Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

यूहन्‍ना 20

रित्तो चिहान

हप्‍ताको पहिलो दिन, अँध्यारैमा मरियम मग्दलिनी चिहानमा गइन्, र त्यस चिहानको मुखको ढुङ्गा एकातिर हटाइएको देखिन्। तब तिनी दौडिँदै सिमोन पत्रुस र येशूले औधी माया गर्ने अर्को चेलाकहाँ आइन्, र भनिन्, “तिनीहरूले प्रभुको शरीर चिहानबाट लगेछन्; र उहाँलाई कहाँ राखेका छन्, सो हामीलाई थाहा छैन!”

तब पत्रुस र ती अर्का चेला चिहानतिर दौडे। पत्रुसलाई उछिनेर ती अर्का चेला पहिले चिहानमा पुगे। तिनले निहुरेर भित्र हेर्दा सुती कपडाका पट्टीहरू मात्र त्यहाँ रहिरहेका देखे, तर उनी भित्र पसेनन्। त्यसै बेला सिमोन पत्रुस आइपुगे, र चिहानभित्र पसे। उनले सुतीको कपडाहरू त्यहीँ रहिरहेका देखे। शिरमा बाँधिएको लास बाँध्ने कपडाचाहिँ सुती कपडाहरूसित होइन, तर अलग्गै एक ठाउँमा पट्याएर राखिएको देखे। आखिरमा चिहानमा पहिले आइपुग्ने अर्का ती चेला पनि भित्र पसे, र त्यो देखेर तिनले विश्‍वास गरे। (तिनीहरूले उहाँ मृतकहरूबाट जीवित भएर उठ्नुपर्छ भन्‍ने धर्मशास्त्रको वचन अहिलेसम्म पनि बुझेकै थिएनन्।) त्यसपछि चेलाहरू आ-आफ्ना घर फर्के।

येशू मरियम मग्दलिनीकहाँ देखा पर्नुभएको

तर मरियम रुँदै चिहानबाहिर उभिरहिन्। तिनले रुँदै चिहानतिर निहुरिएर हेरिन्, अनि त्यहाँ सेतो लुगा पहिरेका दुई स्वर्गदूतहरूलाई येशूको मृत शरीर राखिएको ठाउँमा शिर र खुट्टापट्टि एक-एक जनालाई बसिरहेका देखिन्।

ती स्वर्गदूतहरूले सोधे, “हे नारी, तिमी किन रुँदैछ्यौ?”

तिनले उत्तर दिइन्, “तिनीहरूले मेरा प्रभुलाई लगेका छन्, र तिनीहरूले उहाँलाई कहाँ राखेका छन्, मलाई थाहा छैन।” तब यसो भनेर तिनले पछि फर्केर हेरिन्, र येशूलाई उभिरहनुभएको देखिन्, तर उहाँ येशू नै हुनुहुन्छ भनेर चाहिँ चिनिनन्।

“हे नारी! तिमी किन रुँदैछ्यौ?” उहाँले तिनलाई सोध्नुभयो, “तिमी कसलाई खोज्दैछ्यौ?”

तिनीसँग बोल्ने व्यक्ति माली पो रहेछ भनी तिनले सोचिन् र भनिन्, “हजुर, तपाईंले उहाँलाई लैजानुभएको छ भने तपाईंले उहाँलाई कहाँ राख्नुभएको छ, मलाई भन्‍नुहोस्, र म उहाँलाई लैजानेछु।”

येशूले तिनलाई भन्‍नुभयो, “मरियम!”

तिनी उहाँतिर फर्किन् र आरामाईक भाषामा चिच्याएर भनिन्, “रब्बोनी!” (जसको अर्थ हो, गुरुज्यू)।

येशूले भन्‍नुभयो, “मलाई नछोऊ, किनकि म अझै पिताकहाँ गएको छैनँ। बरु जाऊ, र मेरा भाइहरूलाई भेटेर ‘म मेरा पिता र तिमीहरूका पिता अर्थात् मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ जाँदैछु’ भन्‍ने समाचार भनिदेऊ।”

मरियम मग्दलिनी चेलाहरूकहाँ आइन् र भनिन्, “मैले प्रभुलाई देखेँ।” अनि प्रभुले यी कुराहरू तिनलाई भन्‍नुभएको हो भनी तिनले भनिन्।

येशू चेलाहरूकहाँ देखा पर्नुभएको

त्यही दिन, हप्‍ताको पहिलो दिनको साँझमा, चेलाहरू; यहूदी अगुवाहरूको डरले ढोकाहरू बन्द गरी भेला भएकै बेलामा येशू आउनुभयो र तिनीहरूका बीचमा उभिएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस्!” यति भनिसक्नुभएपछि येशूले आफ्ना हातहरू र कोखा तिनीहरूलाई देखाउनुभयो। तब प्रभुलाई देखेर चेलाहरू अत्यन्तै आनन्दित भए।

येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस्! पिताले मलाई पठाउनुभएझैँ, म पनि तिमीहरूलाई पठाउँदैछु।” त्यसपछि उहाँले तिनीहरूमाथि आफ्नो सास फुकिदिनुभयो र भन्‍नुभयो, “पवित्र आत्मा लेओ। यदि तिमीहरूले कसैको पाप क्षमा गर्‍यौ भने ती क्षमा हुन्छन्, र तिमीहरूले क्षमा गरेनौ भने ती क्षमा हुनेछैनन्।”

येशू थोमाकहाँ देखा पर्नुभएको

बाह्र चेलाहरूमध्ये एक जना “दिदुमस” भन्‍ने थोमा येशू आउनुहुँदा तिनीहरूसित थिएनन्। “हामीले प्रभुलाई देख्यौँ” भनेर अरू चेलाहरूले थोमालाई भने।

तर तिनले तिनीहरूलाई यसो भने, “उहाँको हातमा काँटीहरूका डोब नदेखेसम्म, र काँटीहरूका डोबमा मेरा औँलाहरू नहालेसम्म, र उहाँको कोखामा मेरो हात नराखेसम्म, म यो कुरा विश्‍वास गर्नेछैनँ।”

एक हप्‍तापछि उहाँका चेलाहरू फेरि घरमा भेला हुँदा थोमा पनि तिनीहरूसँग थिए। ढोका बन्द भए तापनि येशू तिनीहरूका बीचमा आउनुभयो, र तिनीहरूका सामु उभिनुभयो, र भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस्!” त्यसपछि थोमालाई उहाँले भन्‍नुभयो, “तिम्रा औँलाहरू यहाँ राख, र मेरा हातहरू हेर; अनि तिम्रा हात मेरा कोखामा राख। अब उसो अविश्‍वासी नहोऊ, तर विश्‍वासी होऊ।”

थोमाले उहाँलाई भने, “हे मेरा प्रभु, हे मेरा परमेश्‍वर!”

त्यसपछि येशूले तिनलाई भन्‍नुभयो, “तिमीले मलाई देखेको कारण विश्‍वास गरेका छौ; तर मलाई नदेखिकन पनि विश्‍वास गर्नेहरू धन्यका हुन्।”

यूहन्‍नाले लेखेका सुसमाचारको उद्देश्य

येशूले आफ्ना चेलाहरूका अगि अरू पनि धेरै अलौकिक चिन्हहरू गर्नुभयो, जुन यस पुस्तकमा लेखिएका छैनन्। तर यो लेखिएको छ, कि तिमीहरूले येशू नै परमेश्‍वरका पुत्र, ख्रीष्‍ट हुनुहुन्छ भनेर विश्‍वास गर। अनि विश्‍वास गरेको कारण तिमीहरूले उहाँको नाममा जीवन प्राप्‍त गर्न सक।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.