Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

प्रस्थान 13

जेठाहरूको अर्पण

याहवेहले मोशालाई भन्‍नुभयो, “पहिले जन्मेका प्रत्येक पुरुषलाई मेरा निम्ति अर्पण गर। इस्राएलीहरूबीच गर्भको हरेक पहिलो फल मेरो हो—चाहे त्यो मानिस होस् वा पशु।”

तब मोशाले मानिसहरूलाई भने, “यस दिनलाई सम्झना गर, जुन दिन तिमीहरू इजिप्टबाट, दासत्वको देशबाट निस्केर आयौ; किनकि याहवेहले तिमीहरूलाई शक्तिशाली हातले त्यहाँबाट बाहिर निकालेर ल्याउनुभयो। खमिर भएको कुनै कुरा नखाओ। आज आबीब1 महिनामा तिमीहरू निस्कँदैछौ। जब याहवेहले तिमीहरूलाई कनानीहरू, हित्तीहरू, एमोरीहरू, हिव्वीहरू र यबूसीहरूको देश—उहाँले तिमीहरूका पितापुर्खाहरूलाई दिनेछु भनेर शपथ खानुभएको दूध र मह बग्ने देशमा ल्याउनुहुनेछ, तब तिमीहरूले यही महिनामा यो उत्सव मनाउनुपर्छः सात दिनसम्म खमिर नमिसाइएको रोटी खानू र सातौँ दिनमा याहवेहका निम्ति चाड मनाउनू। ती सात दिनहरूमा अखमिरी रोटी खानू; तिमीहरूका साँधसिमानाभित्र खमिर भएका चीज र खमिर देखिनुहुँदैन। त्यस दिन तिमीहरूले आफ्ना छोरालाई भन्‍नू, ‘म इजिप्टबाट निस्केर आउँदा याहवेहले मेरो लागि जे गर्नुभयो, त्यसका लागि म यो गर्छु।’ याहवेहको व्यवस्था तिमीहरूका ओठमा रहोस् भनी यो रीति तिमीहरूको हातमा एउटा चिन्हस्वरूप र तिमीहरूका निधारमा एउटा सम्झना दिलाउने कुरो हुनेछ; किनकि याहवेहले तिमीहरूलाई इजिप्टबाट उहाँको शक्तिशाली हातले निकालेर ल्याउनुभयो। तिमीहरूले यो रीति वर्षैपिच्छे तोकिएको समयमा पालन गर्नुपर्छ।

“उहाँले तिमीहरू र तिमीहरूका पितापुर्खाहरूसित शपथद्वारा प्रतिज्ञा गर्नुभएझैँ याहवेहले तिमीहरूलाई कनानीहरूको देशमा ल्याएर त्यो तिमीहरूलाई दिनुभएपछि, तिमीहरूले प्रत्येक गर्भको पहिलो फल याहवेहलाई दिनुपर्छ। तिमीहरूका पशुहरूका पहिले जन्मेका सबै नरहरू याहवेहकै हुन्। पहिले जन्मेको गधालाई एउटा पाठो दिएर छुटाउनू, तर तिमीहरूले त्यसलाई छुटाएनौ भने त्यसको घाँटी भाँचिदिनू। तिमीहरूका छोराहरूमध्ये जेठालाई छुटाउनू।

“भविष्यमा जब तिमीहरूका छोराले ‘यसको अर्थ के हो?’ भनी सोध्नेछ, तब त्यसलाई भन्‍नू, ‘याहवेहले हामीलाई शक्तिशाली हातले दासत्वको देश इजिप्टबाट निकालेर ल्याउनुभयो। जब फारोले हठी भएर हामीलाई जान दिएनन्, याहवेहले इजिप्टमा मानिस र पशुबाट प्रथम जन्मेका हरेकलाई मार्नुभयो। यसैकारण म प्रत्येक गर्भको प्रथम नरलाई याहवेहका निम्ति बलिदान चढाउँछु, र मेरा पहिला जन्मेका प्रत्येक छोरालाई छुटाउँछु।’ अनि याहवेहले हामीलाई इजिप्टबाट शक्तिशाली हातले निकालेर ल्याउनुभयो भन्‍ने यो तिमीहरूका हातमा चिन्हस्वरूप र निधारमा सङ्केतस्वरूप हुनेछ।”

लाल समुद्रपार गरेका

जब फारोले ती मानिसहरूलाई जान दिए, याहवेहले तिनीहरूलाई पलिश्तीहरूको देश भएर डोर्‍याउनुभएन; यद्यपि त्यो छोटो थियो। किनकि परमेश्‍वरले भन्‍नुभयो, “तिनीहरूले युद्धको सामना गर्नुपर्‍यो भने तिनीहरूले आफ्ना मन परिवर्तन गरेर इजिप्टतिरै फर्कन सक्छन्।” यसकारण परमेश्‍वरले मानिसहरूलाई घुमाएर लाल समुद्रतिर जाने उजाडस्थानको बाटोमा डोर्‍याउनुभयो। इस्राएलीहरू इजिप्टबाट लडाइँको लागि तयारी भएर निस्के।

मोशाले आफूसित योसेफको अस्थि लगे; किनकि योसेफले इस्राएलका छोराहरूलाई शपथ खान लाएका थिए। तिनले भनेका थिए, “परमेश्‍वर निश्‍चय नै तिमीहरूको सहायताका निम्ति आउनुहुनेछ, र तिमीहरूले मेरो अस्थि यस ठाउँबाट आफूसित लैजानुपर्छ।”2

सुक्‍कोत छोडेपछि तिनीहरू उजाडस्थानको नजिकै एथाममा पाल टाँगेर बसे। तिनीहरू दिन र रात यात्रा गर्न सकून् भनेर दिउँसो याहवेह तिनीहरूलाई बाटोमा डोर्‍याउनलाई बादलको खामोमा र राति तिनीहरूलाई प्रकाश दिनलाई आगोको खामोमा तिनीहरूका अगि-अगि जानुभयो। न त दिउँसो बादलको खामोले, न त राति आगोको खामोले मानिसहरूका अगि-अगि जान कहिल्यै छोड्यो।

Source notes (2)
  1. Footnote प्राचीन हिब्रूहरूले चन्द्र वर्ष मान्दथे, जसअनुसार आबीब वर्षको पहिलो महिना हो, र यो अप्रिल महिनामा पर्दछ।
  2. Footnote हेर्नुहोस् उत्प 50:25

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.