Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

उत्पत्ति 13

अब्राम र लोत छुट्टिएका

यसरी अब्राम आफ्नी पत्नी र आफूसित भएका सबै थोकहरू लिएर इजिप्टबाट दक्षिणतिर गए, र लोत पनि तिनको पछि लागे। अब्राम घरपालुवा पशुहरू, सुन र चाँदीमा प्रशस्त धनवान् भएका थिए।

दक्षिणबाट धेरै ठाउँहरूहुँदै तिनी बेथेलमा आइपुगे, अर्थात् बेथेल र ऐको बीच ठाउँमा जहाँ पहिले तिनको पाल टाँगिएको थियो र त्यहाँ तिनले पहिलो वेदी बनाएका थिए। त्यहाँ अब्रामले याहवेहको नामलाई पुकार गरे।

अब्रामसित यात्रा गर्ने लोतका पनि भेडाबाख्रा, गाईबस्तुहरूका बथान र पालहरू थिए। तर तिनीहरू एकैसाथ रहनका लागि जमिनले धान्‍न सकेन; किनकि तिनीहरूका सम्पत्तिहरू यति धेरै थिए कि तिनीहरू एकैसाथ रहन सकेनन्। अनि अब्रामका गोठालाहरू र लोतका गोठालाहरू बीचमा झगडा सुरु भयो। त्यस बेला त्यस देशमा कनानी र परिज्जीहरू पनि बसोबास गर्थे।

यसकारण अब्रामले लोतलाई भने, “तिम्रो र मेरो बीचमा, र तिम्रा गोठालाहरू र मेरा गोठालाहरू बीचमा झगडा नहोस्; किनकि हामी नजिकका नातेदार हौँ। के सम्पूर्ण देश तिम्रो सामु छैन र? हामी अलग होऔँ। तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जानेछु; तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु।”

त्यसपछि लोतले चारैतिर हेरे; सोअरतिरको यर्दनको सबै समथल भूमिलाई याहवेहको बगैँचाझैँ प्रशस्त पानी भएको इजिप्ट देशजस्तै देखे। (योचाहिँ याहवेहले सदोम र गमोरालाई नष्‍ट गर्नु अगिको कुरा थियो।) यसकारण लोतले आफ्ना निम्ति यर्दनका सबै समथल भूमिलाई चुने; अनि पूर्वतिर लागे। यसरी यी दुई मानिसहरू एक-अर्काबाट अलग भए। अब्राम कनान देशमै बसे, र लोतचाहिँ समथल भूमिका सहरहरूमध्ये एउटामा बसे; अनि तिनले सदोमको छेउमा आफ्ना पालहरू टाँगे। सदोमका मानिसहरू दुष्‍ट थिए, र याहवेहको विरुद्धमा घोर पाप गरिरहन्थे।

अब्रामबाट लोत छुट्टिएपछि याहवेहले अब्रामलाई भन्‍नुभयो, “तँ जहाँ छस्, त्यहाँबाट उत्तर र दक्षिण, पूर्व र पश्‍चिम चारैतिर हेर्। तैँले देखेको सबै जमिन तँ र तेरा सन्तानहरूलाई म सदाका निम्ति दिनेछु। म तेरा सन्तानहरूलाई पृथ्वीको धुलोझैँ बनाउनेछु, र कसैले धुलो गन्‍न सक्छ भने तेरा सन्तानहरूलाई पनि गन्‍न सक्नेछ। जा, त्यस देशको लम्बाइ र चौडाइ वारपार हिँड्; किनकि यो म तँलाई दिँदैछु।”

यसकारण अब्रामले आफ्नो पाल सारे, र हेब्रोनमा मम्रेका फलाँटका ठूला रूखहरूको छेउमा गएर बसे; त्यहाँ तिनले याहवेहको निम्ति एउटा वेदी बनाए।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.