Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
यशैया 21
बेबिलोनको विरुद्धमा भविष्यवाणी
समुद्रको किनारमा भएको उजाडस्थानको विषयमा भविष्यवाणी:
भुमरीले दक्षिण देशलाई स्वात्तै लगेझैँ,
उजाडस्थानबाट, आतङ्कको देशबाट
एउटा आक्रमणकारी आउँछ।
मलाई एउटा डरलाग्दो दर्शन देखाइएको छ:
देशद्रोहीले विश्वासघात गर्छ, लुटेराले लुटेर लैजान्छ।
एलाम, आक्रमण गर्! मादी घेरा हाल्!
म त्यसका सबै क्रन्दनहरू समाप्त गरिदिनेछु।
यस दर्शनले मेरो शरीर कष्टले भरिएको छ,
मलाई प्रसव-वेदनामा परेकी स्त्रीलाई झैँ व्यथा लागेको छ;
म जे सुन्छु, त्यसको कारण म धरमराएको छु,
म जे देख्छु, त्यसको कारण म हडबडाएको छु।
मेरो हृदय काम्छ,
डरले मलाई ढुक-ढुक बनाउँछ;
मैले इच्छा गरेको साँझ
मेरा निम्ति त्रास भएको छ।
तिनीहरू टेबुल सजाउँछन्,
तिनीहरू गलैँचा ओछ्याउँछन्,
तिनीहरू खान्छन्, तिनीहरू पिउँछन्!
अधिकृतहरू उठ,
ढालमा तेल लगाओ!
प्रभु मलाई यसो भन्नुहुन्छ:
“जा, पहरेदार खटा,
र त्यसले के देख्छ, त्यो बताओस्।
जब त्यसले घोडाको टोलीसित रथहरू,
गधामाथि सवार भएकाहरू
अथवा ऊँटमाथि सवार भएकाहरूलाई देख्छ,
तब त्यो सावधान,
खूबै सावधान रहोस्।”
तब पहरेदार1 चिच्यायो,
“मेरा प्रभु, म दिनहुँ धरहरामा खडा रहन्छु;
प्रत्येक रात म आफ्नो चौकीमा बस्छु।
हेर्नुहोस्, एउटा मानिस घोडाहरूको टोलीसित
रथमा सवार भएर आइरहेछ।
अनि त्यसले प्रत्युत्तर दिन्छ:
‘बेबिलोन ढलेको छ, ढलेको छ!
त्यसका देवताहरूका सबै मूर्तिहरू
चकनाचुर पारिएर भुइँमा छरिएका छन्।’ ”
हे खलामा दाइँ गरिएका मेरा मानिस हो,
मैले सेनाहरूका याहवेह, इस्राएलका परमेश्वरबाट
जे सुनेको छु,
त्यो म तिमीहरूलाई भन्छु।
एदोमको विरुद्धमा भविष्यवाणी
दुमाको2 विरुद्धमा भविष्यवाणी:
सेइरबाट मलाई कसैले बोलाउँछ,
“पहरेदार, रात कति बाँकी छ?
पहरेदार, रात कति बाँकी छ?”
पहरेदारले जवाफ दिन्छ,
“बिहान हुन लाग्यो, तर पनि रात आउँदैछ।
यदि तिमीलाई केही सोधखोज गर्ने हो भने सोध;
र फेरि फर्केर सोध्न आऊ।”
अरबको विरुद्धमा भविष्यवाणी
अरब देशको विषयमा भविष्यवाणी:
ददानीहरूका यात्री दलहरू,
जो अरबका झाडीहरूमा छाउनी हालेर बस्छौ,
तिर्खाएकाहरूको निम्ति पानी ल्याओ;
तेमामा बस्नेहरू,
शरणार्थीहरूका निम्ति भोजन ल्यायो।
तिनीहरू तरवारबाट,
नाङ्गो तरवारबाट,
नुहेका धनुबाट,
र घोर लडाइँबाट भाग्छन्।
प्रभु मलाई यसो भन्नुहुन्छ: “वाचा-बन्धनमा परेको सेवकले दिन गनेझैँ एक वर्षभित्रमा केदारका सबै रवाफ समाप्त हुनेछ। धनुर्धारीहरू र केदारका योद्धाहरू थोरै मात्र बाँच्नेछन्।” याहवेह, इस्राएलका परमेश्वर बोल्नुभएको छ।
Source notes (2)
- Footnote केही प्राचीन पा.लि.हरूमा सिंह
- Footnote दुमाको एदोमको अर्को नाम हो, अर्थ शान्त
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.