Skip to content
BibleKenya

पवित्र बाइबल

यूहन्‍ना 21

यी कुराहरूपछि येशू आफैँ फेरि तिबेरियास समुद्रमा चेलाहरूकहाँ देखा पर्नुभयो, उहाँ यसरी देखा पर्नुभयो । सिमोन पत्रुस, दिदुमस भनिने थोमा, गालीलको कानाका नथानेल, जब्दियाका छोराहरू, र येशूका अरू दुई चेलासँगै थिए । सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जाँदै छु ।” तिनीहरूले तिनलाई भने, “हामी पनि तिमीसँगै आउनेछौँ ।” तिनीहरू गए, र डुङ्गामा चढे, तर रातभरिमा तिनीहरूले कुनै पनि माछा पक्रेनन् । अब बिहान सबेरै थियो । येशू समुद्रको किनारमा खडा हुनुभयो, तर उहाँ येशू हुनुहुन्थ्यो भनी चेलाहरूले चिनेनन् । त्यसैले, येशूले तिनीहरूलाई भन्‍नुभयो, “ए जवान मानिसहरू, के तिमीहरूसँग कुनै खानेकुरा छ ?” उनीहरूले उहाँलाई जवाफ दिए, “छैन ।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि तिमीहरूले केही भेट्टाउनेछौ ।” त्यसैले, तिनीहरूले आफ्नो जाल हाने, तर माछाहरू अति धेरै भएकोले तिनीहरूले त्यो तान्‍न सकेनन् । तब येशूले प्रेम गर्नुभएका चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु हुनुहुन्छ ।” जब सिमोन पत्रुसले उहाँ प्रभु हुनुहुन्छ भन्‍ने सुने, तिनले तिनको बाहिरी वस्‍त्र बाँधे (किनकि तिनले त्यो फुकालेका थिए), र समुद्रमा आफैँ हाम्फाले । अरू चेलाहरू डुङ्गामा चढे (किनकि तिनीहरू जमिनबाट धेरै टाढा थिएनन्, करिब सय मिटर टाढा मात्र थिए), र तिनीहरूले माछाले भरिएको जाल तानिरहेका थिए । जब तिनीहरू जमिनमा उत्रे, तिनीहरूले आगोको भुङ्ग्रो र त्यसमा रोटीसँगै माछा राखेको देखे । येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले भर्खरै पक्रेका केही माछाहरू ल्याओ ।” तब सिमोन पत्रुस गए, र एक सय त्रिपन्‍नवटा ठुला-ठुला माछाले भरिएको त्यो जाल जमिनमा ल्याए । त्यहाँ यति धैरै माछाहरू थिए, तर पनि जाल च्यातिएन । येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, र खाजा खाओ ।” कुनै पनि चेलाले “तपाईं को हुनुहुन्छ ?” भनी उहाँलाई सोध्‍ने साहस गरेन । येशू आउनुभयो र रोटी लिनुभयो, र तिनीहरूलाई दिनुभयो र माछा पनि दिनुभयो । मृत्युबाट जीवित हुनुभएपछि येशूले आफूलाई चेलाहरूकहाँ प्रकट गर्नुभएको यो तेस्रो पटक थियो । तिनीहरूले खाजा खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमीले मलाई यिनीहरूभन्दा पनि बढी प्रेम गर्छौ ?” पत्रुसले उहाँलाई भने, “हो प्रभु, तपाईं जान्‍नुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा थुमाहरूलाई खुवाऊ ।” उहाँले तिनलाई फेरि दोस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ ?” पत्रुसले उहाँलाई जवाफ दिए, “हो प्रभु, तपाईं जानुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूको हेरचाह गर ।” उहाँले तिनलाई तेस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ ?” पत्रुस निराश भए, किनकि येशूले तिनलाई “के तिमी मलाई प्रेम गर्छौ ?” भनी तेस्रो पटक सोध्‍नुभएको थियो । तिनले उहाँलाई भने, “प्रभु, तपाईं सबै थोक जानुहुन्छ, कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूलाई खुवाऊ ।” साँचो साँचो म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ, तिमी आफैँ कपडा लगाउँथ्यौ र जहाँ जान चाहन्थ्यौ त्यतै जान्थ्यौ, तर जब तिमी वृद्ध हुन्छौ, तिमीले आफ्ना हात पसार्नेछौ र कसैले तिमीलाई कपडा लगाइदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ तिमीलाई बोकेर लगिन्छ । पत्रुसले कस्तो किसिमको मृत्युले परमेश्‍वरलाई महिमा दिन्छ भनी सङ्केत गर्न येशूले यसो भन्‍नुभयो । उहाँले यो बताउनुभएपछि पत्रुसलाई भन्‍नुभयो, “मलाई पछ्याऊ ।” पत्रुस फर्केर हेर्दा तिनले येशूले प्रेम गर्नुभएका चेला अर्थात् भोजमा येशूको छातीमा अडेस लगाएर बस्‍ने र उहाँलाई, “प्रभु, तपाईंलाई विश्‍वासघात गर्ने को हो ?” भनी सोध्‍ने चेला उहाँहरूको पछिपछि आइरहेको देखे । पत्रुसले तिनलाई देखे, र येशूलाई भने, “प्रभु, यी मानिसले चाहिँ के गर्नेछन् ?” येशूले तिनलाई भन्‍नुभयो, “यदि म नआउञ्‍जेसम्म तिनी रहेको चाहेँ भने पनि तिमीलाई के भयो त ? मलाई पछ्याऊ ।” त्यसैले, ती चेला मर्नेछैनन् भन्‍ने यो भनाइ भाइहरूमाझ फैलियो । तरै पनि येशूले पत्रुसलाई अर्का चेला मर्दैनन् भन्‍नुभएन, तर “यदि म नआउञ्‍जेसम्म तिनी रहेको चाहेँ भने पनि तिमीलाई के भयो त ?” भन्‍नुभएको थियो । यी कुराहरूको गवाही दिने, र यी कुराहरू लेख्‍ने यिनै चेला हुन्, र हामी जान्‍दछौँ, कि तिनको गवाही सत्य छ । येशूले गर्नुभएका अरू धेरै कुराहरू पनि छन् । यदि ती सबै लेखिएका भए, मलाई लाग्छ, ती लेखिएका पुस्तकहरू संसारमा पनि अटाउने थिएनन् ।

पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.