Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
लेवी 1
होमबलि
याहवेहले मोशालाई बोलाउनुभयो, र समागम पालबाट तिनीसित कुरा गर्नुभयो। उहाँले भन्नुभयो, “इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘तिमीहरूमध्ये कसैले याहवेहका निम्ति पशु भेटीको रूपमा ल्याउँदा तिमीहरूको भेटी गाईबस्तुका बथान अथवा भेडाबाख्राका बगालबाट ल्याउनू।
“ ‘यदि त्यस बथानबाट होमबलि हो भने त्यसले निष्खोट नर पशु चढाओस्। त्यसले त्यो समागम पालको प्रवेशद्वारमा ल्याओस्, र त्यो याहवेहका निम्ति ग्रहणयोग्य हुनेछ। त्यसले त्यस होमबलिको शिरमाथि आफ्नो हात राखोस्; र त्यो त्यसको प्रायश्चितका लागि त्यसको पक्षमा ग्रहणयोग्य हुनेछ। त्यसले त्यस बाछालाई याहवेहको सामु मारोस्। अनि हारूनका पुजारी छोराहरूले रगत ल्याएर त्यसलाई समागम पालको प्रवेशद्वारमा वेदीको सबैतिर भित्तामा छर्कून्। त्यसले होमबलिको छाला काढेर त्यसलाई टुक्रा-टुक्रा पारोस्। पुजारी हारूनका छोराहरूले वेदीमा दाउराहरू मिलाएर आगो लगाऊन्। त्यसपछि हारूनका पुजारी छोराहरूले टाउको र बोसोसमेत ती टुक्राहरूलाई वेदीमा जलिरहेका दाउरामाथि मिलाऊन्। त्यस मानिसले भित्री भागहरू र खुट्टाहरू पानीले धोओस्; अनि पुजारीले ती सबै वेदीमाथि जलाओस्। यो होमबलि याहवेहलाई मनपर्ने बास्नाको अग्निबलि हो।
“ ‘यदि त्यसको होमबलि भेडाबाख्राहरूबाट हो भने त्यसले निष्खोट नर पशु चढाओस्। त्यसले वेदीको उत्तरपट्टि याहवेहको सामु त्यसलाई मारोस्; अनि हारूनका पुजारी छोराहरूले त्यसको रगत वेदीका सबै भित्ताहरूमा छर्कून्। त्यस मानिसले यसलाई टुक्रा-टुक्रा पारोस्। अनि पुजारीले तिनीहरूलाई शिर र बोसोसमेत वेदीमाथि जलिरहेको दाउरामाथि मिलाओस्। त्यस मानिसले भित्री भागहरू र खुट्टाहरू पानीले धोओस्; अनि पुजारीले ती सबै ल्याएर वेदीमाथि जलाओस्। यो होमबलि याहवेहलाई मनपर्ने बास्नाको अग्निबलि हो।
“ ‘याहवेहका निम्ति होमबलि पक्षीहरूबाटको हो भने त्यसले ढुकुर वा परेवाका बचेराहरू चढाओस्। पुजारीले त्यसलाई वेदीमा ल्याएर शिर निमोठेर वेदीमाथि जलाओस्; र त्यसका रगत वेदीका किनारमा निथारियोस्। त्यसले आन्द्राभुँडी र त्यसभित्र भएका सबै फोहर निकालेर वेदीको पूर्वपट्टि खरानी भएको ठाउँमा फ्याँकोस्। त्यसले त्यसलाई नटुक्राइकन पखेटाको बीचमा चिरोस्। अनि पुजारीले त्यसलाई वेदीमाथि बलिरहेको दाउरामाथि जलाओस्। यो होमबलि याहवेहलाई मनपर्ने बास्नाको अग्निबलि हो।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.