा, एलमादाम एरका छोरा,

एर यहोशूका छोरा, यहोशू एलीएजरका छोरा,

एलीएजर योरीमका छोरा, योरीम मत्तातका छोरा,

मत्तात लेवीका छोरा, लेवी शिमियोनका छोरा,

शिमियोन यहूदाका छोरा, यहूदा योसेफका छोरा,

योसेफ योनामका छोरा, योनाम एल्याकीमका छोरा,

एल्याकीम मलेआका छोरा, मलेआ मिन्‍नाका छोरा,

मिन्‍ना मत्ताथाका छोरा, मत्ताथा नातानका छोरा,

नातान दावीदका छोरा, दावीद यिशैका छोरा,

यिशै ओबेदका छोरा, ओबेद बोअजका छोरा,

बोअज सल्मोनका छोरा, सल्मोन नहशोनका छोरा,

नहशोन अम्मीनादाबका छोरा, अम्मीनादाब आरामका छोरा,

आराम हेस्रोनका छोरा, हेस्रोन फारेसका छोरा,

फारेस यहूदाका छोरा, यहूदा याकोबका छोरा,

याकोब इसहाकका छोरा, इसहाक अब्राहामका छोरा,

अब्राहाम तेरहका छोरा, तेरह नाहोरका छोरा,

नाहोर सरूगका छोरा, सरूग रऊका छोरा,

रऊ पेलेगका छोरा, पेलेग एबेरका छोरा,

एबेर शेलहका छोरा, शेलह केनानका छोरा,

केनान अर्पक्षदका छोरा, अर्पक्षद शेमका छोरा,

शेम नोआका छोरा, नोआ लेमेखका छोरा, लेमेख मतूशेलहका छोरा,

मतूशेलह हनोकका छोरा, हनोक येरेदका छोरा,

येरेद महलालेलका छोरा,

महलालेल केनानका छोरा, केनान एनोशका छोरा,

एनोश शेतका छोरा, शेत आदमका छोरा,

अनि आदम परमेश्‍वरका छोरा3 थिए।

Source notes (3)
  1. Footnote यशै 40:3‑5
  2. Footnote जसले यहूदीहरूसँग रोमीहरूका निम्ति धेरै नै कर उठाउँदथे। त्यसैले यहूदीहरूले उनीहरूलाई घृणा गर्थे र मानिसहरूले कर उठाउनेलाई पापीको रूपमा मान्दथे।
  3. Footnote शारीरिक नभई सिर्जना गरिएको कारणले

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.