पवित्र बाइबल
अय्यूब 21
तब अय्यूबले जवाफ दिए र भने, “मेरा वचनलाई ध्यान दिएर सुन्नुहोस्, र यो तपाईंहरूले मलाई दिने सान्त्वना होस् । मलाई सुन्नुहोस्, र म पनि बोल्नेछु । मैले बोलेर सकेपछि निरन्तर गिल्ला गर्नुहोस् । मेरो बारेमा, के मैले मानिसलाई गुनासो गरेको हो र ? म किन अधैर्य नहुनू ? मलाई हेर्नुहोस् र छक्क पर्नुहोस्, र आफ्नो हातले आफ्नो मुख छुनुहोस् । मैले आफ्नो दुःखको बारेमा सोच्दा म त्रसित हुन्छु, र थरथरीले मेरो शरीरलाई नै समाउँछ । दुष्ट मानिसहरू किन निरन्तर बाँच्छन्, बुढा हुन्छन् र सामर्थ्यमा शक्तिशाली हुन्छन् ? तिनीहरूका सन्तानहरू तिनीहरूकै आँखाको सामु स्थापित हुन्छन्, र तिनीहरूका छोराछोरी तिनीहरूकै आँखाको सामु स्थापित हुन्छन् । तिनीहरूका घरहरू डरबाट सुरक्षित हुन्छन् । न त परमेश्वरको छडी नै तिनीहरूमाथि परेको हुन्छ । तिनीहरूका बहर मिसिन्छन् । त्यसो गर्न चुक्दैनन् । तिनीहरूको गाई बियाउँछ, र तुहिंदैन । तिनीहरूले आफ्ना केटाकेटीलाई बगालझैं बाहिर पठाउँछन्, र तिनीहरूका छोराछोरी नाच्छन् । तिनीहरूले खैँजडी र वीणाको धुनमा गाउँछन्, र बाँसुरीको सङ्गीतमा रमाउँछन् । तिनीहरूले आफ्नो समय समृद्धिमा बिताउँछन्, र तिनीहरू शान्त बएर तल चिहानमा जान्छन् । तिनीहरूले परमेश्वरलाई भन्छन्, 'हामीबाट जानुहोस्, किनकि तपाईंका मार्गहरूका कुनै ज्ञान हामी चाहँदैनौं । सर्वशक्तिमान् को हो र हामीले उहाँको आराधना गर्नू ? हामीले उहाँमा प्रार्थना चढायौं भने हामीले के लाभ पाउँछौं र ?' हेर्नुहोस्, तिनीहरूको समृद्धि तिनीहरूका आफ्नै हातमा छैन र ? दुष्ट मानिसहरूको सल्लाहमा मेरो कुनै सरोकार छैन । कतिपल्ट दुष्ट मानिसहरूको बत्ती निभाइन्छ, अथवा तिनीहरूका विपत्ति तिनीहरूमाथि नै आउँछ ? परमेश्वरले आफ्नो क्रोधमा तिनीहरूलाई कतिपल्ट दुःख पठाउनुहुन्छ ? कतिपल्ट बतासको सामु तिनीहरू सुकेका झारपात, अथवा आँधीले उडाएर लैजाने भुसझैं भएका छन् ? तपाईंहरू भन्नुहुन्छ, 'मानिसको दोषको दण्ड परमेश्वरले उसका छोराछोरीलाई दिनुहुन्छ ।' त्यो उसैले भोग्नुपरोस्, जसले गर्दा उसले आफ्नो दोष थाहा पाओस् । उसका आँखाले उसको आफ्नो विनाश देखून्, र सर्वशक्तिमान्को क्रोध उसले पिउनुपरोस् । किनकि उसको आफ्नै आयु सकिएपछि, उसले आफ्नो परिवारको के वास्ता गर्छ र ? परमेश्वरले त उच्चमा हुनेहरूको पनि न्याय गर्नुहुन्छ, तब के कसैले उहाँलाई ज्ञान सिकाउन सक्छ र ? एक जना मानिस पूरा बलियो अवस्थामा, बिलकुल शान्ति र चैनमा मर्छ । उसको शरीर ह्रष्टपुष्ट हुन्छ, र उसको हड्डीहरूको मासी ताजा हुन्छ । अर्को मानिस मनको तिक्ततामा नै मर्छ, जसले कुनै असल कुराको अनुभव कदापि गरेको छैन । तिनीहरू समान रूपमा धूलोमा पल्टिन्छन् । तिनीहरू दुवैलाई किराहरूले ढाक्छन् । हेर्नुहोस्, तपाईंहरूका विचार, अनि मेरो कुभलो गर्ने तपाईंहरूका मार्गहरू म जान्दछु । किनकि तपाईंहरू भन्नुहुन्छ, 'अहिले त्यो राजकुमारको घर कहाँ छ ? दुष्ट मानिस कुनै समयमा बस्ने गरेको पाल कहाँ छ ?' यात्रा गर्ने मानिसहरूलाई तपाईंहरूले कहिल्यै सोध्नुभएको छैन ? तिनीहरूले भन्ने प्रमाण तपाईंहरूलाई थाहा छैन, कि दुष्ट मानिस विपत्तिको दिनमा जोगिन्छ, र क्रोधको दिनमा उसलाई कतै सारेर जोगाइन्छ ? दुष्ट मानिसको सामु उसको मार्गलाई कसले दोषी ठहराउँछ र ? उसको गरेको कामको बदला कसले लिन सक्छ र ? तापनि उसलाई चिहानमा लगिनेछ । मानिसहरूले उसको चिहानको रेखदेख गर्नेछन् । मैदानको माटोका डल्ला उसलाई गुलियो हुनेछ । अनगिन्ती मानिस उसको अगि-अगि हुनाले, सबै मानिस उसको पछिपछि जानेछन् । तपाईंहरूका व्यर्थका कुराले मलाई कसरी सान्त्वना दिन्छ, किनकि तपाईंहरूको जवाफमा झुटबाहेक केही छैन ?”
पवित्र बाइबल. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.