Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

यूहन्‍ना 7

येशू छाप्रोबासको चाडमा जानुभएको

यसपछि येशू गालीलमा नै घुमफिर गरिरहनुभयो। उहाँले यहूदियाबाट अलग्गै रहने मनसायले नै यसो गर्नुभयो। किनकि त्यहाँका यहूदी अगुवाहरूले उहाँलाई मार्न पर्खिरहेका थिए। तर यहूदीहरूको छाप्रोबासको चाड नजिकै थियो। येशूका भाइहरूले उहाँलाई भने, “तपाईं यो ठाउँ छोडेर यहूदिया जानुहोस्, जसबाट तपाईंले गर्नुभएका शक्तिशाली कामहरू तपाईंका चेलाहरूले पनि देखून्। समाजमा ख्याति प्राप्‍त गर्न चाहने कसैले पनि गुप्‍तमा काम गर्दैन। तपाईंले यी कामहरू गर्दै हुनुहुन्छ, त्यसकारण आफूलाई संसारमा प्रकट गराउनुहोस्।” किनकि उहाँका आफ्नै भाइहरूले पनि उहाँमाथि विश्‍वास गर्दैनथिए।

त्यसकारण येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो लागि अझै ठिक समय आएको छैन, तर तिमीहरूका निम्ति सबै समय ठिकै हुन्छ। संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर मलाई घृणा गर्दछ। किनकि यसले जे गर्दैछ, त्यो दुष्‍ट काम हो भनी मैले त्यसको साक्षी दिन्छु। तिमीहरू चाडमा जाओ, म अहिले यस चाडमा जान्‍नँ। किनकि मेरो निम्ति ठिक समय अझै आएको छैन।” यी कुराहरू भन्‍नुभएपछि उहाँ गालीलमा नै रहनुभयो।

तर उहाँका भाइहरू चाडमा गए, यसैले उहाँ पनि खुल्‍लमखुल्‍ला होइन, तर गुप्‍त रूपमा त्यहाँ जानुभयो। चाडमा यहूदीहरूले उहाँलाई खोज्दै, “ती मानिस कहाँ छन्?” भनी सोधिरहेका थिए।

भीडहरूका बीचमा उहाँको विषयमा व्यापक खासखुस भइरहेको थियो। कतिले भन्थे, “तिनी असल मानिस हुन्।”

अरूले भन्थे, “होइन, त्यसले मानिसहरूलाई भ्रममा पारिरहेको छ।” तर यहूदी अगुवाहरूका डरको कारणले गर्दा कसैले पनि उहाँको विषयमा खुल्‍लमखुल्‍ला केही भन्दैनथिए।

चाडमा येशूले शिक्षा दिनुभएको

अब चाड आधा-आधी भइसकेपछि येशू मन्दिरका चोकहरूमा जानुभयो, र शिक्षा दिन थाल्नुभयो। यहूदीहरूले छक्‍क परेर सोधे, “केही अध्ययन नै नगरी पनि यिनले यस्तो ज्ञान कसरी प्राप्‍त गरे?”

येशूले जवाफ दिनुभयो, “मेरो शिक्षा मेरो आफ्नै होइन। यो त उहाँबाट आउँछ, जसले मलाई पठाउनुभयो। यदि कसैले परमेश्‍वरको इच्छा पालन गर्न चाहन्छ भने मेरो शिक्षा परमेश्‍वरतर्फबाट आएको हो, अथवा म आफैँले बोलेको हुँ, सो उसले थाहा पाउनेछ। जसले आफ्नै तर्फबाट बोल्छ, त्यसले आफ्नै आदर खोज्न त्यसो गर्छ। तर जसले उसलाई पठाउनुहुनेको आदरको निम्ति काम गर्छ, त्यो सत्यको मानिस हो। उसमा केही झूट हुँदैन। के मोशाले तिमीहरूलाई व्यवस्था दिएका छैनन् र? तापनि तिमीहरूमध्ये एउटैले पनि व्यवस्था पालन गर्दैनौ। तिमीहरू मलाई किन मार्न खोज्छौ?”

भीडले जवाफ दियो, “तिमीलाई भूत लागेको छ। कसले तिमीलाई मार्न खोज्दैछ र?”

येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले एउटा अचम्मका काम गरेँ, र तिमीहरू सबै छक्‍क पर्दछौ। तर मोशाले तिमीहरूलाई खतनाको रीति दिए। (हुन त त्यो मोशाबाट होइन, तर पितापुर्खाहरूबाट हो।) यसकारण तिमीहरूले शब्बाथ दिनमा बालकको खतना गर्दछौ। अब यदि मोशाको व्यवस्था भङ्ग नहोस् भनेर शब्बाथको दिनमा समेत बालकको खतना गर्न सकिन्छ भने मैले एक जना मानिसलाई शब्बाथ दिनमा निको पारेको कारण तिमीहरू मसँग किन रिसाउँछौ? केवल मुख हेरेर न्याय गर्न छोड, र ठिक न्याय गर।”

के येशू नै ख्रीष्‍ट हुन्?

तब यरूशलेमका बासिन्दाहरूमध्ये कतिले भन्‍न लागे, “के तिनीहरूले मार्न खोजेका व्यक्ति यिनी नै होइनन् र? अनि यिनी त त्यहीँ छन्, र खुल्‍लमखुल्‍ला बोल्दैछन्। तर तिनीहरूले यिनलाई एक शब्द पनि भन्दैनन्। के अधिकार प्राप्‍त मानिसहरूले पनि यिनी नै ख्रीष्‍ट हुन् भनी साँच्‍चै ठहर गरे कि कसो? तर यी मानिस कहाँबाटका हुन् भनी हामीलाई थाहा छ; तर ख्रीष्‍ट आउनुहुँदा उहाँ कहाँबाट हुनुहुन्छ भनी कसैलाई थाहा हुनेछैन।”

तब अझै पनि मन्दिरको चोकमा शिक्षा दिँदै रहनुहुँदा येशूले उच्‍च सोरले भन्‍नुभयो, “तिमीहरू मलाई पक्‍कै चिन्दछौ, र म कहाँको हुँ भनी तिमीहरू जान्दछौ; म यहाँ आफ्नै इच्छाले आएको होइनँ, तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ। तिमीहरूले उहाँलाई चिन्दैनौ। तर म उहाँलाई चिन्दछु। किनकि म उहाँबाट आएको हुँ, र उहाँले मलाई पठाउनुभएको हो।”

यो सुनेर तिनीहरूले उहाँलाई पक्रन खोजे, तर कसैले पनि उहाँमाथि हात हालेन। किनकि उहाँको समय अझै आइपुगेको थिएन। तर पनि भीडका धेरै मानिसहरूले उहाँमाथि विश्‍वास गरे। तिनीहरूले भने, “जब ख्रीष्‍ट आउनुहुन्छ, के उहाँले यी मानिसले भन्दा पनि बढी अलौकिक चिन्हहरू गर्नुहोला र?”

भीडले उहाँको विषयमा यस्तो चर्चा गरेको कुरा फरिसीहरूले सुने। त्यसपछि मुख्य पुजारीहरू र फरिसीहरूले उहाँलाई पक्रनका लागि मन्दिरका पहरेदारहरूलाई पठाए।

येशूले भन्‍नुभयो, “म अब केही समयको निम्ति मात्र तिमीहरूसँग रहन्छु, र त्यसपछि मलाई पठाउनुहुनेकहाँ जानेछु। तिमीहरूले मलाई खोज्नेछौ, तर भेट्टाउनेछैनौ। म जहाँ हुन्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।”

यहूदीहरूले आपसमा भने, “यी मानिस कहाँ जान लाग्दैछन्, र हामी यिनलाई भेट्टाउनेछैनौँ? के यिनी ग्रीकहरूका बीचमा छरिएर बसेका हाम्रा मानिसहरूकहाँ जान, र ग्रीकहरूलाई शिक्षा दिन चाहन्छन्? यिनले यसो भन्‍नुको अर्थ के हो? ‘तिमीहरूले मलाई खोज्नेछौ, तर भेट्टाउनेछैनौ’ र ‘म जहाँ हुन्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ?’ ”

चाडको अन्तिम र प्रमुख दिनमा येशू उभिएर उच्‍च सोरमा भन्‍नुभयो, “यदि कोही तिर्खाउँछ भने ऊ मकहाँ आओस् र पिओस्। जसले ममाथि विश्‍वास गर्छ, धर्मशास्त्रले भनेअनुसार तिनीहरूका अन्तस्करणबाट जिउँदो पानीका नदीहरू बगेर निस्कनेछन्।” यो कुरा उहाँले पवित्र आत्माको विषयमा भन्‍नुभएको थियो, जसलाई उहाँमाथि विश्‍वास गर्नेहरूले प्राप्‍त गर्न लागेका थिए। त्यस बेलासम्म पवित्र आत्मा दिइएको थिएन। किनकि येशू अझैसम्म महिमित हुनुभएको थिएन।

उहाँका वचन सुनेर भीडमा भएका मानिसहरूमध्ये कतिले भने, “निश्‍चय नै यी मानिस अगमवक्ता हुन्।”

अरूहरूले भने, “उहाँ ख्रीष्‍ट हुनुहुन्छ।”

तर अझै अरूहरूले प्रश्न गरे, “ख्रीष्‍ट कसरी गालीलबाट आउन सक्छन् र? के धर्मशास्त्रमा ख्रीष्‍ट दावीदको वंशबाट र दावीदकै सहर बेथलेहेमबाट आउनेछन् भनी लेखिएको छैन र?” यसरी येशूका कारण मानिसहरूका बीचमा फाटो आयो। कति मानिसहरूले उहाँलाई पक्रन चाहन्थे, तर उहाँमाथि कसैले पनि हात हालेन।

यहूदी अगुवाहरूको अविश्‍वास

अन्त्यमा मन्दिरका पहरेदारहरू मुख्य पुजारीहरू र फरिसीहरूकहाँ फर्केर गए। तिनीहरूले यिनीहरूलाई सोधे, “तिमीहरूले त्यसलाई किन ल्याएनौ?”

पहरेदारहरूले जवाफ दिए, “यस मानिसले जस्तो त कुनै पनि मानिसले कहिल्यै बोलेन।”

फरिसीहरूले खिसी गर्दै भने, “त्यसको मतलब तिमीहरू पनि बहकिन पुग्यौ, होइन त? के शासकहरू अथवा फरिसीहरूमध्ये कसैले येशूमाथि विश्‍वास गरेको छ र? तर यो भीड, जसले व्यवस्था जान्दैनन्, तिनीहरू श्रापित छन्।”

निकोदेमस, जो पहिले येशूकहाँ गएका थिए, जो तिनीहरूमध्येकै एक थिए; तिनले भने, “के हाम्रो व्यवस्थाले कसैलाई उसले के गरिरहेको छ भनी जान्‍नको लागि नजाँची र सुनुवाइ नै नगरी दोषी ठहराउँछ र?”

तिनीहरूले जवाफ दिए, “के तिमी पनि गालीलकै हौ? धर्मशास्त्रमा खोजेर हेर, र तिमीले थाहा पाउनेछौ। किनभने गालीलबाट कुनै अगमवक्ता निस्कँदैन।”

त्यसपछि सबै जना आ-आफ्ना घरतिर गए।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.