Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

उत्पत्ति 35

याकोब बेथेलमा फर्केका

तब परमेश्‍वरले याकोबलाई भन्‍नुभयो, “बेथेल गएर त्यहीँ बसोबास गर्, र तँ तेरा दाजु एसावदेखि भागेको बेला तँकहाँ देखा पर्नुहुने परमेश्‍वरका लागि त्यहाँ एउटा वेदी बना।”

यसकारण याकोबले आफ्नो घराना र आफूसँग भएका सबैलाई भने, “तिमीहरूसँग भएका परदेशी देवताहरू त्याग, र आफूलाई शुद्ध पार, र आफ्ना लुगाहरू फेर। त्यसपछि आओ र हामी बेथेल जाऔँ, जहाँ म परमेश्‍वरका निम्ति एउटा वेदी बनाउनेछु, जसले मेरो सङ्कटमा मलाई जवाफ दिनुभयो र, म जहाँ-जहाँ गएँ, मेरो साथमा रहनुभयो।” यसकारण तिनीहरूले आफूसित भएका सबै विदेशी देवताहरू र आफ्ना कानका कुण्डलहरू याकोबलाई दिए; अनि याकोबले ती शेकेममा भएको फलाँटको रूखमुनि गाडिदिए। त्यसपछि तिनीहरू त्यहाँबाट हिँडे, र तिनीहरू गएको चारैतिरका नगरहरूमा परमेश्‍वरको त्रास फैलियो। त्यसकारण कसैले पनि याकोबका छोराहरूलाई खेदेन।

याकोब र तिनीसित भएका सबै मानिसहरू कनानको लूजमा (अर्थात्, बेथेलमा) आए। त्यहाँ तिनले एउटा वेदी बनाए, र तिनले त्यस ठाउँलाई एल-बेथेल1 भने; किनकि तिनी आफ्ना दाजुदेखि भागेर जाँदा त्यहीँ नै परमेश्‍वरले आफूलाई तिनीकहाँ प्रकट गर्नुभएको थियो।

अब रिबेकाकी धाईआमा दबोराको मृत्यु भयो, र तिनलाई बेथेलबाहिर फलाँटको रूखमुनि गाडियो। यसकारण त्यसको नाम अल्‍लोन-बकुत2 राखियो।

याकोब पद्दन-अरामबाट फर्केपछि परमेश्‍वर तिनीकहाँ फेरि देखा पर्नुभयो, र तिनलाई आशिष् दिनुभयो। परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “तेरो नाम याकोब हो; तर अब उसो तँलाई याकोब भनिनेछैन, तर तेरो नाम इस्राएल3 हुनेछ।” यसरी उहाँले तिनको नाम इस्राएल राख्नुभयो।

अनि परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “म सर्वशक्तिमान् परमेश्‍वर हुँ; फल्दै-फुल्दै र संख्यामा वृद्धि हुँदै जानू। तँबाट एउटा राष्ट्र र जाति-जातिहरूको एउटा समुदाय निस्कनेछ; र तेरा सन्तानहरूका बीचबाट राजाहरू निस्कनेछन्। मैले अब्राहाम र इसहाकलाई दिएको देश म तँलाई पनि दिनेछु, र यही देश म तँपछि तेरा सन्तानहरूलाई पनि दिनेछु।” त्यसपछि परमेश्‍वर आफूले तिनीसित कुरा गर्नुभएको त्यस ठाउँबाट माथि जानुभयो।

याकोबले तिनीसित परमेश्‍वरले कुरा गर्नुभएको ठाउँमा एउटा खाँबो ठड्याए; अनि त्यसमाथि तिनले अर्घबलि चढाए; अनि त्यसमाथि तेल पनि खन्याए। परमेश्‍वरले तिनीसित कुरा गर्नुभएको त्यस ठाउँको नाम याकोबले बेथेल4 राखे।

राहेल र इसहाकको मृत्यु

त्यसपछि तिनीहरू बेथेलबाट हिँडे। तिनीहरू एप्रातदेखि टाढा छँदै राहेललाई सुत्केरी व्यथा लागेर ज्यादै पीडा भयो। अनि तिनलाई सुत्केरी व्यथाले कष्‍ट हुँदा सुँडेनीले तिनलाई भनिन्, “नडराउनुहोस्, किनकि तपाईंले अर्को छोरालाई जन्म दिनुभएको छ।” जब तिनी मर्नै लागेकी थिइन्, तिनले अन्तिम सास लिँदैगर्दा, तिनले आफ्नो छोराको नाम बेन-ओनी5 राखिन्। तर त्यसका बुबाले त्यसको नाम बेन्यामीन6 राखे।

यसरी राहेलको मृत्यु भयो, र तिनी एप्रात (अर्थात् बेथलेहेम) जाने बाटोमा गाडिइन्। तिनको चिहानमाथि याकोबले एउटा खाँबो खडा गरे; अनि त्यो खाँबो राहेलको चिहानको सङ्केतको रूपमा आजसम्म पनि छँदैछ।

इस्राएल अझै अगि बढे, र आफ्नो पाल मिग्दल-एदेरको पारिपट्टि टाँगे। इस्राएल त्यस प्रान्तमा रहेकै बेला रूबेन आफ्ना बुबाकी उपपत्नी बिल्हासित सुते; अनि इस्राएलले यसको बारेमा सुने।

याकोबका बाह्र छोराहरू थिए:

लेआका छोराहरू:

रूबेन, जो याकोबका जेठा छोरा थिए,

शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून।

राहेलका छोराहरू:

योसेफ र बेन्यामीन।

राहेलकी सेविका बिल्हाका छोराहरू:

दान र नप्‍ताली।

लेआकी सेविका जिल्पाका छोराहरू:

गाद र आशेर।

पद्दन-अराममा जन्मेका याकोबका छोराहरू यिनै थिए।

याकोब किर्यत-अर्बाको (अर्थात्, हेब्रोन) नजिक मम्रेमा आफ्ना पिता इसहाककहाँ आए, जहाँ अब्राहाम र इसहाक बस्थे। इसहाक एक सय असी वर्षसम्म बाँचे। तब इसहाकले आफ्नो पूरा बुढेसकालमा, पूरा आयुमा तिनले अन्तिम सास फेरे, र तिनको मृत्यु भयो; अनि आफ्ना पुर्खाहरूसित मिल्न गए। अनि तिनका छोराहरू एसाव र याकोबले तिनलाई गाडे।

Source notes (6)
  1. Footnote एल-बेथेल जसको अर्थ बेथेलका परमेश्‍वर।
  2. Footnote अल्‍लोन-बकुत जसको अर्थ रुवाबासीको फलाँटको रूख।
  3. Footnote इस्राएल जसको अर्थ उनी परमेश्‍वरसँग सङ्घर्ष गर्छन्।
  4. Footnote बेथेल जसको अर्थ परमेश्‍वरको घर।
  5. Footnote बेन-ओनी जसको अर्थ मेरो पीडामा जन्मिएको छोरा।
  6. Footnote बेन्यामीन जसको अर्थ मेरो दायाँ हातको छोरा।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.