Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

2 इतिहास 28

यहूदाका राजा आहाज

राजा हुँदा आहाज बीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनले आफ्ना पुर्खा दावीदले गरेझैँ याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यो गरेनन्। तिनी इस्राएलका राजाहरूका चालहरूमा हिँडे, र बाल-देवताहरूका निम्ति ढलौटे मूर्तिहरू पनि बनाए। तिनले बेन-हिन्‍नोमको बेँसीमा बलिदानहरू चढाए; अनि याहवेहले इस्राएलीहरूका सामु धपाइदिनुभएका जातिहरूका घिनलाग्दा चालहरूमा चलेर आफ्ना सन्तानलाई आगोमा बलिदान चढाए। तिनले अग्ला देवस्थानहरू र डाँडाहरूमा प्रत्येक झ्याम्म परेको रूखमुनि बलिदानहरू चढाए र धूप बाले।

यसकारण याहवेह तिनका परमेश्‍वरले तिनलाई अरामका राजाको हातमा सुम्पिदिनुभयो। अरामीहरूले तिनलाई परास्त गरे, र तिनका धेरै मानिसहरूलाई कैदी बनाएर दमस्कस ल्याए।

तिनलाई इस्राएलका राजाको हातमा दिइयो, जसले तिनलाई पूर्ण रूपले पराजित गरे। रमल्याहका छोरा पेकहले एकै दिनमा यहूदामा एक लाख बीस हजार सिपाहीहरू मारे; किनकि यहूदाले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरलाई त्यागेका थिए। एक जना एफ्राइम शूरवीर जिक्रीले राजाका छोरा मासेयाहलाई, महलका अधिपति अज्रीकाम र राजापछि दोस्रो हुने मानिस एल्कानालाई मारे। इस्राएलीहरूले आफ्नै सङ्गी-जाति, जो यहूदाबाट थिए; दुई लाख स्त्रीहरू, छोराहरू र छोरीहरूलाई कैद गरेर लगे। तिनीहरूले धेरै मात्रामा लुटका मालहरू लिएर सामरियामा लगे।

तर त्यहाँ ओदेद नाम गरेका याहवेहका एक जना अगमवक्ता थिए। फौज सामरियामा फर्केर आउँदा उनी तिनीहरूलाई भेट्न गए। उनले तिनीहरूलाई भने, “याहवेह तिमीहरूका पुर्खाहरूका परमेश्‍वर यहूदासित रिसाउनुभएको हुनाले उहाँले तिनीहरूलाई तिमीहरूका हातमा दिनुभयो। तर तिमीहरूले आफ्ना रिसमा तिनीहरूलाई मारेको कुरा स्वर्गसम्म पुगेको छ। अब तिमीहरूले यहूदा र यरूशलेमका पुरुषहरू र स्त्रीहरूलाई आफ्ना दास-दासी बनाउने इच्छा गरेका छौ। तर के तिमीहरू पनि याहवेह तिमीहरूका परमेश्‍वरको विरुद्धमा पापका दोषी छैनौ र? अब मेरा कुरा सुन! तिमीहरूले कैद गरेर ल्याएका आफ्नै जातिलाई फर्काइदेऊ; किनभने याहवेहको भयानक क्रोध तिमीहरूमाथि रहेको छ।”

तब एफ्राइमका केही अगुवाहरू, यहोहानानका छोरा अजर्याह, मशिल्‍लेमोतका छोरा बेरेक्याह, शल्‍लूमका छोरा यहिज्कयाह र हद्लैका छोरा अमासाले लडाइँबाट आएकाहरूसित तर्कवितर्क गरे। तिनीहरूले भने, “तिमीहरूले यी कैदीहरूलाई यहाँ नल्याओ; नत्रता हामी याहवेहको सामु दोषी हुनेछौँ। के तिमीहरू हाम्रा पाप र दोष थप्न चाहन्छौ? किनकि हाम्रा अपराध ठूलो छ र उहाँको भयानक क्रोध इस्राएलमाथि रहेको छ।”

यसकारण ती सिपाहीहरूले कैदीहरू र लुटका माललाई अधिकृतहरू र सारा समुदायको उपस्थितिमा छोडिदिए। नाम अनुसारका पद भएका मानिसहरूले कैदीहरूलाई लिए, र त्यस लुटका मालबाट तिनीहरूले नाङ्गाहरूलाई लुगा लगाइदिए। तिनीहरूले उनीहरूलाई लुगा, जुत्ता, भोजन, पानी र निको पार्ने मलम प्रबन्ध गरिदिए। कमजोर जतिलाई तिनीहरूले गधाहरूमाथि चढाए। यसरी तिनीहरूले आफ्नै जातिहरूलाई यरीहो, अर्थात् खजूरको सहरमा लिएर गए, र तिनीहरू सामरियामा फर्के।

त्यस बेला राजा आहाजले अश्शूरका राजाकहाँ सहायताका निम्ति बिन्ती गरे। एदोमीहरूले फेरि यहूदामाथि आक्रमण गरेर कैदीहरूलाई लगेका थिए। किनभने पलिश्तीहरूले पहाडहरूमा भएका सहरहरू र यहूदाको दक्षिणतिर1 लुटपाट गरेका थिए। तिनीहरूले बेथ-शेमेश, अय्यालोन, गदेरोत, सोको, तिम्ना, गिम्जो र तिनीहरूका चारैतिरका गाउँहरूसमेत कब्जा गरे। इस्राएलका राजा आहाजको कारणले नै याहवेहले यहूदालाई विनम्र तुल्याउनुभएको थियो; किनभने यहूदामा तिनले दुष्‍टता बढाएर तिनी याहवेहप्रति साह्रै नै विश्‍वासघाती भएका थिए। अश्शूरका राजा तिग्लत-पिलेसेर तिनीकहाँ आए, तर तिनले उनलाई सहायताको साटो दुःख दिए। आहाजले याहवेहको मन्दिरबाट, राजमहलबाट र राजकुमारहरूबाट केही चीजहरू लिएर ती अश्शूरका राजालाई चढाएका थिए; तर त्यसबाट तिनलाई केही सहायता मिलेन।

विपत्तिको समयमा राजा आहाज याहवेहप्रति अझ बढी अविश्‍वासी भए। तिनले आफूलाई परास्त गर्ने दमस्कसका देवताहरूकहाँ बलिदानहरू चढाए; किनकि तिनले सोचेका थिए, “अरामका राजाहरूका देवताहरूले तिनीहरूलाई सघाएको कारण मैले तिनीहरूकहाँ बलिदान चढाएँ भने तिनीहरूले मलाई पनि सघाउने छन्।” तर ती तिनको र सारा इस्राएलको पतनको कारण बने।

आहाजले परमेश्‍वरको मन्दिरबाट सजाउने सामानहरू जम्मा गरे र ती सामानहरूलाई टुक्रा-टुक्रा पारिदिए। तिनले याहवेहको मन्दिरका ढोकाहरू थुनिदिए, र यरूशलेमको सहरको प्रत्येक बाटोको कुनामा वेदीहरू खडा गरे। यहूदाका प्रत्येक सहरमा तिनले अरू देवताहरूलाई बलिदानहरू चढाउने ठाउँहरू निर्माण गरे, र याहवेह तिनका पुर्खाहरूका परमेश्‍वरलाई क्रोधित तुल्याए।

तिनको शासनकालका अरू घटनाहरू र तिनका सबै चालहरू, सुरुदेखि अन्त्यसम्म, यहूदा र इस्राएलका राजाहरूको पुस्तकमा लेखिएका छन्। आहाज आफ्ना पुर्खाहरूसित सुते, र यरूशलेमको सहरमा गाडिए, तर तिनी इस्राएलका राजाहरूका चिहानहरूमा राखिएनन्। तिनीपछि तिनका छोरा हिजकिया राजा भए।

Source notes (1)
  1. Footnote दक्षिणतिर अर्थात्, नेगेव

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.