Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
यूहन्ना 15
दाखको बोट र हाँगाहरू
येशूले भन्नुभयो, “साँचो दाखको बोट म नै हुँ, र मेरा पिताचाहिँ किसान हुनुहुन्छ। ममा फल नफल्ने प्रत्येक हाँगालाई उहाँले काटिदिनुहुन्छ, तर फल्ने हाँगाहरूलाई अझ बढी फलोस् भनेर उहाँले छिँवल्नुहुन्छ1। मैले तिमीहरूसँग बोलेका वचनले तिमीहरू शुद्ध भइसकेका छौ। ममा रहो, र म तिमीहरूमा रहनेछु। कुनै पनि हाँगा दाखको बोटमा रहिरहेन भने आफैँ फल फलाउन सक्दैन। त्यसै गरी ममा रहिरहेनौ भने तिमीहरूले पनि फल फलाउन सक्दैनौ।
“दाखको बोट म नै हुँ; अनि तिमीहरू हाँगाहरू हौ। यदि कुनै मानिस ममा रहन्छ, र म त्यसमा रहन्छु भने त्यसले धेरै फल फलाउँछ। मबाट अलग रहेर तिमीहरूले केही गर्न सक्दैनौ। यदि कोही ममा रहिरहँदैन भने त्यो हाँगाजस्तै मिल्काइन्छ, र त्यो सुक्छ; त्यस्ता हाँगाहरूलाई टिपेर आगोमा फालिदिइन्छन्, र ती जलाइन्छन्। तर यदि तिमीहरू ममा रहिरह्यौ र मेरा वचन तिमीहरूमा रहिरहे भने तिमीहरूले चिताएको जे पनि माग, र त्यो दिइनेछ। तिमीहरू मेरा चेलाहरू हौ भनी देखाउन धेरै फल फलायौ भने त्यसबाट मेरा पितालाई ठूलो महिमा मिल्नेछ।
“पिताले मलाई प्रेम गर्नुभएझैँ, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। अब तिमीहरू मेरो प्रेममा रहिरहो। जसरी मैले मेरा पिताको आज्ञापालन गरेर उहाँको प्रेममा रहिरहन्छु, त्यसरी नै तिमीहरूले पनि मेरा आज्ञापालन गर्यौ भने तिमीहरू मेरो प्रेममा रहिरहनेछौ। मेरो आनन्द तिमीहरूमा रहोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको हुँ, ताकि तिमीहरूको आनन्द पूर्ण होस्! मेरो आज्ञा यही हो: एक-अर्कालाई प्रेम गर, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु। आफ्नो जीवन आफ्ना मित्रहरूका लागि अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन। यदि तिमीहरूले मेरो आज्ञा मान्यौ भने तिमीहरू मेरा मित्रहरू हौ। अब उसो म तिमीहरूलाई सेवक भन्दिनँ; किनकि सेवकलाई आफ्ना मालिकको कुरा थाहा हुँदैन; तर मैले तिमीहरूलाई मित्रहरू भनेको छु; किनकि पिताबाट मैले सिकेका सबै कुरा मैले तिमीहरूलाई थाहा दिएको छु। तिमीहरूले मलाई चुनेनौ, तर मैले तिमीहरूलाई चुनेँ; र तिमीहरूलाई सधैँ रहिरहने फल फलाउनलाई नियुक्त गरेँ। मेरो नाममा तिमीहरूले जे मागौला, पिताले सो तिमीहरूलाई दिनुहुनेछ। मेरो आज्ञा यही हो: एक-अर्कालाई प्रेम गर।
संसारले चेलाहरूलाई घृणा गर्दछ
“यदि संसारले तिमीहरूलाई घृणा गर्यो भने त्यसले पहिला मलाई नै घृणा गरेको हो भनी सम्झ। तिमीहरू संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफ्नालाई झैँ प्रेम गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ। किनकि संसारदेखि अलग रहन मैले तिमीहरूलाई चुनेँ। यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ। मैले तिमीहरूलाई भनेका कुरा सम्झ: ‘कुनै पनि सेवक आफ्नो मालिकभन्दा ठूलो हुँदैन।’2 यदि तिनीहरूले मलाई सताएका छन् भने तिमीहरूलाई पनि तिनीहरूले सताउनेछन्। तिनीहरूले मेरा शिक्षा सुनेका भए, तिमीहरूका शिक्षा पनि सुन्नेथिए। मेरो नामको कारणले गर्दा तिनीहरूले तिमीहरूलाई यस्तो व्यवहार गर्नेछन्। किनकि मलाई पठाउनुहुनेलाई तिनीहरूले चिन्दैनन्। म आएर तिनीहरूलाई नभनेको भए तिनीहरू पापको दोषी ठहरिने थिएनन्; तर अब आफ्ना पापको निम्ति तिनीहरूसँग कुनै बहाना छैन। मलाई घृणा गर्नेले मेरा पितालाई पनि घृणा गर्दछ। पहिला अरू कसैले नगरेका कामहरू मैले तिनीहरूका बीचमा नगरेको भए तिनीहरू पापको दोषी ठहरिने थिएनन्। तर अब तिनीहरूले यी अचम्मका कामहरू देखेका छन्, तापनि म र पिता हामी दुवैलाई तिनीहरूले घृणा गरेका छन्। तर तिनीहरूका व्यवस्थामा लेखिएको यो कुरा पूरा हुनलाई यसो भएको हो: ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे।’3
पवित्र आत्माको काम
“जब मैले पिताको तर्फबाट तिमीहरूकहाँ सल्लाहकार पठाउनेछु, अर्थात् पिताबाट आउनुहुने सत्यको आत्मा तिमीहरूकहाँ आउनुहुनेछ, तब उहाँले मेरो विषयमा साक्षी दिनुहुनेछ। अनि तिमीहरूले पनि साक्षी दिनैपर्छ; किनकि तिमीहरू सुरुदेखि नै मसँग रहेका छौ।”
Source notes (3)
- Footnote मूल भाषामा छिँवल्नु को अर्थ सफा गर्नु पनि हुन्छ।
- Footnote यूह 13:16
- Footnote भजन 35:19; 69:4
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.